कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

द्वन्द्वकालीन मुद्दामा पूर्वमाओवादी नेता पक्राउ

प्रतिक्षा काफ्ले

स्याङजा — द्वन्द्वकालको मुद्दाको विषयलाई लिएर पूर्व मोआवादी नेता टिकाराम रेग्मीलाई पक्राउ गरिएको छ । वालिङ नगरपालिका निवासी टिकाराम रेग्मी (जिवन)लाई सशस्त्र द्वन्द्वको बेला आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो ।

द्वन्द्वकालीन मुद्दामा पूर्वमाओवादी नेता पक्राउ

द्वन्द्वकालीन मुद्दा उल्टिएको सन्देश दिने गरी वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब निरीक्षक युवराज चन्दले पक्राउ पुर्जि जारी गर्दै रेग्मीलाई पक्राउ गरिएको हो ।


बिद्रोही पक्षले घटाएको घटनाको आधारमा स्याङजामा ११ वटा मुद्दा जिल्ला अदालतमा मुल्तबी रहेकोमा रेग्मीलाई २०६० साल भाद्र १७ गते आगजनी गराएको मुद्दामा पक्राउ गरिएको बताइएको छ ।

फरार प्रतिबादीको सूचीमा नाम अंकित गरी जिल्ला अदालतले जिल्ला प्रहरीमा नामावली पठाएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए । द्वन्द्वको मुद्दा थाहा नहुँदा र अदालतले फरार सूचीमा राखेर पठाएको पत्राचार अनुसार निर्देशन पालना स्वरुप प्रहरीले पक्राउ गरेको लम्सालले बताए ।


आफ्नो आदेशमा रेग्मीलाई पक्राउ पूर्जी जारी नगरेको बताउदै प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले गृहको फैसला कार्यान्वयको संघारमा घटना घटेको बताए । घटना घटेका बेला पक्राउ गर्ने आदेश हुने बताउँदै जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले अहिले अदालतले कुनै पक्राउको लागि पूर्जि जारी नगरेको बताएका छन् ।


उनले सरकारले कानुन बमोजिम मुद्दा फिर्ता नलिए अदालतले उल्टाएर सबैलाई कारबाही गर्ने बताए । यहाँ तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल,नेता बाबुराम भट्टराई, वर्तमान गृहमन्त्री रामबहादर थापा, सभामुख कृष्णबहादुर महरा लगायतका नेताको मुद्दा मुल्तबीमा रहेका छन् । पक्राउ परेका रेग्मीले प्रशासनले के कारण आफूलाई पक्राउ गर्‍यो भन्ने पत्तै नपाएको बताए ।


दुई दिनदेखि प्रहरीले आफूलाई खोजेको बताउदै रेग्मीले भने,‘पक्राउ पूर्जि घरमै दिनु पर्दथ्यो तर मुद्दा छ भन्दै स्याङ्जा पुर्‍याएर वालिङका प्रहरीले जारी गरेको पूर्जि थमाइएको थियो ।’ उनले द्वन्द्वका मुद्दा बिउँताउने गरी हो भने सर्वप्रथम प्रचण्ड, बादललाई पक्राउ गर्नुपर्ने र आफू मोहरा मात्र भएको बताएका थिए ।


रेग्मी गत निर्वाचनमा क्षेत्र नम्बर २ बाट नयाँ शक्तिको उम्मेदवार बनेका थिए । ‘यदि म फरार थिए भने संघको निर्वाचनमा क्षेत्र नं २ को उम्मेदवार बन्दा सरकारले के गरेर बसेको थियो’ उनले प्रश्न गरे ।

जघन्य अपराध बाहेक सबै द्वन्द्वका मुद्दा नचलाउने विस्तृत शान्ति सम्झौतामा भएको बताउदै तत्काललीन माओवादी नेता तथा नेकपा गण्डकी प्रदेश सदस्य शैलेन्द्र घिमिरेले प्रशासनले हात हाल्नुमा गलन नियत भएको बताएका छन् ।

प्रकाशित : मंसिर १८, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?