कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन थान पेस्तोल बुझाएर जनतान्त्रिकका ४ जना सार्वजनिक

देवनारायण साह

मोरङ — अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह)ले सरकारी वार्ता टोलीलाई ३ थान पेस्तोल बुझाएर ४ जना सार्वजनिक भएका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार सार्वजनिक भएका हुन् ।

तीन थान पेस्तोल बुझाएर जनतान्त्रिकका ४ जना सार्वजनिक

सप्तरीको जमुनीमधेपुरा ४ घर भई मोर्चाका अध्यक्ष विवेक भन्ने विनोदकुमार यादव, केन्द्रीय सदस्य सुनसरीको कोसी गाउँपालिका ८ का रामु भन्ने रामनन्दनकुमार कामैत, सप्तरीको गोबरगाढा २ का चन्द्रशेखर भन्ने विनायककुमार यादव र त्रिकौल ४ का जयप्रकाश लिचपुरिया सार्वजनिक भएका हुन् ।


उनीहरूले सरकारी वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेलाई २ थान कटुवा पेस्तोल र १ थान लोकल मेड पेस्तोल बुझाए । कार्यक्रममा वार्ता टोली सदस्य ताराकान्त चौधरी, सुरेश आलेमगर, गृह मन्त्रालयका सह सचिव विश्वराज न्यौपाने, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, सशस्त्र प्रहरी उपरीक्षक मनिष थापा, उप–अनुसन्धान निर्देशक बिमल डंगोल, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ सहभागी थिए ।


उनीहरू जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट छुटिएर पूर्वी मधेसमा सशस्त्र गतिविधि गर्दै आएका थिए । मोर्चाका अध्यक्ष यादवले आफूहरूले खुला राजनीतिमा आएर देश र जनताको सेवा गर्ने उद्देश्यले हतियार बुझाएर सार्वजनिक भएको बताए । उनले यसअघि सशस्त्र राजनीति गरेको आरोपमा सरकारले लगाएका मुद्दाहरू फिर्ता लिनुपर्ने माग गरे । यादवले आफूहरूसँग भएको ३ पेस्तोल बुझाएको र बाँकी हतियार पुस ७ गतेभित्र सङ्कलन गरी बुझाउने बताए ।


संयोजक पाण्डेले विवेक नेतृत्वको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाले हतियार बुझाएर नि:शस्त्र भएको घोषणा गर्नु ठुलो उपलब्धि भएको बताए । ‘यो समूहले हतियार तथा विस्फोटक पदार्थ प्रयोग गरी अब कुनै किसिमको कार्यक्रम तथा घटना नगर्ने वचनबद्धताका साथ सार्वजनिक भएको छ,’ उनले भने, ‘बाँकी हतियार बुझाएपछि उहाँहरूसँग वार्ता गर्छौँ ।’


पाण्डेले सरकारले आफूहरूलाई विगतका शान्ति तथा पून: निर्माण मन्त्रालय र आनन्द ढुंगाना नेतृत्वको वार्ता टोलीले सशस्त्र समूहहरूसँग गरेको वार्तालाई निष्कर्षमा पुर्‍याउन र अझै असन्तुष्ट रहेका राजनीतिक उद्देश्यका सशस्त्र समूह तथा पार्टीसँग वार्ता गर्ने जिम्मेवारी दिएको बताए । ‘हामीले विगतका वार्ता टोलीले वार्ता गरेको र बाँकी राजनीतिक गतिविधि गरिरहेका ४५ समूह सूचीकृत गरी काम थालेका थियौँ,’ उनले भने, ‘सूचीकृतमध्ये २४ समूह मात्रै अस्तित्वमा रहेको हामीले पायौँ ।’


आनन्द ढुंगानाले वार्ता गरेका १८ र नयाँ ४ समूह पहिचान गरी आफूहरूले काम थालेको पाण्डेले बताए । ‘नयाँ ४ वटामध्ये सिके राउत समूह हाम्रो विश्लेषणमा राजनीतिक पार्टीमा परेनन्,’ उनले भने, ‘सिके राउतले देश विखण्डनको मुद्दा लिएर अघि बढेकोले त्यो समूहसँग वार्ता गर्ने हाम्रो कार्यादेशभित्र परेन ।’


नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग अनौपचारिक छलफल चलिरहेको तर वार्ताको वातावरण तयार नभएको पाण्डेले बताए । अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विराटनगरमा बिहीबार र जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) सँग बुधवार सप्तरीको राजविराजमा हतियार बुझेर वार्ताको वातावरण तयार भएको उनले बताए ।


उनले तराईमा सशस्त्र सङ्घर्ष सुरु गरेको जयकृष्ण गोइत वार्ता गर्न चाहेनन् तर उनको कार्य समितिका ११ सदस्यसँग बुधवार राजविराजमा वार्ता गरिसकिएको बताए । ‘अब गोइतसँग रामविलास यादवलगायत ४ जना मात्रै रहेको र रामविलाससँग वार्ताको लागि पहल जारी छ,’ उनले भने, ‘ज्वाला सिंह भन्ने नागेन्द्र पासमानको कुनै स्तित्व नरहेको र हामीले सूचना पाए अनुसार पासमानले अनुहारमा प्लास्टिक सर्जरी गराएर नचिन्ने बनाई भारतमा सामान्य जीवनयापन गरिरहेका छन् ।’


उनले आनन्द ढुंगानाले वार्ता गरेका १८ वटा समूहको ६ सय १ जना विभिन्न मुद्दामा जेलमा रहेको र त्यसमध्ये अधिकांश चोरी, डाँका जस्ता मुद्दामा रहेको बताए । ‘हाम्रो टोलीको म्याद अब १६ दिन मात्रै बाँकी रहेकोले सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेका छौँ,’ उनले भने ।

प्रकाशित : मंसिर २७, २०७५ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?