कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

द्वन्द्वकालीन मुद्दामा जन्मकैद

परिवार न्याय खोज्दै सदरमुकाममा 
तुलाराम पाण्डे

कालिकोट — शुभकालिका ५, सुकाटियाका सिहंबहादुर शाहीलाई नेपाली सेनाको सैनिक अदालतले सर्वस्वसहित जन्मकैद गरेपछि परिवारको बिचल्ली भएको छ ।

द्वन्द्वकालीन मुद्दामा जन्मकैद

०५९ मा तत्कालीन शाही नेपाली सेनाको तारादल गणमा सिपाही रहेका शाही ०६१ पुस १८ गते धादिङको चरौदीमा हाइवे क्लियरिङमा गएका बेला हतियारसहित भागेर माओवादी बनेको भन्दै सैनिक अदालतले सर्वस्वसहित जन्मकैद गरेको आफन्तको गुनासो छ ।


द्वन्द्वकालीन मुद्दामा पहुँच नभएका सामान्य नागरिकलाई अन्यायपूर्वक जेल हालिएको सिंहका दाजु नन्दबहादुर शाही घमनले बताए । ‘हामीलाई भाइ सेना भयो भनेर गाउँमा पनि माओवादीले बस्न दिएन,’ कांग्रेस जिल्ला सदस्य शाहीले गुनासो गरे, ‘भाइ पनि माओवादी कब्जामा परेर माओवादीमा बाध्यताले लागेको कुरामा मुद्दा लगाएर अन्याय गरियो ।’


उनले माओवादी नेताहरू राज्य चलाउने तर जबर्जस्ती माओवादी भयो भनेर अबिर लगाएर नियन्त्रणमा लिएको व्यक्तिलाई जन्मकैद फैसला हुनु अन्याय भएको जनाए । गस्ती गएका बेला माओवादीले हतियारसहित नियन्त्रणमा लिएपछि आत्मसमर्पण गरेर सिंहबहादुर माओवादीमा लाग्न बाध्य भएको उनको भनाइ छ । बाध्यताले लागेकोलाई शत्रु दफा लगाएर झुटो मुद्दामा फसाइएको उनी बताउँछन् ।


सिंहबहादुरले सेनामा जागिर खाएपछि माओवादीले उनको घर लुटेर परिवार सदरमुकाम मान्म विस्थापित भएका थिए । उनको हतियार अनमिनमार्फत नेपाल सरकारले बुझिसकेको छ । शान्ति सम्झौतापछि द्वन्द्वकालीन मुद्दा किनारा लागे पनि आफ्नो भनसुन गर्ने कोही नहुँदा अन्यायमा परेको दाइ नन्दबहादुरले बताए । उनका अनुसार ०७४ फागुन ७ गते जिल्ला प्रहरीको टोलीले घरबाटै सिंहबहादुरलाई पक्राउ गरेको थियो ।


नेपाली सेनाले जिल्ला प्रहरीबाटै हत्कडी लगाएर सेनाको ब्यारेक हुँदै हेलिकप्टरबाट काठमाडौं लगेर मुद्दा चलाएको हो । सिंहबहादुरले शान्ति स्थापनाको करिब डेढ दशकपछि सेनाले आफूलाई पक्राउ गरेर कोर्ट अफ इन्क्वाइरी गठन गरी सैनिक अदालतबाट अन्यायपूर्ण रूपमा फैसला गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोगमा गरेको अपिलमा उल्लेख छ ।


उनको घरमा पत्नीसहित ४ छोरा र २ छोरी छन् । ‘खाने मुख धेरै छन्,’ २८ वर्षीया पत्नी सुस्मिताले भनिन्, ‘हाम्रो बिचल्ली भयो ।’ उनको जेठो छोरा मनराज १२ वर्षका भए । न्याय माग्न सुकाटियाबाट मान्म आएकी सुस्मिताले भनिन्, नयाँ व्यवस्था आए पनि पुरानै सैनिक कानुनले दु:ख दिएको छ । उनले ३ छोराछोरी घरमै छाडेर एक छोरी र दुई छोरालाई सदरमुकाम लिएर आएकी छन् । उनका अनुसार कमाइ गर्ने जेल परेपछि घरमा खान, बस्नै समस्या छ । जेठो छोरा मनराज ३ कक्षा पढ्दापढ्दै विद्यालय जान छाडेका छन् ।


द्वन्द्वकालमा हतियारसहित भागेका भगौडा भएकाले सैनिक अदालतले शत्रु दफा लगाएर जन्मकैदको फैसला गरेको नाम नलेख्ने सर्तमा नेपाली सेनाको लिगत फाँटका एक अधिकारीले जनाए । उनले कब्जामा परेको भए छुटेपछि सैनिक हेडक्वाटर सम्पर्कमा गएको भए मुद्दा नचल्ने बताए । तर उनी नगएकाले खोजी गरेर सजाय भएको उनको दाबी छ । कालीकोटमा सशस्त्र द्वन्द्वका क्रममा दुवै पक्षबाट ५ सय ५९ जनाको हत्या भएको थियो ।

प्रकाशित : कार्तिक २९, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?