काठमाडौं विश्वविद्यालयको २४ औं दीक्षान्त, १५ सय ५५ विद्यार्थी दीक्षित 

शिक्षाको गुणस्तर खस्किँदो : शिक्षामन्त्री
नगेन्द्र अधिकारी

काभ्रे — काठमाडौं विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहमा मेडिकलतर्फका १ हजार ५ सय ५५ विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार चौकोटमा आयोजित दीक्षान्त समारोहमा एमबीबीएसतर्फ ९ सय ६९, बीडीएस तर्फ १ सय ६६, बीएस्सी नर्सिङ्ग तर्फ १ सय ८२, बीएनएस तर्फ १८ र बीपीटी तर्फ २२ जना विद्यार्थीहरु छन् ।

एमडी/एमएस/एमडिएस/एमएससी/एमसिएचमा १ सय ९८ दीक्षित भएका हुन् ।

स्कुल अफ मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजूका अनुसार, काठमाडौं विश्वविद्यालयले २४ वर्षको अवधीमा १३ हजार ७ सय ९१ विद्यार्थी उत्पादन गरेको छ । सन् १९९१ मा स्थापना भइ देखि सन् १९९४ देखि चिकित्सातर्फका विधाको अध्यापन शुरु गरेको विश्वविद्यालयले सन् २०१७ सम्म १२ हजार २ सय ३६ विद्यार्थी दीक्षित गरिसकेको छ । सन् २०१७ सम्ममा एमबीबीएस तर्फ ९ हजार ८२, विडिएस तर्फ २ सय ७२, विएस्सी नर्सिङ्ग तर्फ १ हजार ४९, विएनएस तर्फ १ सय ६४, विपिटी तर्फ ४४ र एमडी/एमएस/एमडिएस/एमएससी/एमसिएचमा १ हजार ६ सय २५ दीक्षित भइसकेका छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली स्वास्थ्यको कारण उपस्थित हुन नसकेपछि सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले सभाको अध्यक्षता गरेका थिए । उनले स्नातक तह एमबीबीएस मा सबैभन्दा बढी अंक (८१ दशमलव ५७ प्रतिशत) प्राप्त गर्ने नेपाल मेडिकल कलेज काठमाडौंका मनाली भट्टलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे । अन्य दीक्षितलाई पनि प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका इन्टरनेशनल सेन्टर फर माउन्टेन डेभेलप्मेन्ट (इसिमोड) का महानिर्देशक डेभिड जेम्स मोल्डनले पछिल्लो दुई दशकमा नेपालीमा स्वास्थ्यको पहुँच सुधार भएपनि अझै धेरै स्वास्थ्यक सेवाको लागि लामो दुरी पैदल हिँड्नु पर्ने बाध्यता रहेको बताए । उनले दीक्षितहरुलाई जोश, जागर, हौसला र विश्वासका साथ दुर्गम भेग गएर सेवा दिन अनुरोध गरे । सहज नभएपनि सिमान्तकृत र पिछडिएका व्यक्तिहरुको जीवनमा फरक ल्याउने अवसर भएको बताए । वायू प्रदूषण तिव्र रहेको भन्दै उनले बार्षिक ९ हजार मानिसको मृत्यु भएको बताए ।

सहकुलपति रहेका शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री पोखरेलले चिकित्सा क्षेत्रमा रहेका विकृती, विसंगतिको अन्त्यय हुने गरी चिकित्सा शिक्षा विधेयक पास हुने विश्वास व्यक्त गरे । उनले सरोकारवाला सबैको सहभागितामा संघीय शिक्षा नीति बन्दै गरेको जानकारी दिए । शिक्षाको गुणस्तर खस्कँदो रहेका तर्क गर्दै उनले प्राविधिक शिक्षा लिने संख्या पनि कम रहेको भन्दै चिन्ता व्यक्त गरे । उच्च शिक्षा व्यवसायिक भन्दा व्यापारिक भएकोमा चिन्ता प्रकट गर्दै उनले संविधानको मर्म र सामाजिक न्यायमा आधारित बनाउन सरकार लागि परेको बताए ।



प्रकाशित : मंसिर ७, २०७५ १४:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सेन्चुरी पदमार्ग : छोटो तर रोमाञ्चक

घनश्याम खडका,

म्याग्दी — जिल्लाको मध्य क्षेत्रमा पर्ने राहुघाट नदी दायाँबायाँ पछ्याउँदै धौलागिरी सेन्चुरी पदमार्ग ४ हजार ५० मिटर उचाईमा अवस्थित धौलागिरी हिमालको दक्षिणी वेसक्याम्प पुग्छ ।

पदमार्गबाट अन्नपूर्ण रेन्ज, निलगिरी साउथ, वराह शिखर, धौलागिरी रेन्ज, चुरेन, गुर्जा हिमालसमेत दर्जनबढी हिमाललाई नजिकैबाट देख्न सकिन्छ ।

मगर तथा छन्त्याल जनजाति समुदायको आत्मीय बस्ती क्षेत्र रहेकोले कल्चरल टुरिजम् र छोटो तर एडभेन्चर यात्राका लागि धौलागिरी सेन्चुरी पदमार्ग सहज छ । ‘गरिबीका लागि पर्यटन अभियान’ अन्तर्गत म्याग्दी प्रवासी नेपाली संघ (मोना), नेपाल टुरिजम बोर्ड, टान र गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) को सक्रियतामा प्रर्वद्धन गरिएको धौलागिरी सेन्चुरी ‘कुमारी’ पदमार्ग हो ।

सदरमुकाम बेनीबाट झिं, पाखापानी, रायखोर, घाँसीखर्कमा होमस्टे गर्दै सात दिनमा धौलागिरी दक्षिण वेसक्याम्प पुग्न सकिने धौलागिरी सेन्चरी पदमार्ग मुलत: घरबास र क्याम्प ट्रेकको मिश्रण हो । झिं पहिलोवास, घाँसीखर्क दोस्रो घरवास गरेपछि छारीहुँदै फेदी क्याम्प, सुनथला तथा कालो पहाड हुँदै ओढारमा ‘क्याम्प’ बास गरी धौलागिरी दक्षिण बेशक्यापबाट सोही बाटो फर्केर फेदीक्याम्पबाट मंगलेखानी, चिमखोलाहुँदै दर्मिजामा होमस्टे गरी सातौं दिनमा बेनी फर्कन सकिन्छ ।

‘समुदाय, पर्यटन वोर्ड, ट्रेकिङ एशोसियसन समेत पर्यटन क्षेत्रका सरोकारवालासँगको सहकार्यमा धौलागिरी सेन्चुरी पदमार्गको पहिचान गरी औपचारिक सुरु गरेका छौं’ म्याग्दी उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश शाक्यले भने, ‘पदमार्गका केही बस्तीमा होमस्टे र बाँकी क्याम्प गर्न सकिन्छ । पदमार्गमा टि हाउसका लागि ब्यवसायीलाई प्रेरित गरिरहेका छौं ।’

प्रकाशित : मंसिर ७, २०७५ १४:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT