कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जनकपुर आएर आदित्यनाथले भने– ‘रामले सीतालाई अयोध्या लगेको बाटो अब फोर लेन’

जनकपुुर — भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी राजमार्गले दुई देशबीच धार्मिक पर्यटनको बाटो खुल्ने बताएका छन् । रामले सीतालाई अयोध्या लैजाँदा प्रयोग गरेको यो बाटोलाई फोरलेन बनाउने काम सुरु भएको उनले जानकारी दिए । 

जनकपुर आएर आदित्यनाथले भने– ‘रामले सीतालाई अयोध्या लगेको बाटो अब फोर लेन’

‘रामले सीतालाई जुन मार्गबाट अयोध्या लिएर गएका थिए, त्यसलाई फोर–लेन बनाउने काम सुरु भएको छ,’ राम–सीता विवाह महोत्सवमा बुधबार जन्ती बनेर जनकपुर आएका आदित्यनाथले भने, ‘त्यसको निर्माणपछि जनकपुरबाट ४ घण्टामै अयोध्या पुगिन्छ ।’


उनले पशुपति–काशी र जनकपुर–अयोध्यालाई जोड्ने योजनाअनुसार काम भइरहेको बताए । ‘रामजानकी राजमार्ग यात्राको सुगमताले मात्र होइन, पर्यटन विकासको सम्वाहक पनि बन्नेछ,’ उनले भने, ‘यसले सबैको जीवनमा खुसियाली ल्याउनेछ ।’


उनले जनकपुर, अयोध्या र बनारसलाई सिस्टर सिटी बनाउने योजना सुनाए । ‘अयोध्या आए, वो जनकपुर जाए । जो जनकपुर आए, वो अयोध्या जाए,’ धार्मिक यात्रा अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले भने । उनले रामायण सर्किट र जनकपुर–जयनगर रेलमार्गले पनि धार्मिक पर्यटनलाई सहयोग पुग्ने बताए ।


आदित्यनाथले नेपाल–भारतबीच प्राचीन र गहिरो सम्बन्ध रहेको बताएका छन् । ‘नेपाल–भारतको सम्बन्ध प्राचीन र गहिरो छ,’ उनले भने, ‘हाम्रो सम्बन्ध मूल्यवान छ । धर्म–संस्कृतिले बाँधेको छ ।’


निजी विमानमा बिहान १०:३० बजे जनकपुर उत्रिएका उनी दिनभर तीनवटा कार्यक्रममा सहभागी भएर अपराहन भारत फर्किए । उत्तर प्रदेशका मन्त्री आशुतोष टन्डन पनि सँगै आएका थिए । जानकी मन्दिरमा ३० मिनेट विशेष पूजाअर्चना गरेका आदित्यनाथले त्यहाँ ठूलो संख्यामा उपस्थित हिन्दु धर्मावलम्बीसँगै मन्दिरको परिक्रमासमेत गरेका थिए । उनी मन्दिर परिसर पुगेलगत्तै साधु–सन्तले ‘जय श्री राम’ को नारा लगाए ।


‘जय सीता मइया–जय श्रीराम’ भन्दै नेपाली भाषामै सम्बोधन थालेका आदित्यनाथले राम–सीताको सम्बन्धकै कारण दुई देशबीच सदियौंदेखि भाइचारा स्थापना भएको बताए । ‘जनकपुर र अयोध्याको तीर्थाटन गर्ने सबैको अभिलाषा हुन्छ । मलाई पनि यहाँ आउँदा गौरव महसुस भइरहेको छ,’ उनले भने, ‘नेपाल–भारतको सांस्कृतिक सम्बन्धलाई उचाइमा पुर्‍याएको छ ।’


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरलाई नेपाल–भारतबीचको आदिकालीन सम्बन्ध–सेतुको संज्ञा दिँदै संघीय र प्रदेश सरकार यो सम्बन्ध अझ प्रगाढ बनाउन उन्मुख रहेको बताए ।


‘ऋषिमुनिको स्थल हो जनकपुर,’ उनले भने, ‘जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन हामी प्रयासरत छौं ।’ जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आदित्यनाथलाई नागरिक अभिनन्दन गरेका थिए ।


त्रेतायुगमा राम–सीताको विवाह भएको स्मरणमा हरेक मंसिर शुक्ल पञ्चमीका दिन जनकपुरमा विवाह महोत्सव आयोजना गरिन्छ । यसपालि पनि नेपाल–भारतका हजारौं हिन्दु धर्मावलम्बी राम–सीताको प्रतीकात्मक विवाहमा सहभागी भए ।


राजनीतिक भेटघाट

आदित्यनाथले मधेसकेन्द्रित दलका नेतासँग भेटघाटसमेत गरेका छन् । जानकी मन्दिरमा विशेष पूजाअर्चनापछि प्रदेश सरकारको सचिवालय पुगेका उनले राष्ट्रिय जनता पार्टीको अध्यक्ष–मण्डललाई सामूहिक रूपमा भेटे ।


मुख्यमन्त्री राउतको निवासमा भएको भेटघाटमा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, महन्थ ठाकुर, अनिल झा, महामन्त्री जितेन्द्र सोनल सहभागी थिए । भेटवार्तामा सहभागी एक नेताका अनुसार उनीहरूबीच राजनीतिक गफ भने भएन ।


संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादवले पनि आदित्यनाथसँग भेटवार्ता गरेका थिए । प्रदेश सरकारले आदित्यनाथको सम्मानमा भण्डारा (दिवा भोज) आयोजना गरेको थियो । उनले ५ सय १ जना साधु–सन्तसँगै भोजन गरेका थिए ।

प्रकाशित : मंसिर २७, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?