कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुक्त कमैयाको जग्गा दुरुपयोग

मधु शाही

बाँके — सरकारले मुक्त कमैयालाई पुन:स्थापना स्वरूप दिएको जमिन दुरुपयोग भएको पाइएको छ । यसरी प्राप्त जमिनमा घर बनेका छैनन् । कतिपयले बनाएका घर भाडामा दिएका छन् । केही खाली छन् । 

मुक्त कमैयाको जग्गा दुरुपयोग

कोहलपुर नगरपालिका ११, लोकनगर बस्तीमा यस्तो समस्या देखिएको हो । बस्तीमा मुक्त कमैया पुन:स्थापनापछि सरकारले ८ सय ३७ परिवारलाई जग्गा दिएको थियो । अहिले अधिकांश मुक्त कमैयाको जग्गा बाँझो छ । घर सुनसान छन् । ७१ वर्षीय वीरमान थारूको घरवरिपरि जमिन बाँझै छ ।


घर पनि खाली छन् । आफू त्यहाँ बस्न थालेदेखि घर खाली र जमिन बाँझै रहेको उनले बताए । ‘मुक्त कमैया भनेर जमिन पाएँ,’ उनले भने, ‘उनीहरूको आफ्नै घर छ, यहाँ बाँझो राखेका छन् ।’ उनको घरको सामुन्ने १० धुर जमिन खाली छ । त्यहाँ रहेको घर पनि जीर्ण छ ।


‘आँखा अगाडि जमिन खाली छ,’ उनले भने, ‘हामीलाई तरकारी लगाउने ठाउँसमेत छैन । सरकारले छानबिन गर्नुपर्ने हो अहिलेसम्म चुप लागेको छ ।’ जिल्लाको राप्तीपारिबाट आएकी पातली परियार २ वर्षदेखि मुक्त कमैयाको घरमा भाडामा बस्दै आएकी छन् ।


प्रतिमहिना हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको उनले बताइन् । राप्तीपारि रहेको आफ्नै घरमा घरबेटी बस्ने गरेको बताइन् । ‘उनीहरूको उता पनि टन्नै जमिन छ,’ उनले भनिन्, ‘महिना पुगेपछि भाडा लिन आउनुहुन्छ ।’


फलफूल व्यवसायी वीरबहादुर चन्दले पनि १ महिनादेखि मुक्त कमैयाको घरमा भाडामा बस्दै आएको बताए । घरमा ४ कोठा छन् । प्रत्येक महिना घरबेटीले आएर ४ हजार रुपैयाँ मासिक घर भाडा बुझ्ने गरेको उनले बताए । उनका अनुसार सिमलघारी बस्ने घरबेटी मुक्त कमैया भएको दाबी गर्छन् । ‘उता पनि घर छ, यता पनि,’ उनले भने, ‘यहाँका अधिकांश घर भाडामा छन् ।’


बर्दियाकी ७५ वर्षीया काली बस्नेतले बस्तीमा भाडामा बस्दै आएको बताइन् । १३ सय रुपैयाँ भाडा तिरेर ७ महिनादेखि परिवारसहित बसिरहेको बताइन् । यहाँ अहिले वास्तविक मुक्त कमैयाका परिवार थोरै बसिरहेको स्थानीय लाउती थारूले बताइन् । ‘केहीले त जग्गा बेचिसके,’ उनले भनिन्, ‘कोही घर बनाएपछि फर्केर आएका छैनन् ।’


नगरपालिकाको ११ नम्बर वडाका अध्यक्ष कर्णबहादुर थापाका अनुसार यहाँ तत्कालीन सरकारले ८ सय ३७ मुक्त कमैयालाई जग्गा वितरण गरेको थियो । अहिले यहाँ ऐलानी जग्गाको बसोबाससमेत जोडिएर ९ सय संख्या पुग्न आँटेको उनले बताए । मुक्त कमैयाका जग्गा लुकिछिपी खरिद–बिक्री भइरहेको उनले बताए । ‘वास्तविक मुक्त कमैया विस्थापित हुन थाले,’ उनले भने ।


छिट्टै छानबिन समिति गठन गर्न नगरपालिका र भूमिसुधार कार्यालयसमक्ष अनुरोध गरेको उनले बताए । नगरपालिका प्रमुख लुटबहादुर रावत मुक्त कमैयाको जमिन हिनाहिना भएको स्विकार्छन् । ‘मुक्त कमैयाको जमिनमा आँखा लगाउने दलाल बढे’, उनले भने, ‘अधिकांशले कपाली कागज बनाएर जमिन खरिद गर्ने रहेछन् ।’ निश्चित रकम ऋण दिने । तिर्न नसकेपछि ब्याज बढाएर कपाली तमसुक बनाएर मुक्त कमैयाको जमिन खरिद गर्ने प्रवृत्ति देखिएको नगरप्रमुखले सुनाए ।


‘हामीले भूमि सुधार कार्यालयलाई वास्तविक मुक्त कमैयाबाहेक सबैलाई हटाउन भनेका छौं,’ उनले भने, ‘हामी समिति बनाएर छानबिन गर्ने सोचमा छौं ।’ भूमि सुधार कार्यालयले जिल्लाभर २ हजार २ सय ६६ मुक्त कमैया परिवार रहेको जनाएको छ ।


कार्यालयका खरिदार भक्तबहादुर नेपालीले लोकनगरमा मुक्त कमैयाको जमिन व्यापक दुरुपयोग भएको सुनेको बताए । यसको छानबिन गर्न भूमि सुधारले नगरपालिका र स्थानीयसँग साझेदारी गरिरहेको बताए । ‘छिट्टै परिणाममुखी बनाउँछौ,’ उनले भने, ‘जसको जमिन उसैको बास हुनुपर्ने हो ।’

प्रकाशित : मंसिर २८, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?