२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

निकुञ्जले ‘शून्य चोरी सिकारका हजार दिन’ भनेर प्रचार गरेकै समयमा गैंडाको सिकार भएको पुष्टि

अदालतद्वारा मुख्य अभियुक्तलाई ७ वर्ष कैद र सहयोगीलाई ५ लाख जरिवानाको फैसला
रमेशकुमार पौडेल

चितवन — चोरी सिकारीका कारण गैंडा मर्न कम भएपछि ठूलै प्रचार गरेर ‘शून्य चोरी सिकार’ मनाउन थालियो । लगातार हजार दिनसम्म सिकारीका कारण गैंडा नमारिएको भनेर मन्त्री नै ल्याएर चितवन निकुञ्जले ‘शून्य चोरी सिकारका हजार दिन’ कार्यक्रम पनि गरेको थियो । तर जिल्ला अदालतले हालै गरेको एक फैसलामा शून्य सिकार भनेको त्यही हजार दिनभित्रै चोरी सिकारीले गैंडा मारेको तथ्य भेटिएको छ ।

निकुञ्जले ‘शून्य चोरी सिकारका हजार दिन’ भनेर प्रचार गरेकै समयमा गैंडाको सिकार भएको पुष्टि

चितवन जिल्ला अदालतले गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा मंसिर ११ गते दुईजनालाई सजाय सुनाएको छ । अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार भारत बिहारको पश्चिम चम्पारण गोबरहिया दोनका ४० वर्षीय छठु महतोलाई सात वर्ष कैद भएको थियो । त्यसै गरी चितवन माडीका रामा महतोलाई पाँच लाख रुपैयाँ जरिवना भयो । विस २०७३ सालको जेठमा गैंडा मारेको मुद्दामा उनीहरुलाई यो सजाय भएको हो ।


तर चितवन निकुञ्जले दिने गरेको आधिकारिक विवरणहरुमा यो मितिमा गैंडा मरेको देखिँदैन । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरे ७१ सालको बैशाख २० गते पछाडि एकै पटक ७३ सालको चैत्र २६ मा चोरी सिकारीले गोली हानेर गैंडा मरेको बताउँछन् । ७१ साल बैशाख २० यता चोरी सिकारीका कारण कुनै पनि गैंडा नमरेको भनेर ७३ सालको माघ १५ मा शुन्य चोरी सिकारका हजार दिन मनाइएको थियो ।


तत्कालिन वनमन्त्री शंकर भण्डारी र निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सौराहामा गैंडाको चित्र ढाकिने गरेर एक हजार लेखिएको साइनबोर्ड अनावरण गरेका थिए । निकुञ्ज कार्यालय र सुरक्षाका लागि तैनाथ श्रीजंग गणले संयुक्त रुपमा त्यो कार्यक्रम मनाएका थिए । तर अदालतले मुद्दा फैसला गर्दा भित्र भित्रै गैंडा मरेर खागसमेत बिक्री भएको घटना उजागार भयो ।


निकुञ्जभित्रै समातिएका थिए छठु

छठु महतो गएको असार १० गते चितवन राष्ट्रिय निकुञ्जभित्र सुरुङखोला क्षेत्रमा समातिएको निकुञ्जका अधिकारीहरुले बताएका छन् । त्यो बेला उनीसँग अरु चार पाँचजना साथीहरु पनि थिए । खेतको काम गर्न भारतको वालमिकी टाइगर रिजर्भ हुँदै माडी जान लागेको बयान दिएपछि अरु छुटे । तर निकुञ्जको सुराकी संयन्त्रले छठु शंकास्पद भएको सूचना दिएपछि उनीमाथि थप अनुशन्धान भएको थियो ।


थप अनुशन्धान हुँदा उनले ७३ सालको जेठमा चितवन निकुञ्जभित्र गैंडा मारेको बयान दिएका थिए । भारतको दोन गाउँ वालमिकी टाइगर रिजर्भसँग जोडिएको छ । छठुले आफूसहित पाँचजना साथी भएर तीन थान बन्दुक र २७ राउन्ड गोली बोकेर गैंडा मार्न निकुञ्ज छिरेको बताएका थिए । वालमिकी आश्रमदेखि उत्तरमा रहेको गजग्राह मन्दिरको सामुन्ने नारायणी नदीदेखि पूर्व कन्हा खोलाको भित्रि भागमा उनीहरुले गैंडा मारेका थिए ।


कुरेर बसेको समयमा बेलुकीपख ब्रम्हमपुर चौरमा गैंडा चर्न निकस्केका बेलामा टाउकोमा ताकेर दुई राउन्ड गोली हानेको छठुको बयानमा उल्लेख छ । गैंडा मरेपछि बञ्चरोले खाग काटेर लगेको उनले बताएका छन् । छठुको बयानका आधारमा निकुञ्जको टोली ब्रम्हपुर चौर पुगेको थियो । त्यो बेला टाउको र अस्थिपञ्जरहरु भेटिएको थियो । निकुञ्जकै टोलीको मुचुल्काका आधारमा छठु र रामालाई सजाय भएको छ ।


खाग किन्ने नै नेपाली

छठुले दिएको बयानमा गैंडा मार्न जानेहरुमा पाँचैजना भारतीय थिए । तर खाग किन्नेहरु नेपाली थिए । गैंडा मारेको एक महिनापछि बुटबलबाट आएका दुईजना महिलाले एक लाख भारतीय रुपैयाँ तिरेर खाग लगेको छठुले बताएका छन् । ती महिलाहरु खाग किन्न छठुकै गाउँमा आएका थिए । निकुञ्जभित्रै आएका बेलामा छठु समातिए पनि उनले गैंडा मार्न र खाग किन्न संलग्न भएको भनेर नाम लिएका अरु पक्राउ परेका छैनन् ।


गैंडा मार्न पहिला पहिला चितवन निकुञ्ज आसपासका गाउँमा बस्ने सोझा व्यक्तिहरु प्रयोग हुन्थे । निकुञ्जदेखि पर पहाडी गाउँमा बस्ने चेपाङहरु पनि चोरी सिकारीको आरोपमा धेरै नै समातिएका छन् । तर नेपाल तर्फ कडाइ हुन थालेपछि तस्करहरुले गैंडा मार्न भारतीयलाई रोज्न थालेको यो घटनाले देखाएको छ ।


सुरक्षा उपस्थिती कमजोर

जहाँ गैंडा मारियो त्यहाँ निकुञ्जको सुरक्षा स्थिती कमजोर रहेको छ । त्यो क्षेत्रमा गैंडा कमै भेटिने गर्दथ्यो । तर चोरी सिकार नै हुन थालेपछि निकुञ्ज प्रशासन बल्ल सक्रिय भएको छ । ‘पश्चिम क्षेत्रमा सुरक्षा पोष्टहरु कम नै थिए । यी मान्छेहरु समातिएपछि सुरक्षा अवस्था संवेदनशिल भएको पाइयो । त्यसपछि हामीले पश्चिम क्षेत्रमा तीन ठाउँ पोष्टहरु थपेका छौं,’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने ।


केही समय अगाडि प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले भैरहवामा पनि गैंडाको खाग बरामद गरेको थियो । चोरी सिकारी सक्रिय नै रहेको आभास निकुञ्ज प्रशासनले गरेको छ । ‘हामीले तत्काल थाहा नपाए पनि, गैंडाको मृत शरिर नभेटे पनि भित्र भित्रै चोरी सिकार हुने गरेको रहेछ । त्यसैले प्रचार प्रसारका लागि मात्रै किन शुन्य सिकार वर्ष मनाउने भन्ने निधोमा म पुगेको छु,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने ।


चितवन निकुञ्जमा कुनै बेला चोरी सिकार निकै फष्टाएको थियो । आर्थिक वर्ष ०५८/५९ मा एकै वर्ष चोरी सिकारीका कारण ३७ वटासम्म गैंडा मरेका थिए । त्यसपछि चोरी सिकार विरुद्ध अभियानहरु सुरु भए । २०६७ सालको पुस १९ यता चोरी सिकारीले गैंडा नमारेपछि ६८ सालको पुस २० गते नेपालमा पहिलो पटक धुमधामसँग शुन्य चोरी सिकार वर्ष मनाइएको थियो ।


निकुञ्जको आधिकारिक विवरणहरुमा उल्लेख भए अनुसार पहिलो शुन्य सिकार वर्ष मनाएपछि त्यही वर्षको चैत्रमा चोरी सिकारीले गैंडा मारेका थिए । त्यसपछि ६९ सालको फागुनमा सिकारीले गैंडा मारे । ७१ सालको बैशाख २० र ७३ सालको चैत्र २६ मा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै जगतपुरको मध्यवर्ती जंगलमा चोरी सिकारीले गैंडा मारेका थिए । मुख्यालय आडैमा सिकार हुँदा टाढा टाढा झनै जोखिम छ ।


‘पश्चिम क्षेत्रमा अझै पनि पोष्टहरु थप्नु पर्ने देखिन्छ । त्रिवेणी आडमा रहेको वालमिकी आश्रम आडमा पोष्ट राख्न अझै सकिएको छैन । अब ति ठाउँहरुमा पोष्ट राख्नै पर्ने भएको छ’ प्रमुख संरक्षण अधिकृत ढकालले भने । गैंडाको नाकमाथि हुने सिग जस्तो अंग खागका लागि तस्करहरुले गैंडा मार्न लगाउँछन् । खागमा औषधिय गुण हुन्छ भन्ने अन्धविश्वासले अन्तर्राष्ट्रिय क्षेत्रमा यसको बजार फष्टाएको छ ।


गैंडा विश्वमा लोप हुन लागेको दुर्लभ वन्यजन्तु हो । नेपालमा ७२ सालको गणना अनुसार ६४५ वटा गैंडा छन् । जसमध्ये सवैभन्दा धेरै गैंडा चितवन निकुञ्जमा छन् । चितवन निकुञ्ज र यस आसपासको जंगलमा ६०५ वटा गैंडा फेला परेका थिए । गैंडा दुर्लभ वन्यजन्तु भएका कारण यसलाई मारेमा र अंगको किनबेच ओसार पसार गरेमा पाँचदेखि १० लाख रुपैयाँ जरिवाना या पाँचदेखि १५ वर्ष कैद वा कैद र जरिवना दुवै सजाय हुन्छ ।


प्रकाशित : मंसिर २६, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?