कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारपछि बालिका हत्या : सात वर्षदेखि न्याय पर्खिंदै परिवार

मनोज पौडेल

कपिलवस्तु — प्रत्येक वर्ष असोज लाग्यो कि आँशु बग्न थाल्छन् । वाणगंगा नगरपालिका ६, बैदौलीकी पहिया थारूको मनमा छोरीको सम्झना गाढा हुन्छ । एकोहोरो बर्बराउँछिन् । भक्कानो फुटेको सुन्ने र देख्ने कोही हुन्न । जाडो बढेपछि छोरीको सम्झना मधुरो हुँदै जान्छ । बल्लतल्ल टाढिन्छिन् । घाउ पुरिंदैन । अर्को साल असोज आउँछ, परिवारमा पीडा बल्झाएर जान्छ ।

बलात्कारपछि बालिका हत्या : सात वर्षदेखि न्याय पर्खिंदै परिवार

पहियाकी १४ वर्षीया छोरी शिवरानी गाउँ नजिकै आयोजित साँस्कृतिक कार्यक्रम हेर्न गएकी थिइन् । तर, रातिसम्म उनी फर्किनन् । परिवारले बिहानसम्म बाटो हेरे । दोस्रो दिन छोरीको शव फेला पर्‍यो । परिवारमाथि बज्रपात खस्यो । उनको ०६८ असोज १३ गते राति हत्या भएको खुल्यो । अर्को दिन बिहान वाणगंगा सिंचाइ आयोजनाको नहरमा शव फेला परेको थियो । ‘राति नआएपछि साथीकोमा बसी होला भन्ने लाग्यो,’ बाबु फुल्चन्दले भने, ‘बिहान शव देखेपछि छाँगाबाट खसेँ, हातखुट्टा लुला भए, सबै गुम्यो ।’ शिवरानी स्थानीय महेन्द्र उमावि कोपवामा ७ कक्षामा पढ्थिन् ।

प्रहरीले अनुसन्धान क्रममा बलात्कारपछि हत्या भएको ठहर्‍यायो । इलाका प्रहरी गोरुसिंगेका तत्कालीन निरीक्षक शिशु शर्माले बलात्कारपछि हत्या भएको परिवारलाई जानकारी गराएका थिए । घटनालगत्तै शर्माको सरुवा भएपछि थप अनुसन्धान अलपत्र पर्‍यो । त्यसपछि घटना अनुसन्धानका लागि प्रहरीले विभिन्न समिति बनाए पनि प्रभावकारी बन्न सकेको छैन । ‘प्रत्यक्ष/अप्रत्यक्ष दबाबका कारण घटनाको राम्रो अनुसन्धान हुन सकेन,’ एक स्थानीयले भने, ‘प्रहरीले निष्पक्ष भएर काम गरे तत्काल दोषी पक्राउ पर्छन् ।’ बाबु फुल्चन्दका अनुसार नहरमा शव घोप्टो पारेर फालिएको थियो । घाँटीमा डोरीको स्पष्ट डाम थियो । हत्याको प्रमाण हुँदाहुँदै पनि संलग्नलाई पक्राउ नगरेको परिवारको दुखेसो छ । गाउँमा अहिले पनि त्रासको माहोल छ । घटनाबारे खुलेआम कुरा गर्न पीडित डराउँछन् । घरभित्र बसेर मात्र कुरा गर्छन् ।


कारबाही नै भएन : परिवार

शिवरानीको परिवार विपन्न छ । उनीहरू कसैविरुद्ध केही बोल्न सक्दैनन् । प्रशासनमा पहुँच छैन । २/३ पटक घटनाका विषयमा छलफल हुँदा गाउँका कोही संलग्न छैनन् भनेर टारियो । उनीहरूको पक्षमा कोही चुइक्कसम्म बोल्दैनन् । ‘हामी एक्लो हुन्छौं,’ शिवरानीका ८० वर्षीय हजुरबुबा पोगेले भने, ‘त्यही भएर सबै चुप छन् ।’ यति ठूलो पीडामा पनि कसैले पक्षमा नबोलेको उनले बताए । ‘यहाँबाट सर्न सकिंदैन,’ उनले भने, ‘त्यसैले चुप लागेर पीडा सहँदै बसेका छौं ।’ यसबारे पटक(पटक कुरा उठ्छ । फेरि सेलाउँछ । ‘हत्यारालाई कारबाही भएको हेर्न मन छ,’ पोगेले भने, ‘त्यसपछि मात्र मर्ने इच्छा छ ।’ उनका अनुसार घटनापछि गाउँका ३/४ जनालाई प्रहरीले पक्राउ गरेर त्यसै दिन छाडेको थियो । त्यसपछि कसैलाई पक्राउ गरेको छैन । कारबाहीको माग गर्दै धेरै निकाय धाए तर जति हारगुहार गर्दा पनि कसैले नसुनेको उनले बताए ।


अब कारबाही : प्रहरी

उक्त घटनापछि कर्तव्य ज्यानको मुद्दा अदालतमा दर्ता गरिएको थियो । प्रतिवादी फेला नपरेको जनाउँदै थप प्रक्रिया अघि नबढाइएको प्रहरी प्रमुख उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बताए । ‘म पनि नयाँ आएको हुँ,’ उनले भने, ‘घटना मेरो नोटिसमा परेको छ ।’ इलाका प्रहरी गोरुसिंगेबाट मिसिल मगाएको उनले बताए । ‘गहन रूपले अध्ययन गरी अपराधीलाई कठघरामा पुर्‍याउँछु,’ उनले भने, ‘पीडितलाई न्याय दिन्छु ।’ पीडितले न्याय नपाउँदा न्याय मरेजस्तो भएको वाणगंगा ६ का वडाध्यक्ष शुकदेव थारूले बताए । जसरी पनि आरोपीलाई पक्राउ गरी मुद्दा अघि बढाउनुपर्ने उनले बताए । कारबाही र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी तदारुकताका साथ लाग्नुपर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईले बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?