कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलोचकप्रति आक्रोश 

असफलता छोप्न बुद्धिजीवीमाथि खनिए : विश्लेषक युग पाठक
राजेश मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी ओली विवादित एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताबारे प्रतिक्रिया जनाउने बुद्धिजीवीकै आलोचनामा उत्रिएका छन् ।

आलोचकप्रति आक्रोश 

‘कुनै–कुनै बुद्धिजीवीको अभिव्यक्ति अत्यन्तै असभ्य र तल्लो स्तरका देख्छु । मैले जवाफ दिएँ भने उहाँहरू थला पर्ने सम्भावना रहन्छ । उहाँहरूलाई जान्दछु । अलिकति असलियत बाहिर आउँदा उहाँहरूको के हुन्छ ? त्यो अलि विचार गरे हुने हो,’ उनले चेतावनी शैलीमा भनेका छन् ।

क्रिस्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित समिटमा सरकारको सक्रिय सहभागिता र प्रधानमन्त्रीले अवार्ड थापेको विषयलाई बुद्धिजीवीले आलोचना गर्दै आएका छन् । यसअघि डा. गोविन्द केसीको समर्थन वा विगतमा बुद्धिजीवीको प्रतिक्रियाले सरकार र पार्टी आलोचित हुँदा पनि ओलीले यस्तै प्रतिक्रिया जनाएका थिए ।

नेपाल टेलिभिजनबाट बुधबार प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उनले बुद्धिजीवी र अवकाश प्राप्त नेपाल सरकारका पूर्वकर्मचारीप्रति आक्रोश व्यक्त गरे । सञ्चारमाध्यममा आउनुअघि आफूसँग वादविवाद वा सत्यका सम्बन्धमा बहस गर्न सुझाए । ‘सञ्चारमाध्यममा आउनुभन्दा अगाडि एकपटक मसँग वादविवाद गर्न वा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको हो कि होइन ? म उहाँहरूलाई सोध्न पनि चाहन्छु । म जवाफ दिएर उहाँहरूलाई थला पार्न चाहन्नँ,’ उनले भने, ‘उहाँहरूलाई जवाफ दिइहाल्न चाहन्नँ । तर, सोधिराख्न चाहन्छु । जवाफ दिऊँ ?’

प्रधानमन्त्रीसँग कुनै बुद्धिजीवी वा पत्रकारले छलफल गर्ने सजिलो संयन्त्र भने विकास गरिएको छैन । उनले नियुक्त गरेका सल्लाहकार वा सरकारका प्रवक्ता मानिने सञ्चारमन्त्री नै सहज पहुँचमा हुँदैनन् । सरकार र आफ्नो कमजोरीमाथि पूर्वप्राध्यापक र कर्मचारीले गर्ने टीकाटिप्पणीप्रति पनि प्रधानमन्त्रीको तीव्र असन्तुष्टि छ । सोही कार्यक्रममा उनले राज्यको सुविधा खानेले नै गैरजिम्मेवार ढंगले बोल्नु ठीक नभएको बताए ।

‘सरकारकै भत्ता खाने, पेन्सन खाने, सुविधा लिने अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने ? गोपनीयताहरूको समेत वास्ता नगर्ने अर्को प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘अत्यन्त अनुत्तरदायी र झूटो प्रचारहरू गर्ने, अत्यन्त अपमानजनक ढंगले बोल्ने ? उहाँहरूलाई जवाफ दिइहाल्न चाहन्न ।’

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिको बचाउ गरे । उनले ‘तथ्यमा आधारित भएर मात्र प्रस्तुत हुन प्रधानमन्त्रीज्यूबाट ध्यानाकर्षण गर्नुभएको’ दाबी गरे । प्राध्यापक कृष्ण खनालले भने प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘लज्जाजनक र भयग्रस्त टिप्पणी’ बताएका छन् ।

प्रधानमन्त्रीजस्तो पदमा आसीन व्यक्तिबाट बुद्धिजीवीलाई चुनौतीपूर्ण अभिव्यक्ति आउनु चिन्तनीय विषय भएको उनको भनाइ छ । ‘सार्वजनिक पदमा बसेका मानिसको सबै किसिमबाट टिप्पणी हुन्छ, राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै हुन्छ । टीकाटिप्पणी, आलोचनाबाट प्रधानमन्त्री भयग्रस्त हुनुहुँदैन,’ उनले भने, ‘यो प्रधानमन्त्रीको दयनीय अवस्थाको संकेत हो । यो मुलुककै लागि चिन्ताको विषय पनि हो ।’

उनले जागिरमा रहेको र राज्यको तलब खाइरहेको अवस्थामा पनि प्राध्यापकहरूले पञ्चायती व्यवस्थाविरुद्ध र नेताहरू जेलमा हुँदा उनीहरूमाथि भएको अन्यायका विरुद्ध अन्तर्राष्ट्रिय रूपमा बोलेको स्मरण गराए ।

‘संसारभरि अवकाशपछि कर्मचारीलाई पेन्सनको व्यवस्था छ । जागिरमा रहँदा सरकारप्रति इमानदारिताको विषय एउटा हो तर दास त होइन नि ?,’ उनले भने, ‘पञ्चायतको जति धैर्य पनि ओलीमा देखिएन ।’


लेखक तथा विश्लेषक युग पाठकले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीरतापूर्वक लिनुपर्ने विषय नै नरहेको बताए । ‘उहाँको अहिलेसम्मको बचनको चरित्र हेर्दा उहाँले भनेको कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ जस्तो लाग्दैन,’ उनले भने ‘पहिलापनि बुद्धिजीवीलाई कोट काट्ने मुसा भन्नु भएकै हो । बुद्धिजीवीलाई होइन कि उहाँलाई जवाफ दिन गाहे परेर त्यस्तो उहाँको त्यस्तो अभिव्यक्ति आएको हो ।’


उनले राजनीतिक रुपमा शक्तिशाली हुँदा हुँदैपनि ९ महिना सरकार चलाउँदा भएको असफलतालाई छोप्न प्रधानमन्त्रीबाट त्यस्ता अभिव्यक्तिहरु आउन थालेको बताए । आफूमाथि आएको प्रश्नको जवाफ दिन नसकेपछि त्यसबाट पञ्छिन प्रधामन्त्री बुद्धिजीवीमाथि खनिएको उनले उल्लेख गरे ।


टेलिभिजन कार्यक्रममा ओलीको अभिव्यक्ति

कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य, तल्लो स्तरका देख्छु । त्यस्ता बुद्धिजीवीलाई एकपल्ट मसँग पहिले, सञ्चार माध्यममा आउनुभन्दा अगाडि किनभने मैले जवाफ दिँदा उहाँहरू थला पर्ने सम्भावना हुन्छ । त्यसकारण म थला पार्न चाहन्न । उहाँहरूलाई म जान्दछु । त्यस कारण मसँग एकपल्ट उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको हो कि होइन ?

म उहाँहरूलाई सोध्न पनि चाहन्छु । उहाँहरूका असलियतहरू, जसरी उहाँहरूले असभ्य ढंगले बोल्नुभएको छ । अलिकति असलियत बाहिर आउँदा उहाँहरूको के हुन्छ ? त्यो अलि विचार गरे हुने हो । अब मलाई कति मात्रै भन्न मन छ भने सरकारकै भत्ता खाने, पेन्सन खाने, सुविधा लिने अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा ।

गोपनीयताहरूको वास्ता नगर्ने प्रवृत्ति अर्को । यस्ता प्रवृत्तिहरू र अत्यन्त अनुत्तरदायी र झूटो प्रचारहरू गर्ने अर्को । मैले देख्या छु, यस्तो भएको हुनाले त्यो त किनेको, पारिश्रमिकजस्तो, यस्तो गरेर, उस्तो भएको भनेर अत्यन्त अपमानजनक ढंगले । म उहाँहरूलाई जवाफ दिइहाल्न चाहन्न । म उहाँहरूलाई सोधिचाहिँ राख्न चाहन्छु । जवाफ दिऊँ ? उहाँहरूलाई म सोध्न चाहन्छु ।

प्रकाशित : मंसिर २१, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?