कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीश सिफारिस सरेको सर्‌यै

संसदीय सुनुवाइबाट अस्वीकृत जोशीले नै कामु पाउने सम्भावना 

काठमाडौँ — भावी प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको मंगलबार डाकिएको बैठक पनि स्थगित भएको छ । योसहित तेस्रोपटक सरेको बैठक अब पुस ५ लाई तोकिएको छ ।  

प्रधानन्यायाधीश सिफारिस सरेको सर्‌यै

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी ओलीले परिषद् बैठक सार्दै जाँदा संविधान उल्लंघन भइरहेको छ । गत मंसिर १७ मा प्रधानमन्त्रीको अध्यक्षतामा पहिलोपटक बसेको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले कार्यव्यस्तता देखाएपछि निर्णय नगरी स्थगित भएको थियो ।

प्रधानमन्त्रीले मंसिर २२ का लागि बोलाएको दोस्रो बैठकसमेत स्थगित भयो । मंगलबार पनि बिहानका लागि बोलाइएको बैठक दिउँसो, अपराहन र साँझ भन्दै अन्तिममा बस्दै नबसी स्थगित भयो ।


न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको नाम परिषद्मा पठाएको छ । सर्वोच्चमा तीन वर्ष काम गरेको न्यायाधीशमात्र प्रधानन्यायाधीशका लागि योग्य हुने संवैधानिक व्यवस्था छ ।


न्यायपरिषद्ले पठाएका दुई जनामध्ये जोशी यसअघि नै संघीय संसदको सुनुवाइ समितिबाट प्रधान्यायाधीशमा अस्वीकृत न्यायाधीश हुन् । त्यही कारण परिषद्सामु राणालाई नै प्रधानन्यायाधीश सिफारिस गर्नेबाहेक विकल्प छैन ।


नाम सिफारिसपछि पनि संसदीय सुनुवाइलगायत प्रक्रिया पूरा गरेर नियुक्ति गर्न कम्तीमा १५ दिन लाग्ने भएकाले जोशी नै केही दिनका लागि कायममुकायम हुने सम्भावना बढेको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्तिले कामु प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गरे संवैधानिक परिषदको सुस्त निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठ्ने भन्दै सर्वोच्च अदालत स्रोतले चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित : मंसिर २५, २०७५ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?