कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

भेरी–बबई ‘चैतमा ब्रेक–थ्रु’

कलेन्द्र सेजुवाल

सुर्खेत — भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ (टनेल) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कात्तिक मसान्तसम्म ९ हजार १ सय मिटर खनिसकिएको र आगामी चैतमा ‘ब्रेक–थु्र’ (निर्माण सम्पन्न) हुने आयोजनाको भनाइ छ । १२ हजार मिटर लामो सुरुङको अब एक चौथाइ खण्डमात्र बाँकी छ ।

भेरी–बबई ‘चैतमा ब्रेक–थ्रु’

आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर कृष्ण उपाध्यायले चैतमा सुरुङ निस्किएपछि ‘फिनिसिङ’ गर्न थप केही समय लाग्ने बताए । ‘हामीले अनुमान गरेको फल्ट (चुनौतीपूर्ण) क्षेत्र पनि पार भइसकेको छ,’ उनले भने, ‘अब निर्धारित समयमै सुरुङ निस्किन्छ ।’ ६ किलोमिटर आसपास क्षेत्रलाई फल्ट अनुमान गरिए पनि खासै गाह्रो नभएको उनले बताए ।

भेरी–बबई डाइभर्सनमा मेसिनद्वारा सुरुङ खन्ने प्रविधि टीबीएम (टनेल बोरिङ मेसिन) बाट काम भइरहेको छ । २०७३ कात्तिकमा पावरहाउस निर्माणस्थल हात्तीखालबाट प्रवेश गरेको मेसिन निर्धारित समयभन्दा करिब एक वर्षअघि मैनतडाको चिप्लेमा निस्किनेछ । आयोजनाले बिहीबारदेखि चिप्लेमा मेसिनका लागि आवश्यक पर्ने ‘प्लेटफर्म’ निर्माण थालेको छ ।

सूचना अधिकारी उपाध्यायले अत्यन्तै हेभी र टर्निङ गर्नका लागि ठूलो ठाउँ चाहिने भएकाले अहिलेबाटै प्लेटफर्म निर्माणको काम थालिएको बताए । टीबीएम निस्किएपछि छिन्चु–जाजरकोट सडकको चिप्ले खण्डमा सडक केही माथि सारिनेछ । उपाध्यायका अनुसार आयोजनाका लागि पहुँचमार्ग आवश्यक पर्ने भएकाले राजमार्गको केही भाग माथि सार्न लागिएको हो । आवतजावतका लागि ब्यारेजमाथि पक्की पुल निर्माण गरिने पनि उनले बताए ।

आयोजनाले अन्य संरचना निर्माणको प्रक्रिया पनि सुरु गरेको छ । सुरुङ निस्किएपछि सिभिल इन्जिनियरिङअन्तर्गत चिप्लेमा ब्यारेज (ड्याम) र हात्तीखालमा पावरहाउसको काम सुरु गरिनेछ । त्यस्तै, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम पनि सँगसँगै थालिनेछ ।

यी तीनवटै प्याकेजका लागि डिजाइन र लागत इस्टिमेट तयार गरी विभागमा पेस गरिएको आयोजना प्रमुख सञ्जीव बरालले बताए । ‘विभागले स्वीकृति दिनेबित्तिकै टेन्डर प्रक्रिया सुरु हुनेछ,’ उनले भने, ‘हामी अहिले टेन्डरको अन्तिम चरणमा छौं ।’

टनेल निर्माणमा करिब ७ सय नेपाली र ८० चिनियाँ जनशक्ति परिचालित छन् । सुरुङमा चौबीसै घण्टा अक्सिजन र विद्युत् पास गरी काम भइरहेको छ । आयोजनाका अनुसार रात्रिकालीन र दिवाकालीन गरी दुई सिफ्टमा काम हुन्छ ।

दिवाकालीन सिफ्ट बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म (चार घण्टा ओभरटाइम) र रात्रिकालीन सिफ्ट साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म (चार घण्टा ओभरटाइम) चल्छ ।

पानी झर्न ५ वर्ष भेरीको पानी सुरुङबाट बबईमा झारी एकैपटक विद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य बोकेको यो आयोजनामा भेरीको पानी बबईमा कहिले झर्छ त ? चैतमा सुरुङ निस्किए पनि पानी झर्न भने करिब पाँच वर्ष लाग्नेछ । आयोजनाका अनुसार ब्यारेज, पावरहाउस, हाइड्रो र इलेक्ट्रो मेकानिकलको काम सम्पन्न भएपछि मात्र पानी झारिनेछ ।

सूचना अधिकारी उपाध्यायले टेन्डरका लागि विभागमा पेस भएको डकुमेन्ट स्वीकृत हुनेबित्तिकै सम्भवत: यही साताबाट काम सुरु हुने बताए ।

प्रकाशित : मंसिर २, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?