१२ वर्षीया बालिका आमा बन्दै, सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको चासो
हेटाैंडा — १२ वर्षमै आमा बन्न लागेकी बालिकाकाे उपचारका लागि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । गर्भवती बालिकाकाे सुत्केरी अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १२ वर्षीया ती बालिकालाई सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन बमोजिम मंगलबार काठमाडाैं लगिदैँछ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार गर्भवती बालिकालाई गाँउपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङले सोमबार वेलुका हेटौडा अस्पतालामा ल्याएका छन् ।
हेटौंडा अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि काठमाडाैं पठाउने तयारी भइरहेको प्रअिज तामाङले बताए । चार कक्षामा अध्ययन गर्दागर्दै उनले गाँउकै चेपाङ किशोरसँग गत वर्षे प्रेम विवाह गरेकी हुन् । उनी गर्भवती भएको सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको हो ।
प्रकाशित : मंसिर ४, २०७५ ०९:२१