कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनी मिललाई उखु अभाव

मूल्य निर्धारण नहुँदा मिल सञ्चालनमै समस्या
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको दक्षिणी भेगका दुई चिनी मिल वार्षिक २५ लाख क्विन्टल उखु पेल्न सक्ने क्षमताका छन् । दुवै मिलले आवश्यकताअनुसार उखु पाउन सकेका छैनन् । मिल ढिलो सञ्चालन गरेर चांँडै बन्द गर्नुपर्ने अवस्था छ ।

चिनी मिललाई उखु अभाव

बेलौरी नगरपालिकाको भुडास्थित महाकाली र पुनर्वास नगरपालिकाको भागेश्वर सुगर मिलले स्थापनादेखि यस्तो समस्या भोग्दै आएका छन् । ‘हामीले मिलको क्षमताअनुसार उखु पेल्न कहिल्यै पाएनौं,’ महाकाली सुगर मिलका उखु व्यवस्थापक सीजी पाण्डेयले भने, ‘जहिले पनि एक/डेढ महिनाअघि नै मिल बन्द गर्नुपर्ने हुन्छ ।’


महाकाली सुगर मिलको क्षमता गत वर्षसम्म १८ लाख क्विन्टल थियो । क्षमता वृद्धि गरिएपछि अहिले २५ लाख क्विन्टल पुगेको छ । ‘दैनिक १८/२० हजार क्विन्टल उखु पेल्न सक्ने क्षमता छ, उखु अभावका कारण त्यही अनुपातमा पेल्दै आएका छौं,’ पाण्डेयले भने, ‘अनलाइन भुक्तानी, अग्रिम भुक्तानीलगायतको व्यवस्था गर्दा पनि उखुको उत्पादन वृद्धि हुन सकेको छैन ।’


भागेश्वर सुगर मिलका प्रशासकीय अधिकृत डम्बरबहादुर खड्का पनि उखु अभावले मिलले आफ्नो गतिमा काम गर्नै नपाएको बताउँछन् । ‘गत वर्ष १५ लाख क्विन्टल मात्र उखु पाइयो, यो वर्ष पनि त्यस्तै अवस्था छ,’ उनले भने । खड्काले मूल्य निर्धारण नहुँदा हालसम्म पनि मिल सञ्चालन हुन नसकेको बताए । पर्याप्त मात्रामा उखु प्राप्त भयो भने मंसिरदेखि फागुन अन्तिमसम्म मिल सञ्चालन हुनसक्ने उनको भनाइ छ ।


जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, बेल्डाँडी, पुनर्वास र देखतभुली क्षेत्रमा उखु खेती गरिन्छ । अहिले पनि कृषकहरू परम्परागत बीउ र प्रविधिको प्रयोग गर्छन् । उन्नत जातको बीउ र आधुनिक प्रविधि प्रयोग हुन नसक्दा उत्पादन वृद्धि हुन नसकेको हो । अहिले जिल्लामा ७ हजार हेक्टरमा उखु खेती भइरहेको छ । करिब ३०/३५ लाख क्विन्टल उत्पादन भइरहेको छ ।


चिनी मिलको क्षमतालाई हेर्दा अहिले भइरहेको उत्पादन निकै कम हो । ‘गत वर्ष ३० लाख क्विन्टल उखु उत्पादन भएको थियो,’ उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन राईले भने, ‘यस वर्ष पनि ३५ लाख क्विन्टल हाराहारीमा उत्पादन हुने अनुमान गरिएको छ ।’ उक्त उत्पादनमध्ये केही उखु कोल्हु र खाँडसारी उद्योगमा जाने भएकाले मिलले पाउने उखुको परिमाण यो भन्दा अझ कम हुने राईले बताए ।


‘अब जमिन बढाएर उत्पादन वृद्धि हुन सक्दैन, नयाँ प्रविधि र उन्नत जातको बीउको प्रयोगबाट मात्रै उत्पादन वृद्धि गर्न सकिन्छ,’ महाकाली सुगर मिलका उखु व्यवस्थापक पाण्डेयले भने, ‘सिंँचाइको व्यवस्थापन, मलखादको उचित प्रयोग र गोडमेल तथा लगाउने तरिकामा परिवर्तन गर्न सके मात्रै हामीले आवश्यकताअनुसार उखु उत्पादन गर्न सक्छौं ।’ उनले यसका लागि मिलले उन्नत जातका बीउ ल्याएर किसानलाई वितरण गर्ने, मलखाद र सिँचाइ तथा कामदारको खर्चका लागि अग्रिम भुक्तानी दिने लगायतका कार्यक्रमहरू गरिरहेको बताए ।


मूल्य निर्धारण भएन

सरकारले उखुको मूल्य निर्धारण नगर्दा यस वर्ष अझै सञ्चालन हुन सकेका छैनन् । मिल सञ्चालक र उखु उत्पादक किसानहरू पटक पटक छलफलमा बसेपनि मुल्यका विषयमा सहमति नजुटेको हो ।


त्यहि भएर अन्तिममा सरकारले निर्धारण गरेकै मुल्यमा कारोबार गर्न दुवै पक्ष तयार भएको समितिका कोषाध्यक्ष राइले बताए । गत वर्ष प्रति क्विण्टल ४ सय २० देखि ४ सय ७० सम्मका बिक्रि भएको थियो । यस वर्ष लागत र अन्य खर्चको अनुपातमा बृद्धि हुनुपर्ने कृषकहरू बताउछन् । ‘सरकारले मुल्य निर्धारण नगरेसम्म उखु बिक्रि हुदैन,’ राइले भने ।

प्रकाशित : मंसिर २८, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?