कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको कार्टुन प्रकरण : कार्यकर्ता रिहाइको माग गर्दै चक्काजाम

नगेन्द्र अधिकारी

काभ्रे — आफ्ना विद्यार्थी नेताको रिहाईको माग गर्दै आन्दोलित नेपाल विद्यार्थी संघले राजमार्गमा अवरोध गरेका छन् । केन्द्रीय समितिले घोषणा गरेको चक्काजामका कारण वीपी र अरनिको राजमार्ग भएर जाने यातायातका साधन एकतर्फी रुपमा बनेपामा नै करिब आधा घण्टा रोकिएका थिए ।

प्रधानमन्त्रीको कार्टुन प्रकरण : कार्यकर्ता रिहाइको माग गर्दै चक्काजाम

तीनदोबाटोबाट शुरु भएको नेविसंघ काभ्रेको र्‍याली चारदोबाटो चोकमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य भगवान अधिकारी, जिल्ला अध्यक्ष नृपेश वादे लगायतले संवोधन गरेका थिए ।


प्रधानमन्त्रीको तस्बिर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ तपेश्वर मावि इकाइ अध्यक्ष कृष्ण ढकालको रिहाईको माग गर्दै नेविसंघ केन्द्र र जिल्ला समिति काभ्रेले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन् । कार्तिक २४ र २५ गते काभ्रेमा शैक्षिक हड्ताल गरेको नेविसंघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन समेत गरेको थियो । पक्राउको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले आइतबार जिल्ला प्रशासन कार्यलय काभ्रे घेराउ गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई ज्ञापनपत्र बुझाएको थियो ।


सोही आरोपमा पत्रकार ओमप्रसाद (कविराज) ढकाल पनि पक्राउ परेका छन् । दुबै मण्डन देउपुर ५, गैरीबिसौना निवासी हुन् । १६ वर्षका कृष्ण स्थानीय तपेश्वर माविमा नेबिसंघका इकाई अध्यक्ष हुन् । कुकुर तिहारको दिन प्रधानमन्त्री केपि ओलीको फोटो कुकुरको शरीरमा जोडिएको फोटो सामाजिक सञ्जालमा भेटेपछि उनले आफ्नो वालमा शेयर गरेका थिए । आफुले गल्ती गरेको महशुस गरेर तत्काल हटाएका उनको पोस्ट पत्रकार ढकालले ‘स्कृनसट’ गरेर प्रहरी र पत्रकारको आन्तरिक ‘ग्रुप च्याट’मा हालेका थिए ।


‘प्रधानमन्त्रीको टाउको कुकुरको टाउकोमा जोडेर फेसबुकमा हाल्नेलाई केही गर्न सक्छ काभ्रे प्रहरीले?’ भन्दै पत्रकार ढकालले ग्रुप च्याटमा हालेको स्क्रिनसटलाई नै ‘साइवर क्राइम’को परिभाषा गर्दै प्रहरीले भाइटिकाको दिन घरबाटै पक्राउ गरेको हो । पलपलको डटकम नामक अनलाईनका प्रधान सम्पादक ढकाल जिल्लाबाट प्रकाशित तिर साप्ताहिकका कार्यकारी सम्पादक हुन् । पत्रकार ढकालले दिएको ‘सूचना’ पछि प्रहरीले नेविसंघका ढकाललाई पक्राउ गरेको थियो । प्रहरी र पत्रकारका वीचमा सूचना आदानप्रदान गर्न प्रहरी आफैले बनाएको ग्रुपमा जानकारी दिएको आधारमा पक्राउ गरेको भन्दै पत्रकार सम्वद्ध संघसंगठनले विरोध जनाएका छन् ।


‘आफैले बनाएको आन्तरिक ग्रुप च्याटमा सूचना दिएको आधारमा पत्रकार पक्राउ पर्नु निन्दनीय छ,’ पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले भने, ‘तत्काल रिहाईको माग गर्दछु ।’ फोटो शेयर गरेको आधारमा पक्राउ परेका दुबैलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।


प्रकाशित : कार्तिक २८, २०७५ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?