कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

६ अर्ब करछली अभियोगमा ४२ फर्म र ८ सरकारी कर्मचारीलाई मुद्दा

काठमाडौँ — राजस्व अनुसन्धान विभागले झन्डै ६ अर्ब रुपैयाँ कर छलेको अभियोगमा ४२ फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ती फर्मसँग सम्बद्ध ७६ जनालाई ३ वर्ष कैद सजाय माग गरेको छ । तीमध्ये ८ सरकारी कर्मचारी छन् ।

६ अर्ब करछली अभियोगमा ४२ फर्म र ८ सरकारी कर्मचारीलाई मुद्दा

ती फर्मसँग ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ धरौटी मागदाबी गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । त्यसमध्ये २२ करोड ५७ लाख रुपैयाँ धरौटी जम्मा भइसकेको छ ।

विभागले उनीहरूमाथि कुल ५ अर्ब ७७ करोड १७ लाख ६ हजार १३६ रुपैयाँ बिगो दाबी गरेको छ । जिल्ला अदालतमा दायर मुद्दामा उनीहरूमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार कारबाहीको माग गरिएको छ ।

विभागले गत साउन १५ गते रसुवा भन्सार कार्यालयबाट ८ हजार ८ सय कट्टु/भेस्ट उल्लेख गरी साढे २३ हजार सेट भित्र्याएको आरोपमा मितेरी इन्टरनेसनलमाथि ७ करोड ५९ लाख ६३ हजार बिगो मागदाबी गरी ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

हिमालयन कार्गो सञ्चालन गरी कर छलेको आरोपमा विनोदकुमार गुप्तामाथि २ अर्ब ७२ करोड रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय माग गरी मुद्दा दायर भएको छ । यो प्रकरणमा विनोदले २०६५ देखि २०७२ सालसम्म वार्षिक ५ हजार रुपैयाँका दरले मात्रै आयकर बुझाएका थिए ।

अनुसन्धानक्रममा ५४ करोड ५२ लाख रुपैयाँ छलेको भेटिएपछि विभागले त्यसको बिगो र जरिवानासमेत गरी २ अर्ब ७२ करोड रुपैयाँ मागदाबी गरेको छ । मधुकुमारी गुप्तालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ ।

दूध र घिउको नक्कली भन्सार प्रज्ञापनपत्र बनाई चोरी पैठारी गरेको र नक्कली भ्याट बिल बनाएको आरोपमा विभागले रवीन्द्र गुप्तासहित २२ जनालाई मुद्दा दायर गरेको छ ।


उक्त मुद्दाको बिगो १० करोड २० लाख रुपैयाँ छ । ३ किलो सुनको भन्सार छलेको आरोपमा दीपककुमार मौर्यलगायत ७ जनासँग ५० करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

विभागको क्षेत्रीय कार्यालय बुटवलले एक अर्ब २३ करोड रुपैयाँ बिगो मागदाबीसहित ४ जनाविरुद्ध राजस्व छलीमा कारबाही माग गरेको छ । उक्त घटनामा बुटवलका नवराजप्रसाद खनालले कमला रसाइलीको नाममा शिव इन्टरप्राइजेज नामक फर्म खडा गरी भन्सार चोरी पैठारी, झूटा र नक्कली भ्याट बिल बनाउनेलगायत काम गरेको राजस्वको दाबी छ ।

गैरकानुनी रूपमा विदेशी विनिमय गरेको आरोपमा अरुणकुमार दाससहित ५ जनाविरुद्ध विभागले २ अर्ब २० करोड रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ । उक्त प्रकरणमा रोशन महरा, विष्णु राउत, महादेव राउत र विन्देश्वर राउतलाई प्रतिवादी बनाइएको छ ।


प्रकाशित : मंसिर २५, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?