कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओझेलमा ‘बुद्ध बस्ती’

बुद्ध जन्मस्थलमा विश्वभरका पर्यटक ओइरिइरहँदा कपिलवस्तु र नवलपरासीका उनीसँग सम्बन्धित विभिन्न पुरातात्विक स्थल भने ओझेल परेका छन् । राजप्रासादसमेत रहेको कपिलवस्तुमा बुद्धसँग जोडिएका १ सय ३६ पुरातात्विक स्थल रहेको अध्ययनबाट पत्ता लागेको छ । 
मनोज पौडेल, नवीन पौडेल

कपिलवस्तु र परासी — बुद्ध जन्मस्थल लुम्बिनी कपिलवस्तुबाट १० किलोमिटर पूर्व रूपन्देही जिल्लामा छ । अहिलेसम्म लुम्बिनीलाई केन्द्र मानेर बुद्धस्थल र दर्शनको प्रचार भइरहेको छ । हवाई र स्थलमार्गबाट सहज पहुँच र पर्यटकीय पूर्वाधार भएकाले बौद्ध धर्मावलम्बीको आकर्षण लुम्बिनीमा देखिन्छ ।

ओझेलमा ‘बुद्ध बस्ती’

बुद्ध जन्मस्थलमा विश्वभरका पर्यटक ओइरिइरहँदा उनको बाल्यकाल र युवा अवस्था बितेको कपिलवस्तु भने ओझेल परेको छ । राजप्रासादसमेत रहेको यहाँ बुद्धसँग जोडिएका १ सय ३६ पुरातात्त्विक स्थल रहेको अध्ययनबाट पत्ता लागेको छ । कपिलवस्तुमा फेला परेका पुरातात्त्विक प्रमाणले जिल्ला नै ‘बुद्ध बस्ती’ रहेको पुष्टि हुन्छ ।


तीन वर्षअघि तिलौराकोटको दोस्रो चरण उत्खनन परियोजनाअन्तर्गत पुरातत्त्वविद् वसन्त बिडारी नेतृत्वको टोलीले जिल्लामा करिब डेढ सय पुरातात्त्विक स्थल रहेको पत्ता लगाएको थियो । अहिले तीमध्ये आधा अतिक्रमणको चपेटामा छन् । कतिपय ठाउँ पत्ता लगाउन नसक्ने अवस्थामा पुगेका छन् । धेरै ठाउँको प्रचार हुन सकेको छैन ।


यहाँ राजकुमार सिद्धार्थ गौतमले २९ वर्ष बिताएको ठाउँ छ । सिद्धार्थभन्दा पहिलेका आदि बुद्ध कनकमुनि र क्रकुच्छन्दको जन्मस्थल छ । मुलुकमै चराको घर मानिने जगदीशपुर ताल छ । बुद्धकालीन महत्त्व बोकेका दर्जनौं ठाउँ छन् । पर्यटक आकर्षित गर्ने धेरै पवित्र स्थल छन् ।


तर ती स्थानसम्म पुग्न सडक छैनन् । केही कच्ची सडकको स्तरोन्नति गरिएको छैन । यहाँ आउने पर्यटकका लागि खाने र बस्ने समस्या छ । पूर्वाधारको कमीले पर्यटन प्रवद्र्धन हुन सकेको छैन ।

काँचुली फेर्दै तिलौराकोट कपिलवस्तु नगरपालिका–३ स्थित प्राचीन कपिलवस्तु (तिलौराकोट) ले काँचुली फेर्न थालेको छ ।


६ वर्षदेखि बेलायतको डुह्राम विश्वविद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले उत्खनन र अनुसन्धानको काम गर्दै आएका छन् । त्यससँगै यहाँ विकास सुरु भएको छ । उत्खनन गरिएका स्थानमध्ये राजप्रासादनजिक पश्चिमतिर विहार क्षेत्र र दक्षिणको मुख्य प्रशासनिक केन्द्र अघिल्तिर संघरामको भग्नावशेष संरक्षण गरिएको छ । अवलोकनका लागि भग्नावशेष थपिएका छन् । पूर्व–पश्चिम १ हजार ३ सय फिट र उत्तर–दक्षिण १ हजार ७ सय फिट क्षेत्रमा रहेको तिलौराकोटलाई बिस्तार गरिएको छ ।


दुई वर्षमा ४२ करोड मुआब्जा दिएर १७ बिघा जमिन अधिग्रहण गरिएको छ । यस वर्ष १० करोड रुपैयाँ विनियोजन गरिएको छ । पुरातत्त्व विभागले स्थानीय प्रशासनको सहयोगमा राजा शुद्धोदनको राजदरबार रहेको तिलौराकोटको उत्तर–पूर्वमा कन्थक स्तूप र पश्चिममा शिवगढ गाउँको दक्षिण खेतीयोग्य जग्गा अधिग्रहण गरेको हो ।


गुरुयोजना बनाएर विकास गर्न जग्गा अधिग्रहण गरिएको लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले बताए । चार वर्षपछि यहाँ रहेको पदमार्ग विस्तार थालिएको छ । पर्यटकले सजिलै ऐतिहासिक तथा पुरातात्त्विक स्थल देखुन् भनेर लुम्बिनी विकास कोषले पैदलमार्ग विस्तार गर्न लागेको हो ।


३/४ वर्षयता विज्ञ विदेशी पुरातत्त्वविद् टोलीले उत्खननबाट पत्ता लगाएका नयाँ ठाउँलाई लक्षित गरी बाटो बनाइएको छ । पुरातात्त्विक मूल्य–मान्यताअनुसार भुइँमा ४०/४० सेन्टिमिटर अग्ला र चौडा सिमेन्टको ब्लक राखेर बनाउन लागिएको एक किलोमिटर बाटो ६ फुट चौडा हुनेछ । पोखरी रहेको उक्त ठाउँमा त्यतिबेलाका राजा–महाराजाले नुहाउने गरेको पुरातत्त्वविद्ले बताए । ‘यो काम पूरा भएपछि तिलौराकोटले विकासले गति लिन्छ,’ कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भने, ‘लुम्बिनी आउने पर्यटकको रोजाइमा कपिलवस्तु पनि पर्नेछ ।’


गोटिहवा अतिक्रमण

कपिलवस्तु–५ मा रहेको पुरातात्त्विक स्थल गोटिहवाको पुरातत्त्व विभागको नाममा रहेको २ बिघा १९ घुर जग्गा अतिक्रमणमा परेको छ । जग्गा संरक्षण नगर्दा २०/२५ वर्षदेखि अतिक्रमण भइरहेको थियो ।


कब्जा गर्नेहरू पक्की, टिन र फुसको घर बनाएर बसेका छन् । अतिक्रमण गरेर बसेकालाई हटाउने प्रयास सफल हुन सकेको छैन । अतिक्रमण बढेपछि अशोक स्तम्भ रहेको १७ कट्ठा मात्र तारबार गरेर संरक्षण गरिएको छ । यसलाई खाली गराउन अतिक्रमणकारीलाइ ३ करोड रुपैयाँ क्षतिपूर्तिसमेत उपलब्ध गराइएको छ ।


‘खाली गर्न भनेका छौं,’ कोषका सदस्य राजेश ज्ञवालीले भने, ‘उनीहरू हटेपछि योजना बनाएर विकास गर्छौं ।’ चिनियाँ पैदलयात्री फायहानका अनुसार गोटिहवालाई क्रकुच्छन्द बुद्धले ज्ञान प्राप्त गरेपछि पिता–पुत्रले भेटघाट गरेको स्थलका रूपमा चित्रित गरेका छन् । गोटिहवाको अशोक स्तम्भको उचाइ १० फिट र परिधि ८ फिट ६ इन्च छ ।


बधस्थल अलपत्र

कपिलवस्तु–९, सगरहवास्थित शाक्य बधस्थलको संरक्षण हुन सकेको छैन । पश्चिम, उत्तर र दक्षिणबाट सुकुम्बासीले जग्गा अतिक्रमण गरेका छन् । त्यसलाई ७ हजार ७ सय शाक्यको बधस्थलका रूपमा चिनिन्छ ।


कपिलवस्तु नगरपालिका–२, कुदानमा रहेको निग्रोधारामको पनि संरक्षणमा ध्यान पुगेको छैन । त्यहाँ तारबार गरिएको छ । बुद्धले ज्ञान प्राप्त गरेपछि बुवाआमालाई पहिलो पटक राजधानी कपिलवस्तु आउँदा निग्रोधाराममा भेटघाट गरेका थिए । छोरा राहुल र श्रीमती यशोधरालाई भिक्षु–भिक्षुणी बनाएका थिए ।


१५ औं वर्षावास पनि यहीं बसेका थिए । त्यही भएर यसलाई बौद्ध धर्मावलम्बी महत्त्वपूर्ण मान्छन् ।

त्यसैगरी मायादेवी गाउँपालिकास्थित पुरातात्त्विक स्थल सिसहनियामा सन् १९९७ मा नेपाल–इटलीको संयुक्त पुरातत्त्व टोलीले उत्खनन गरेको थियो । त्यसयता कुनै काम भएको छैन । अतिक्रमण बढेको छ । कपिलवस्तु नगरपालिकामा पर्ने अरौराकोट पनि जीर्ण छ ।


संरक्षण नहुँदा चरन स्थल बनेको छ । त्यहाँ रहेको विशाल भग्नावषेश संरक्षणको पर्खाइमा छ । सरकारले ऐन बनाएर लुम्बिनी विकास कोषलाई कपिलवस्तुका ७ वटा स्थल संरक्षण र विकासको जिम्मा दिएको थियो । तिनमा तिलौराकोट, गोटिहवा, निग्लिहवा, सगरहवा, अरोराकोट, सिसहनिया र निग्रोधाराम हुन् । यी ठाउँ देख्दै पुरतात्त्विक र ऐतिहासिक लाग्छन् ।


संरक्षणमा बेवास्ता

पश्चिम नवलपरासीस्थित बुद्धसँग सम्बन्धित पुरातात्त्विक स्थलको संरक्षण हुन सकेको छैन । अस्तधातु रहेको रामग्राम स्तूप, बर्दघाटस्थित बुद्धमंगल ताल र मावली रामग्राम नगरपालिका १८ बन्जरियामा रहेको पण्डितपुर क्षेत्रमा रहेका बुद्धकालीन वस्तु अस्तव्यस्त छन् ।


प्राचीन कोलिया गणराज्यको राजधानी पण्डितपुरको उत्खनन र संरक्षणमा सम्बन्धित पक्षले चासो दिएको छैन । पुरातत्त्वविद्ले पण्डितपुर बुद्धको वास्तविक मावली भएको ९० प्रतिशत प्रमाण फेला पारेको दाबीसहित पुरातत्त्व विभागलाई प्रतिवेदन बुझाएका थिए । सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्नुपर्ने स्थानीयको माग छ ।


कतिपय पुरातात्त्विक वस्तु फेला परेका जग्गाको समेत लालपुर्जा वितरण भइसकेकाले तिनलाई अधिग्रहण गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बताए । ‘विस्तृत उत्खनन र संरक्षण आवश्यक छ,’ उनले भने, ‘जिल्ला समन्वय समितिको पहलमा पुरातात्त्विक वस्तुको संरक्षणका लागि परासीमा संग्रहालय स्थापना गर्ने तयारी छ ।’


२०५६ सालमा चौथो पटकको पण्डितपुरको उत्खननले कोलिय गणराज्यको राजधानी प्रमाणित गरेको थियो । पुरातत्त्वविद् डा. तारानन्द मिश्र र भाष्कर ज्ञवालीसहितको उत्खनन टोलीले त्यहाँ इसापूर्व ७ सय वर्ष पुराना पोस्टहोल, मौर्यकालीन इनार, इट, ग्रेवर, मडवाल, रिगंवेललगायत सामग्री फेला परेपछि उत्खनन टोलीले बुद्धको मावली र कोलिय गणराज्यको राजधानी हुन सक्ने धेरै प्रमाण फेला परेको थियो ।


लुम्बिनी विकास कोषले प्राथमिकतामा नराख्दा रामग्राम स्तूप ओझेल परेको छ । ऐतिहासिक पुरातात्त्विक एवं धार्मिक स्थल भए पनि संरक्षण र प्रवद्र्धन नगर्दा स्तूप ओझेल परेको हो । रामग्राममा बुद्धको अस्टधातु रहेको विश्वास छ ।


रामग्राम नगरपालिका–७, उजैनीमा अवस्थित स्तूप जीर्ण बन्दै गएको छ । एक बगैंचा र माटोको ठूलो ढिस्कोमा रहेको रूखबाहेक अन्य भौतिक संरचना बन्न सकेका छैनन् । बौद्ध धर्मअनुसार महत्त्व बोकेको स्तूपको पूजा तथा भ्रमण अवलोकन गर्न स्वदेश तथा विदेशबाट पर्यटक आउँछन् ।


होटल, खानेपानी, शौचालय, प्रार्थना स्थलको अभावमा पर्यटक फर्किने गरेको रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था अध्यक्ष शम्भु उपाध्यायले बताए ।

प्रकाशित : मंसिर २२, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?