कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवाले भने-‘म होइन सरकारविरुद्ध खनिनुहोस्’

मोरङ — कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अधिनायकवादी सरकार’ का गलत क्रियाकलापको विरोध गर्नुपर्नेमा आफ्नै पार्टीका साथीहरू आफूविरूद्ध लागेको टिप्पणी गरेका छन् ।

देउवाले भने-‘म होइन सरकारविरुद्ध खनिनुहोस्’

विराटनगरमा सोमबार पत्रकारसँगको कुराकानीमा उनले प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण अधिकार आफ्नो मातहत ल्याएर देश कब्जा गर्न खोजिरहेको भन्दै यसको विरोध गर्न आग्रह गरे ।


प्रधानमन्त्री ओलीले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर सबैलाई तर्साउन खोजेकाले यसका बिरुद्ध कांग्रेस लड्न तयार रहेको उनले बताए ।‘मविरुद्ध बोल्नुभन्दा सरकारविरुद्ध खनिनु होस्,’ उनले भने, ‘अहिलेको कम्युनिष्ट सरकार अधिनायकवादी बाटोमा लागेर सम्पूर्ण रुपमा देश कब्जा गर्न लागेका छन् ।’ आफ्नो लडाईं नेकपासँग भएको तर पार्टीका नेताहरु आफूविरुद्ध लागिरहेको गुनासो गरे ।


देउवाले आफ्ना पार्टीका नेताहरुले सरकारको विरोध गर्न नसकेर आफ्नो विरुद्धमा लागेको पनि बताए । पार्टी विधानअनुसार आफूले पार्टी सञ्चालन गरेको भन्दै सभापति देउवाले भने, ‘गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको पालामा अरूले चुइक्क पनि बोल्न सक्दैनथे तर अहिले मेरो पालामा बोल्न पाएका छन अनि बिरोध गरिरहेका छन् ।’


कोइराला परिवारका तीन नेताले पार्टीको गुमेको शाख फर्काउने प्रतिबद्धता गरेको भोलीपल्ट विराटनगर आइपुगेका देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले जोसुकै नेता तथा कार्यकर्ताले संगठन गर्न पाउने बताएका छन् ।


उनले सबैले आ–आफ्ना समूह बनाएर अलग अलग बहस चलाउन पाउने भएकैले कांग्रेस प्रजातान्त्रिक पार्टी भएको बताए । ‘पार्टीभित्रका कुरा धेरै भन्न चाहन्न तर अहिले सबैको ध्यान देशमा बढ्दै गरेको कुम्युनिष्ट पार्टीको अधिनायकवादको विरोध गर्न केन्द्रित हुनुपर्छ,’उनले भने,‘अधिनायकवादको खिलाप सबैलाई बोल्नु पर्छ ।’


पार्टी विधान अनुसार चलेकै कारण बिग्रेको उनको टिप्पणी थियो । पार्टी महाधिबेशन समयमा हुने उनले बताए । नेबिसंघले काम गरेर देखाउनु पर्ने भन्दै देउवाले म्याद थपेरै मात्र केही नहुने बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?