कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसिया प्यासिफिक समिट : चर्चको प्रशंसा, हानको सम्मान

घनश्याम खड्का

काठमाडौँ — युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहुर्‍याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरूले ‘एसिया प्यासिफिक समिट’ को शनिबार उद्घाटन गरेका छन् ।

एसिया प्यासिफिक समिट : चर्चको प्रशंसा, हानको सम्मान

सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभागी भएन ।


‘धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दु:खद हो, यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘त्यसैले हामी यसमा गएनौं, जानु उचित पनि थिएन ।’ यही आशंकाले आफूहरू सम्मेलनमा सहभागी नहुने संस्थागत निर्णय नै गरेको कांग्रेसले जनाएको छ ।


उद्घाटन समारोहका सबैजसो वक्ताले इसाई धर्म र युनिफिकेसन चर्च प्रमुख हकको प्रशंसा गरे । ‘उहाँको अनुहारको कान्ति हेर्नुस्, कस्तो चमक छ †’ भारतीय जनता पार्टीका नेता विजय जोलीले हानलाई सम्बोधन गर्दै भने, ‘उहाँ साक्षात् शान्तिको दूत हुनुहुन्छ, यो संसारलाई उहाँको जन्मले पवित्र पारेको छ । एकपटक हामी सबै उहाँको सम्मानमा उठौं ।’


जोलीले यसो भनेलगत्तै उद्घाटन सत्रमा सहभागी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख कृष्णबहादुर महरा, उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापादेखि दर्जनौं सचिव, मेयरलगायत उच्च पदस्थ नेपाली, म्यानमारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेनलगायत ७ देशका राष्ट्र/सरकार प्रमुख/उपप्रमुख र ५० देशका १५ सय सहभागी आफूलाई ईश्वरको एकमात्र अवतार दाबी गर्ने ‘म्याडम मुन’ को अघिल्तिर उठेका थिए ।


‘सन् १९५४ मा चर्च स्थापना गर्ने पवित्र पिता तथा हानका श्रीमान् सन् म्युङ मुन २०१२ मा बितेको भए पनि उहाँको पवित्र आत्मा आफूहरूमाझ नै भएकाले पिता मुन पनि जीवितै भएको’ घोषणा गर्दै जोलीले कामना गरे, ‘सबैलाई उनको प्रेरणा मिलोस् ।’


त्यसपछि सम्मेलनलाई सम्बोधन गर्दै श्रीमती हानले भनिन्, ‘परमेश्वरमाथि विश्वास गर, मैले भनेको मान । कसैले दु:ख पाउने छैन । अब म यो भूमिलगायत एसिया प्रशान्त क्षेत्रलाई नै शान्ति क्षेत्र र यहाँका मानिसलाई ईश्वरका प्यारा सन्तान भएको घोषणा गर्छु ।’


सभामा उपस्थित सबैले तालीको गडगडाहटका साथ उनको घोषणालाई स्वागत गरे । मातृभाषा कोरियालीमा बोलेकी हानको भाषणलाई नेपाली, अंग्रेजी, जापानी, रुसीलगायत भाषामा अनुवाद गरिएको थियो ।


सन् १९९३ पछि विश्वमा विभिन्न खालका हिंसा बढेको र त्यसको एकमात्र कारण बाइबलको आज्ञा उल्लंघन भएको दाबी गर्दै उनले मानिसहरूमा ईश्वरप्रति विश्वास घट्दै गएकाले त्यसलाई रोक्न आफू पृथ्वीमा आएको दाबी गरिन् ।


उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले बुद्ध जन्मेको देश नेपाल संसारको पुराना सभ्यतामध्येको एक भएको र यस्तो खालको कार्यक्रम नेपालमा आयोजना हुँदा खुसी लागेको बताए । सम्बोधनलगत्तै उनी राष्ट्रसंघीय कार्यक्रममा पोल्यान्ड जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्न विमानस्थलतिर लागेका थिए ।


त्यसपछि चर्च र हानको प्रशंसा गर्ने तथा उनैले आफूलाई ईश्वरको अवतार दाबी गर्ने क्रम सुरु भएको थियो । हुन सेन, सुकीलगायतले पनि सम्बोधन गर्दै सम्मेलन भव्य रूपमा आयोजना भएकामा खुसी लागेको बताएका थिए ।


‘म्याडम मुन हामी सबकी एकमात्र आमा हुनुहुन्छ,’ पूर्वप्रधानमन्त्री तथा कार्यक्रमको आमन्त्रण समितिका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री ओलीको सम्बोधनपछि कार्यक्रम आयोजक संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) का अन्तर्राष्ट्रिय अध्यक्ष थोमस वाल्सले भने, ‘उहाँले बोल्दा सम्मान प्रकट गर्न र ध्यान दिएर सुन्न म सबैलाई आग्रह गर्न चाहन्छु ।’


सम्बोधनका क्रममा वाल्सले नेपाल सरकार सम्मेलनको एक साझेदार भएको बताए । यूपीएफले आफ्नो वेबसाइटमा सम्मेलन नेपाल सरकारको सहआयोजनामा हुन लागेको उल्लेख गरे पनि त्यसको व्यापक विरोध भएपछि सहयोगी मात्रै रहेको भनी सच्याएको थियो ।


सम्बोधनका क्रममा अध्यक्ष वाल्सले सरकारमात्रै नभएर एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) पनि कार्यक्रमको साझेदार भएको खुलासा गरेका थिए ।


कार्यक्रमको दोस्रो दिन आइतबार प्रधानमन्त्री ओलीलाई सम्मान गर्ने र १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई ‘पवित्र आमा’ का रूपमा हानले आशीर्वाद दिने कार्यक्रम छ ।


उनले विश्वभरि नै विवाहित जोडीहरूलाई यसरी आशीर्वाद दिने र ‘पवित्र जल’ छर्कने काम गर्दै आएकी छन् । यस्तो आशीर्वाद समारोह ‘युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्त्वपूर्ण’ हुने यूपीएफको एक गोप्य कागजातमा उल्लेख छ ।

सन् २०१२ मा चर्चका संस्थापक मुनको मृत्यु भएपछि बेलायती पत्रिका द गार्जियनले उनीमाथि लेखेको आलेखमा मुन दम्पती विश्वका करोडौं मानिसलाई दिग्भ्रमित पारी तिनलाई सामूहिक आत्महत्याका लागि समेत राजी गर्न सफल भएको उल्लेख थियो ।


आस्था र धर्मको दोहन गरेर धार्मिक साम्राज्य खडा गरेको भन्दै मुन दम्पतीको विश्वभरका सञ्चार माध्यमहरूमा असंख्य आलोचना भएका छन् । तैपनि युनिफिकेसन चर्च र यूपीएफले विभिन्न देशमा त्यहाँका सरकार/राष्ट्र प्रमुख र उच्च ओहदाका अधिकारीलाई प्रभावमा पारी आफ्नो प्रभुत्व बढाइरहेको छ ।


सन् २००५ मा काठमाडौं विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. सुरेशराज शर्माको अध्यक्षतामा गठन भएको यूपीएफको नेपाल शाखाले सन् २०१३ बाट एकनाथ ढकालको पालासम्म आइपुग्दा प्रधानमन्त्री, सभामुख, मन्त्री, व्यापारी, सञ्चारकर्मीलगायत प्रभावशालीहरूलाई कोरिया घुमाउने र विभिन्न मानसम्मान दिने काम गरेर प्रभावमा पार्दै आएको छ ।


कोरिया घुम्न जाने नेताहरूको लामो विवरण यतिखेर सामाजिक सञ्जालहरूमार्फत बाहिर आएको छ ।


‘धर्म प्रचारमा संलग्न एउटा आईएनजीओले नेपालको पूरै संयन्त्रलाई परिचालन गर्नु राष्ट्रिय लज्जाको विषय हो,’ परराष्ट्रका एक अधिकारीले भने, ‘हुन सेन र सुकी सरकारी पाहुना भनेर आए पनि खास आएको चर्चकै कार्यक्रममा हो, नत्र दुई देशका मूर्धन्य नेताहरू एकै दिन नेपालमा सद्भावना भ्रमण भन्दै आइपुग्नुपर्ने कुनै कारणै छैन ।’


प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले धेरै देशका मानिस नेपालमा आउनु र यति ठूलो कार्यक्रम हुनु नेपालका लागि अवसर भएकाले सरकारले सहयोगी भूमिका निर्वाह गरेको बताए । ‘जुनसुकै धर्मका मानिसले कार्यक्रम गरे पनि सरकारले सघाउँछ’ उनले भने, ‘गिरिजाप्रसाद कोइरालादेखि कृष्णप्रसाद भट्टराई पनि यसमा प्रधानमन्त्रीकै हैसियतले सहभागी भइसक्नुभएको छ, सरकारको कुरा काट्ने विषय नपाएकाहरूले यसलाई बढ्ता उचालेका मात्रै हुन् अहिले ।’


भट्टराईका अनुसार यति ठूलो समारोहमा प्रधानमन्त्री ओलीले लगानीको आग्रह र शान्तिको सन्देश दिएर नेपालको बदलिएको अवस्थालाई राम्रो गरी प्रवाह गर्न सफल भएका छन् ।


ओली ३ दिनदेखि सोल्टीमा

प्रधानमन्त्री केपी ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखि होटल सोल्टीमै बस्दै आएका छन् ।


‘प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक हो,’ एक कूटनीतिज्ञले टिप्पणी गरे, ‘यसले बाह्य जगत्मा नेपालको बचेखुचेको साख पनि ध्वस्त पारेको छ ।’ प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले भने आउने–जाने समय बचाउन, सवारी आवागमनमा बाधा नपार्न र अधिकतम देशका नेतालाई भेट्न प्रधानमन्त्री सोल्टीमै बसेको बताए ।


को हुन् हक जा हान ?

हक जा हान मुन सन् १९५४ मा युनिफिकेसन चर्च स्थापना गर्ने कोरियाली धार्मिक नेता सन म्युङ मुनकी पत्नी हुन् ।


सन् २०१२ मा म्युङ बितेपछि हानले नै चर्चका गतिविधिहरूलाई विश्वव्यापी रूपमा अघि बढाइरहेकी छन् । मुनले आफू ४० वर्षको छँदा १७ वर्षीया हानलाई सन् १९६३ मा बिहे गरेका थिए । उनीहरूबाट १४ सन्तान जन्मिएकामा १० जीवित छन् ।


विश्वमा विभिन्न खालका हिंसा बढेको भन्दै त्यसलाई रोक्न आफू पृथ्वीमा आएको उनले दाबी गर्दै आएकी छन् ।

प्रकाशित : मंसिर १६, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?