१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भ्याक्सिन अभाव

बीसीजी र जापानिज इन्सेफ्लाइटिसका खोप जिल्लामै छैन

सुर्खेत — सरकारले पूर्ण खोपयुक्त घोषणा गरेको जिल्लामै बालबालिका खोपबाट वञ्चित भएका छन् ।

भ्याक्सिन अभाव

बीसीजी र जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभाव हुँदा एक महिनादेखि बालबालिका खोपबाट वञ्चित भएका हुन् । सरकारले गत वैशाखमा सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेको थियो ।


वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा ३ सातादेखि शिशुले बीसीजी खोप लगाउन पाएका छैनन् । अस्पतालमा रहेको पोषण पुन:स्थापना केन्द्रकी प्रमुख प्रभा सिंहले कात्तिक १० देखि जन्मिनेबित्तिकै लगाइने यो खोप नभएको बताइन् । उनका अनुसार अस्पतालमा दैनिक १५ देखि २० शिशु जन्मिने गरेका छन् । ‘ती शिशुलाई खोप लगाउन सकिरहेका छैनौं,’ उनले भनिन्, ‘निजी स्वास्थ्य संस्थामा पनि उपलब्ध नहुँदा समस्या भएको छ ।’


सुर्खेतमा ४७ स्वास्थ्यचौकी, ३ प्राथमिक स्वास्थ्य केन्द्र र २ अस्पताल छन् । जिल्ला स्वास्थ्य कार्यालयले ती सबैमा एक महिनादेखि बीसीजी र जापनिज इन्सेफलाइटिसविरुद्धको खोप पठाउन सकेको छैन ।


कार्यालयका खोप अधिकृत जितलाल ढकालले सरकारले ११ प्रकारका खोप नि:शुल्क घोषणा गरे पनि महत्त्वपूर्ण मानिने यी २ खोपको व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको बताए । सरकारले भ्याक्सिन राख्न आवश्यक मानिने उपकरण (फ्रिज) को व्यवस्था नगर्दा खोप अभाव हुने गरेको छ ।


यसका साथै सुर्खेतका ९ स्थानीय तहका सबस्टोर्स र सप्लाइ स्टोर्स पनि सञ्चालनमा आउन सकेका छैनन् । यसले गर्दा जिल्लाभर खोप कार्यक्रम प्रभावित हुँदै आएको छ । जिल्लामा बर्सेनि ८ हजार ५ सय बालबालिकालाई खोप लगाउने गरिन्छ ।


खोप अभावले विशेष गरी नवजात शिशु प्रभावित भएका छन् । स्वास्थ्यकर्मीका अनुसार जन्मेको १ वर्षभित्र बीसीजी भ्याक्सिन लगाउन मिले पनि जन्मिनेबित्तिकै लगाउँदा प्रभावकारी मानिन्छ । ‘जति छिटो लगायो, शिशुको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ,’ पोषण पुन:स्थापना केन्द्र प्रमुख सिंहले भनिन्, ‘तर खोप नै नभएपछि के गर्नु ?’


जिल्लामा अहिले कटकुवा स्वास्थ्यचौकीमा मात्र बीसीजी खोप मौज्दात छ । प्रदेश अस्पतालमा जन्मिने कतिपय शिशुलाई त्यहीँ लगेर खोप लगाउँछन् तर त्यहाँ भ्याक्सिन भए पनि सिरिन्ज अभाव छ । ‘हामीसँग पुरानो भ्याक्सिन त छ, तर बीसीजीका लागि चाहिने सिरिन्ज अभाव हुन थालेको छ,’ स्वास्थ्यचौकीका सिअहेव प्रेम भट्टराईले भने, ‘यसले गर्दा केही दिनभित्रै यहाँबाट पनि खोप बन्द हुन्छ ।’

प्रकाशित : मंसिर ३, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?