कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली सुन किनबेचमा प्रहरी

मैतीदेवीका ज्वेलरी व्यवसायीलाई नक्कली सुन बेच्न बालाजुको गेस्टहाउसमा बोलाएर ४९ लाख रूपैयाँ लुट्ने गिरोहमा दुई प्रहरी हवल्दार संलग्न
जनकराज सापकोटा

काठमाडौँ — स्थान : बल्खु चोक । समय : मंसिर ११ गते ११ बजे । तीन युवक खासखुस गर्दै घरि यता घरि उता गरिरहेका थिए । नजिकै रहेको चौकीका प्रहरीले तिनीहरूको गतिविधि शंकास्पद ठाने र चेकजाँच थाले ।

नक्कली सुन किनबेचमा प्रहरी

सञ्जय तिरुवा, गोपाल विक र शिव कुमालले सुरुमा त गाडी पर्खेको भनेर झुक्याउन खोजे । ड्युटीमा रहेका प्रहरीले चेकजाँच गर्दा उनीहरूको झोलाबाट ३७ लाख रुपैयाँ र एक केजी सुन बरामद भयो ।


त्यसपछि प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि ललितपुर परिसरको जिम्मा लगायो । भोलिपल्ट तीनै जनाको बयानपछि उक्त सुन नक्कली भएको र त्यसैलाई बेच्ने भन्दै लुटिएको रकम बाँडफाँट गर्ने काममा २ प्रहरी हवल्दारसमेत संलग्न भएको रहस्य खुल्यो ।


यसरी बन्यो लुटपाटको योजना

प्रहरीका अनुसार गत कात्तिकमा सुमन नाम गरेका एक व्यक्तिले मैतीदेवीको बुद्ध ज्वेलरीका बुद्ध विश्वकर्मा शंकरलाई आफूसँग एक केजी सुन भएको र प्रतितोला ५७ हजार ७ सयका दरले बेच्न खोजेको बताए ।


सुमनले आफूले बैंकबाटै सुन किनेको र त्यसको बिल पनि रहेको भन्दै बुद्धलाई आश्वस्त तुल्याउन खोजे । त्यही आश्वासनको पासोमा परेका बुद्धले यही मंसिर ११ गते आफ्ना कामदार विमल विश्वकर्मालाई ४९ लाख ४७ हजार रुपैयाँ दिएर सुमनले भनेकै ठाउँमा सुन किन्न पठाए ।


विमलले सुरुमा सुन्धारा पुगेर सुमनलाई भेटे । सुन किनबेच गर्ने उपयुक्त ठाउँको खोजीमा उनीहरू त्यहाँबाट न्युरोड, माछापोखरी हुँदै बालाजु छेउको वसन्तनगरस्थित सूर्यविनायक गेस्ट हाउस पुगे । गेस्ट हाउसमा सुमनले दुइटा कोठा लिएका थिए । एउटा कोठामा उनी विमललाई लिएर छिरे । अर्को कोठामा भने ओपीराम सुनार, शिव कुमाल, मोहनबहादुर बमलगायत ५ जना थिए ।


विमलले पैसाको झोला बिसाएपछि सुन बेच्ने पक्षका सुमन र दिनेश दर्नालले पहिला पैसा गनौं, त्यसपछि सुन हेरौं भनेर प्रस्ताव गरे । झन्डै ४२ लाख रुपैयाँ गनिसकेपछि दिनेश सुन ल्याउन भन्दै कोठा बाहिर निस्किए । त्यसको केहीबेरमै फिल्मी शैलीमा शिव कुमाल र मोहनबहादुर बम उक्त कोठामा छिरे ।


महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत हवल्दार मोहन त्यतिबेला प्रहरी पोसाकमै थिए भने शिव कुमाल मोहनले ल्याइदिएको पोसाक लगाएर नक्कली प्रहरी बनेका थिए । यी दुईले सुन किनबेच गरेको भन्दै विमल र अन्यमाथि कुटपिट गरेजस्तो गरे ।


त्यही बेला शालिकराम नेपाली, ओपीराम सुनारसहित सबैजना झोलाको रकम लिई भागे । कुटपिटबाट सामान्य घाइते भएका विमल त्रसित हुँदै घर फर्किए ।


प्रहरी परिसर ललितपुरका एसपी रवीन्द्रसिंह धानुकका अनुसार यसरी लुटेको पैसा उनीहरूले मित्रपार्कमा रहेको हवल्दार मोहनबहादुर बमको कोठामा गएर बाँडेका थिए । दिनेश दर्नालले १ लाख ५० हजार, ओपीराम सुनारसहित दुई जनाले जनही १ लाख, शिव कुमालले १ लाख गरी १० लाख रुपैयाँ बाँडेर बाँकी रकम गोपाल विश्वकर्माले राखेका थिए ।


लुटेको रकम लिएर शिव कुमाल दाङस्थित आफ्नो घर जाने गाडी खोज्न साथीहरूलाई लिएर बल्खु पुगेका बेला प्रहरीको फन्दामा परेका थिए ।


पक्राउको भोलिपल्टै प्रहरी परिसर ललितपुरले घटनामा दुई हवल्दार मोहनबहादुर बम र शालिकराम नेपाली संलग्न भएको पत्तो पाएको थियो । जसमध्ये नेपाली फरार छन् । चार वर्षयता प्रहरी परिसर ललितपुरमा घुमुवा प्रहरीकै हैसियतमा काम गर्दै आएका शालिकराम पछिल्लो समय महानगरीय प्रहरीले सार्वजनिक यातायातमा हुने यौनजन्य दुव्र्यवहार रोक्न सुरु गरेको ‘सेफ्टी पिन’ अभियानअन्तर्गत सार्वजनिक सवारीको अनुगमनमा खटिएका थिए ।


चार महिना अघिमात्रै सिपाहीबाट हवल्दारमा बढुवा भएर रूपन्देहीमा सरुवा भए पनि उनी रमाना नलिईकन ललितपुरमै कार्यरत थिए ।


प्रहरीले पक्राउ परेकाहरूको गतिविधि निगरानी गरिरहेका बेला महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत हवल्दार बमले पक्राउ परेका सञ्जय तिरुवालाई फोन गरेर भेट्न खोजेका थिए । त्यसपछि मात्रै प्रहरीले नक्कली सुन किनबेचको गिरोहमा बम पनि संलग्न रहेको पत्तो पाएको थियो ।


प्रहरीका अनुसार नक्कली सुन देखाएर लुटिएको रकमको ३ लाख रुपैयाँ हवल्दार बमले हात पारेका थिए र उक्त रकम उनले गोंगबुको सिद्धार्थ बैंकमा डिपोजिट गरेका थिए ।


प्रहरी अधिकारीका अनुसार हवल्दारहरू नेपाली र बम पुरानो चिनजानका हुन् । नक्कली सुन देखाएर किन्न बोलाउने र सुन किन्न आउनेलाई लुट्ने योजनाको मुख्य योजनाकार हवल्दार नेपाली नै रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।


प्रहरीका अनुसार कात्तिक १३ गते पनि हवल्दार बमले नेपालगन्जमा पनि नक्कली सुन बेच्न बोलाएर लुट्ने असफल प्रयास गरेका थिए । प्रहरीका अनुसार त्यतिबेला पनि उनले लुटको सबै योजना बनाएर प्लेनको टिकट काटी हवल्दार बमलाई नेपालगन्ज पठाएका थिए ।


किन हुन्छ अवैध सुनको बिक्री ?

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार बुद्ध ज्वेलरी वर्कसपका सञ्चालक बुद्ध विश्वकर्माले वैध बजारमा सुन किन्न गाह्रो हुने र सुनको माग वैध बजारले नधान्ने भएकाले आफूले व्यक्तिबाट सुन किन्न खोजेको बताएका छन् ।


बैंकबाट खरिद गरिएको बिलसहितको सक्कली सुन भएकाले पनि व्यक्तिबाट किन्न खोजेको उनले बताएका छन् । नक्कली सुन किनबेचको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार राष्ट्र बैंकले तोकेको दैनिक २० केजीको कोटाले बजारको माग नधान्ने भएपछि व्यापारीहरू अवैध सुन बजारमा भर पर्ने गरेका छन् ।


अवैध सुनको मूल्य तुलनात्मक रूपमा सस्तो हुने भएकाले सुन व्यवसायीहरू अवैध बजारको सुन किन्न अघि सर्छन् ।


नक्कली सुन किनबेचको नाममा हुने ठगी र लुटपाटको धन्दा नयाँ होइन । १९ कात्तिकमा महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी रुगम कुँवर नेतृत्वको टोलीले ३५ लाखमा एक केजी नक्कली सुन बेच्न हिँडेका राजेन्द्र तामाङ, राजकुमार तामाङ र राजु लामालाई पक्राउ गरेको थियो ।


भक्तपुर सूर्यविनायकका राजेन्द्र थापाले पनि नक्कली सुन किनेर २८ लाख ६० हजार रुपैयाँ गुमाएका थिए । उक्त घटनामा प्रहरीले अजय तामाङ र विष्णु मोक्तानलाई पक्रेको थियो । १८ जेठमा पनि महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली सुन किनबेच र लुटपाटको घटनाको अनुसन्धान गरी नवीन गुरुङ, निमा लामा, राजीवकुमार ब्लोन, अर्जुन तामाङ र बानसन श्रेष्ठलाई पक्राउ गरेको थियो ।

प्रकाशित : मंसिर १४, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?