पार्क लथालि‌ङ्गबारे छानबिन समिति गठन

७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
कान्तिपुर संवाददाता

काठमाडौँ — सहरी विकास मन्त्रालयले गोकर्णस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क’ निर्माण अवरुद्ध विषयमा छानबिन गर्न सहसचिव चत्रवर्ती कण्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।

ठेकेदार कम्पनीहरू डेढ वर्षदेखि सम्पर्कविहीन भएपछि निर्माण अवरुद्ध भएको विषयमा सत्यतथ्य पत्ता लगाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गरेको मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले जानकारी दिए। समितिमा वरिष्ठ डिभिजन इन्जिनियर एकराज अधिकारी र लेखा अधिकृत नानीबाबु सिपखान रहेका छन्।

‘पार्क लथालि‌ङ्ग छ, निर्माणमा किन ढिलाई भयो? भनेर तत्काल कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्,’ उनले भने, ‘समितिले प्रतिवेदन बुझाउने बित्तिकै कानुनी प्रक्रिया अघि बढाउँछौं।’ पार्कका अलपत्र छाडिएका भौतिक संरचनासमेत भत्कने अवस्थामा पुगेका छन्।

सरकारले पार्क निर्माणका लागि ४६ करोड विनियोजन गरिसकेको छ। त्यसमध्ये २५ प्रतिशत रकम ठेकेदारले भुक्तानी लिइसकेका छन्। ६ सय ५० रोपनी जग्गामा पार्कका विभिन्न संरचना सुरु गरिएको छ।

सरकारले २०६४ मा पार्क बनाउन चारवटा ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो। लामो समयदेखि काम हुन नसकेको जनगुनासोपछि सहरी विकासमन्त्री मोहमम्मद इस्तियाक राई गत मंगलबार पार्क निर्माणस्थल गोकर्ण पुगेका थिए। पार्कको अवस्था देखेर मन्त्री राईले ठेकेदारलाई कारबाही गर्न सचिव सिंहलाई निर्देशनसमेत दिएका थिए।

०६२/६३ को लोकतान्त्रिक आन्दोलनको सम्झनामा सरकारले पार्क बनाउन थालिएको हो। डाँफे / गौरी / पर्वत /सुनौला खिम्ती जेभी, सूर्य / आवि /जनपथ/ जेभी, चक्रेश्वरी/ सूर्य/जीवन जेभी निर्माण कम्पनीले उक्त पार्कमा भौतिक संरचना निर्माणको ठेक्का लिएका थिए।

प्रकाशित : मंसिर ६, २०७५ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्

लेक लागेर क्यानडियनको मृत्यु 

कान्तिपुर संवाददाता

डोल्पा(दुनै) — हिउँ चितुवा अवलोकनका लागि उपल्लो डोल्पाको शे गुम्बा पुगेका एक क्यानडियन नागरिकको लेक लागेर मुत्यु भएको छ ।  

हिउँ चितुवाबढी हुने डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गुम्बा घुम्न आएका ऱ्यान्डल फेरिज बेकरको समयमा उद्धार हुन नसक्दा बुधबार मृत्यु भएको हो ।

क्यानडियन नागरिक बेकर शेगुम्बामा ५ दिनदेखि बसेका थिए । लेक लागेर अस्वस्थ भए पछि उद्धारका लागि हेलिकप्टर मगाइएको थियो । समयमै हेलिकप्टरको अनुमति नपाउँदा उद्धारमा ढिलाई भएको हो ।

शे फोक्सुण्डो गाउँपालिकामा पर्ने शे गुम्बा ४ हजार ३ सय १० मिटर उचाइमा छ । अत्याधिक जाडो हुने र हरियाली कम भएका कारण अक्सिजनको कमीले उपल्लो डोल्पामा धेरैलाई लेक लाग्ने गरेको छ ।

प्रकाशित : मंसिर ६, २०७५ १७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्