कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अंगीकृत नागरिकता लिने बढ्दै

रासस

लमही — नयाँ संविधान जारी भएपछि दाङबाट अंगीकृत नागरिकता लिने बढ्दै गइरहेका छन् । 

अंगीकृत नागरिकता लिने बढ्दै

२०७२ असोजमा जारी भएको नयाँ संविधानमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अहिलेसम्म ९१ वटा वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको छ ।


जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार आर्थिक वर्ष २०७२/०७३ को असोजदेखि असारसम्म २६ जना, आव २०७३/०७४ मा २१ जना, २०७४/०७५ मा ३३ जना र चालू आवको अहिलेसम्म ११ ले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।


अंगीकृत नागरिकता लिने अधिकांश नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको जिल्ला प्रशासन कार्यालय दाङका सूचना अधिकारी समेत रहेका आचार्यले बताए । २०७३ असोज ३ मा संविधान जारी भएको संविधानले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । यसअघिको संविधानमा समेत यस्तो व्यवस्था थियो ।


अहिलेसम्म जिल्ला प्रशासन कार्यालय दाङले जम्मा ३ सय ९१ वटा वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा बलदेव बस्नेतले जानकारी दिए । उनका अनुसार विवाह दर्ता, पतिको नागरिकता, विदेशी नागरिकता परित्याग गरेको निस्सा वा प्रमाण, हुलाकको रजिष्ट्ररी गरेको रसिद र शपथपत्र सहितको आवेदन दिएको प्रमाणका आधारमा भारतीय महिलाले वैवाहिक अंगीकृत नागरिक प्राप्त गर्ने व्यवस्था रहेको छ । यी सबै प्रक्रिया पूरा गरेर आएको निवेदनलाई जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता दिने गर्दै आएको उनको भनाइ छ ।


नयाँ संविधानले अंगीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरेको छ ।


अंगीकृत लिन यस्तो छ व्यवस्था

नेपालको संविधान २०७२ को भाग २ अनुसार नेपाली नागरिकता वंशज, अंगीकृत र आवासीय गरी तीन प्रकारले पाउन सकिने व्यवस्था छ । अंगीकृत नागरिकता पनि दुई प्रकारले पाउन सकिने व्यवस्था छ, वैवाहिक अंगीकृत र जन्मको आधारमा ।


नेपालको कानूनअनुसार विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाका श्रीमानले अंगीकृत नागरिकता पाउने सवालमा ती विदेशी लगातार १५ वर्ष नेपालमा बसेको हुनुपर्ने र आफ्नो देशको नागरिकता त्यागेको हुनुपर्ने विद्यमान व्यवस्था छ तथापि नेपाली पुरुषको हकमा विदेशी महिलासँग विवाह गरेको भोलिपल्टै ती विदेशी महिलाले नागरिकता पाउने प्रावधान छ ।


त्यसैगरी नेपाली आमा र विदेशी बाबुको सन्तानले अंगीकृत नागरिकता पाउने तर विदेशी बाबुले नेपाली नागरिकता पाइसकेको खण्डमा भने सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधान नेपालको कानूनमा छ ।

प्रकाशित : मंसिर ५, २०७५ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?