कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माङसेबुङ ५ को सरकारी कामकाजमा लिम्बू भाषा

विप्लव भट्टराई

इलाम — माङसेबुङ गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गरिने भएको छ । मुलुकमै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो ।

माङसेबुङ ५ को सरकारी कामकाजमा लिम्बू भाषा

संविधानले स्थानीय भाषालाई समेत कामकाजी भाषाका रूपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको छ । लिम्बू बाहुल्य माङसेबुङ ५ मा वडा समिति आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि र संघसंस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । करिब २ हजार मतदाता रहेको यो वडामा ७५ प्रतिशत लिम्बू समुदायको बसोबास छ ।


स्थानीय भाषाको सम्मान गर्दै लिम्बू भाषालाई समेत सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न स्थानीय राजी भएकाले यस्तो निर्णय गरिएको गाउँपालिका प्रमुख डिकेन्द्र इदिङगोले बताए ।


तत्काल कार्यान्वयन थाल्न भने दोभासेको अभाव छ । वडामा दोभासे कर्मचारी छैनन् । तत्काललाई स्थानीय ५ स्वयंसेवकले भाषा कार्यान्वयनमा सघाउने छन् । त्यसका लागि स्वयंसेवक समिति समेत बनाइएको छ । समितिले दोभासे कर्मचारी नियुक्त नभएसम्म स्वयंसेवकका रूपमा काम गर्नेछ ।


किरात सिरजंगा लिपि’ को आधार क्षेत्र भएकाले माङसेबुङबाटै सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्ने तयारी गरिएको हो । हालसम्म वडा र गाउँपालिकामा कोही पनि बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । तर स्थानीय भाषा कामकाजीका रूपमा प्रयोग हुन थालेपछि गाउँपालिकाले दोभाषे कर्मचारी नियुक्त गर्नुपर्ने वडाध्यक्ष नरेन्द्र राईले बताए ।


‘अहिले कार्यान्वयनको तयारीमा छौं,’ उनले भने, ‘मंसिर पहिलो सातादेखि यसलाई प्रयोगमा ल्याइनेछ ।’ ६ वडा रहेको माङसेबुङ गाउँपालिकाका अन्य वडाले भने स्थानीय भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेका छैनन् ।


गाउँपालिकाभरका सरकारी कार्यालय तथा विद्यालयको साइन बोर्ड देवनागरी र किरात सिरिजंगा लिपिमा उल्लेख गर्ने निर्णय भने भएको छ । ‘स्थानीय भाषालाई कामकाजका रूपमा गाउँपालिकाभर प्रयोग गर्ने योजना रहे पनि तत्काल जनशक्ति अभावमा सम्भव छैन,’ गाउँपालिका प्रमुख डिकेन्द्रले भने, ‘जनशक्ति व्यवस्थान भएपछि त्यस विषयमा सोच बनाउने छौं ।’


किरात याक्थुङ चुम्लुङले १ नम्बर प्रदेशसहित प्रदेशका सबै सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषा लागू गर्न माग गर्दै आएको छ । ‘यो काम प्रदेश सरकारबाटै सुरु गरिनुपर्ने हो,’ किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष याम लिम्बूले भने, ‘प्रदेश सरकारले कन्जुस्याइँ गरेको अवस्थामा कम्तीमा गाउँपालिकाले संविधानले दिएको अधिकार प्रयोग गरेर कार्यान्वयनमा ल्याउनु स्वागतयोग्य छ ।’

प्रकाशित : कार्तिक २८, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?