कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसिया प्यासिफिक समिट : १५ सय पाहुना आउँदै

‘यति ठूलो दायरामा नेपालमा हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हो
घनश्याम खड्का

काठमाडौँ — संघीय राजधानी काठमाडौंका होटल बिहीबारदेखि सातासम्मका लागि पर्यटक होइन, ‘पाहुना’ ले भरिनेछन् । बिहीबार काठमाडौं आउने म्यान्मारकी नेत्री आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन होटल सोल्टीमा बस्नेछन् ।

उनीहरूझैं सम्मेलनमा आउने ७ सरकार/राष्ट्र प्रमुख उपप्रमुख पनि त्यही होटलमा राख्ने आयोजकको तयारी छ ।


हायात, याक एन्ड यती, र्‍याडिसन लगायत सबै पाँचतारे होटलमा उच्च तहका पाहुना राखिनेछन् । तीन र चारतारे होटलहरू झन्डै ४५ देशबाट आएका १५ सय पाहुनाले भरिनेछन् । परराष्ट्र मामिला जानकारहरूका अनुसार यति ठूलो दायरामा नेपालमा हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हो, जसको आयोजक सरकार नभई एक आईएनजीओ छ ।


‘सरकार प्रमुखसहित यति धेरै देशका यत्रा मानिस मलाई यसअघि नेपालमा एकै पटक कुनै कार्यक्रममा आएको थाहा छैन’ पूर्वराजदूत दिनेश भट्टराईले भने, ‘पर्यटन प्रवद्र्धनका लागि यो राम्रो अवसर हो, तर नेपालमै यो आयोजना गर्नाको कारण के होला भन्ने प्रश्न स्वाभाविक रूपले उब्जिएको छ ।’


कोरियास्थित अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले सम्मेलन गर्न लागेको हो, जसको अध्यक्ष तत्कालीन परिवार दलका प्रमुख एवंपूर्वमन्त्री एकनाथ ढकाल छन् । राष्ट्रसंघले झैं विश्वमा शान्ति स्थापनाका लागि काम गर्न भनी सन् २००५ मा कोरियाका क्रिश्चियन धर्मका नेता सन म्युङ मुनले यूपीएफ गठन गरेका हुन् ।


सबै महादेशमा क्षेत्रीय तथा राष्ट्रिय कार्यालय भएको यूपीएफको सचिवालय राष्ट्रसंघको मुख्यालय भएकै सहर न्युयोर्कमा छ । यूपीएफले गरेको यो तहको सम्मेलनले नेपाललाई अन्तराष्ट्रिय तहमा अनौपचारिक रूपले भए पनि चिनाउने अर्का पूर्वराजदूत मधुरमण आचार्यको बुझाइ छ । ‘यो नेपालमै आयोजना हुनुका पछाडि यहाँको सजिलोपन हो,’ उनले थपे, ‘एउटा आईएनजीओलाई यति ठूलो कार्यक्रम गर्न अन्य देशमा त्यति सहज हुँदैन । किनभने यहाँ शक्तिमा भएकाहरूलाई रिझाउन सजिलो छ । नेताहरू यो संस्थामार्फत कोरिया नगएका कमै होलान्, सबैसँग संस्थाको राम्रो हिमचिम भएकाले सम्मेलन गर्न/गराउन गाह्रो भएन ।’


यूपीएफ नेपालका महासचिव विनोद डाँगी भने आचार्यको तर्कसँग सहमत छैनन् । ‘यूपीएफले बर्सेनि यस्तो सम्मेलन कुनै न कुनै देशमा गर्दै आइरहेको छ,’ उनले भने, ‘२०१७ मा अफ्रिकाको सेनेगल, २०१६ मा दक्षिण कोरियामा अनि २०१५ मा ब्राजिलमा भएको थियो ।’ उनका अनुसार नेपालमा भएको यो सम्मेलन अन्यत्रको भन्दा अलिक ठूलो हो । ‘तयारी गर्न मात्रै हामीलाई तीन महिना लाग्यो,’ उनले सुनाए, ‘उच्च तहका मानिस आउने भएकाले सरकारले सुरक्षाको व्यवस्था मात्रै गरेको हो । तर मानिसहरूलाई सहआयोजक भन्ने भान पर्न गएछ ।’


गैरसरकारी संस्थासँग सरकारको लोगो राखेकामा कांग्रेसले विरोध गरेपछि संस्थाले आफ्नो वेबसाइटबाट ‘नेपाल सरकारद्वारा सहआयोजित’ भन्ने वाक्यांश हटाएर ‘नेपाल सरकारबाट समर्थित’ भनी लेखेको छ । ‘यो पनि अझै रहस्यमय भयो’ राजदूत भट्टराईले भने, ‘एउटा आईएनजीओले मन लागे सरकारलाई आयोजक भनेर राखेको छ, मन नलागे झिकेको छ । सरकार कसले चलाइरहेको छ यो देशमा ?’


क्रिश्चियन धर्म प्रचारमा जोडिएको चर्चा भए पनि आयोजक संस्थाले सम्मेलनमा सबै धर्मका गुरुहरूलाई समेत निम्ता गरेको छ, जसबीच साझा शान्तिको बाटो के हुने भन्नेबारे छलफल हुनेछ ।


हिन्दु धर्मलाई प्रतिनिधित्व गर्दै वृन्द्रावनका गोस्वामी आउँदैछन् भने उनका साथमा बीजेपीका नेता विजय जोली हुनेछन् । ताइवानबाट अन्तर्राष्ट्रिय बुद्धिस्ट संघका अध्यक्ष चिनचुङ याङ र भारतबाट मुस्लिम धर्मलाई प्रतिनिधित्व गरेर इमाम प्रमुख डाक्टर उमर अहमद इल्यासी आउँदैछन् ।


क्रिश्चियन धर्म गुरुका रूपमा भने म्यान्मारस्थित वाप्टिस्ट एसोसिएसनका राष्ट्रिय अध्यक्ष जा खादर आउँदैछन् । एक सय एक जना सम्मिलित आमन्त्रण समितिमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष छन् भने फिलिपिन्सका पूर्वसभामुख जोसे डे डिभेनेसिया, यूपीएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा. थोमस वाल्स, भारतका असमका राज्यसभा सदस्य भुवनेश्वर कालिता लगायत २५ देशका उच्च ओहदाका मानिस सदस्य छन् ।


यूपीएफ नेपाल च्याप्टरका संस्थापक अध्यक्ष काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपछि डा. सुरेशराज शर्मा हुन् जसले सन् २००५ देखि २०१३ सम्म संस्थालाई नेतृत्व गरेका महासचिव डाँगीले बताए । त्यसपछि अध्यक्ष भएका ढकालको पालामा भने यूपीएफले धेरै नेताहरूलाई कोरियालगायतका देशहरू घुमाएर सम्बन्ध सहज बनाएको छ ।


यूपीएफ नेपालमा ९ सदस्यीय कार्यसमिति छ, जसका उपाध्यक्ष शिक्षासेवी नारायण शर्मा गजुरेल, महासचिवमा ‘सामाजिक क्षेत्रमा सक्रिय’ विनोद डाँगी र कोषाध्यक्षमा उही पृष्ठभूमिका जितेन्द्र श्रेष्ठ छन् । मंसिर १४ देखि १७ सम्म चल्ने सम्मेलनमा २० करोड खर्च हुने अनुमान गरिएको र सबै यूपीएफको अन्तर्राष्ट्रिय कार्यालयले बेहोर्ने डाँगीले बताए ।

प्रकाशित : मंसिर १३, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?