कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

३३ वर्षदेखि सडक अधुरै

मोहन शाही

(डोटी) — जिल्लाको आधा भू–भागका बासिन्दा लाभान्वित हुने बोगटान सडक सरकारी बेवास्ताले अलपत्र परेको छ । सडक शिलान्यास भएको ३३ वर्ष बित्दा पनि अझै पूरा हुन सकेको छैन ।

३३ वर्षदेखि सडक अधुरै

डोटीको पूर्वी तथा दक्षिण क्षेत्रका बासिन्दाको आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको यो सडकले कैलालीका तत्कालीन २ र डोटीका १७ गाविसका बासिन्दालाई जोड्छ ।


कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका हुँदै बोगटानको सिमचौर भएर दिपायल जोड्ने उक्त सडकको ०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत डोटीका सभापति भरत बहादुर खडाले शिलान्न्यास गरेका थिए । अहिले प्रदेश सांसद रहेका खडाले सरकारकै उदासिनताका कारण सडक अलपत्र भएको बताए ।


केन्द्रीय योजनामा परे पनि न्युन बजेटका कारण सुस्त काम हुँदै आएको बोगटान सडक पछिल्लो समय प्रदेश सरकारको प्राथमिकतामा पनि परेको छैन । चालु आर्थिक बर्षबाट प्रदेश तथा संघिय सरकार कतैबाट बजेट बिनियोजन नहुँनु दुखद रहेको सांसद खडाले बताए । ०४२ सालदेखि यो सडक प्रत्येक निर्वाचनका बेला चुनावी नारा भए पनि जितिसकेपछि कसैको चासो जान सकेको छैन ।


प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्वाचन क्षेत्र रहे पनि यो प्रदेश सरकारको प्राथमिकतामा पारेको छैन । ‘धनगढी–बिपीनगर–दिपायल दु्रतमार्गलाई प्रदेश सरकारले नै प्राथमिकतामा राख्ने हो’ मुख्य मन्त्री भट्टले भने, ‘बोगटान सडक केही बर्षभित्रै सम्पन्न गर्न संघ र स्थानीय तहसँग समन्वय भइरहेको छ ।’


कैलालीको सहजपुरदेखि बडीकेदार गाउँपालिका–५ केदारमाण्डौसम्मको ७० किलोमिटर ट्रयाक खोलिएको छ । कच्ची सडक भएर सहजपुरबाट ५७ किलोमिटरसम्म अहिले बस सञ्चालन भइरहेको स्थानीय नेता भैरब साउँदले बताए । उनले दिपायलदेखि सिमचौरसम्म अर्को ट्रयाक खोलिएको जानकारी दिए । ‘उत्तरतर्फ दिपायलदेखि सिमचौरसम्म तथा दक्षिण सहजपुरदेखि लानाको धारीसम्म गतबर्ष मुस्किलले ट्रयाक खुलेको छ’, साउँदले भने, ‘लाना र सिमचौर छिडीखानको मुख जोड्न अझै १६ किलोमीटर ट्रयाक खुलेकै छैन ।’


बोगटान र बडीकेदार गाउँपालिका कृषि उत्पादनका लागि सुदूरपश्चिममै अग्रणी क्षेत्र हुन् । ‘बोगटान क्षेत्रमा उत्पादन हुने सुन्तला, केरा, तरकारी, घ्यू, मह, चुक, खसीबोका, कुखुरा, जडीवुटी सडकका कारण समयमै अन्य ठाउँमा पठाउन नसक्दा बार्षिक करिव ५० करोड बराबरको कृषि उपजले उपयुक्त बजार पाउन सकिरहेको छैन,’ अगुवा किसान ध्वज देउवाले भने, ‘बनाइएको ५७ किलोमिटर सडक पनि नियमित रुपमा संचालनका लागि सडक कार्यालयमा धाउदा बजेट अभाबका कारण नबन्ने जवाफ आउछ ।’ सडक नहुँदा सय देखि १ सय २० रुपैयाँ बजार मुल्य रहेको सुन्तला २५/३० रुपैया प्रति किलोमा बेच्न बाध्य हुनु परेको छ । अदुवा ३० देखि ३६ रुपैयाँ प्रतिकिलोमा किसानहरूले बेचिरहेका छन् । सडक नहुँदा किसानबाट सस्तो मुल्यमा बिचौलियाहरुले खरिद गरेर फाइदा उठाइरहेको बडीकेदार गाउँपालिका मान्नाकापडीका खडक मौनीले दुखेसो गरे ।


बोग्टान–दिपायल सडक खण्डको निर्माणका लागि डोटीको विपीनगरमा स्थापित सडक विभागको कार्यालय द्वन्द्वकालबाट विस्थापित छ । बोग्टान–दिपायल सडक खण्डको बजेट केही वर्ष यतादेखि घटेकाले बनेको बाटो समेत वर्षायामपछि बन्द हुने अवस्था सृजना हुने त्रास स्थानीय कृषकमा देखिएको छ । अर्को महत्वकांक्षी कैलालीको खुटिया–विपीनगर–गडसेरा–दिपायल सडकको निर्माण पनि सुस्त गतिमा छ ।


बोगटान सडकमा पछिल्लो समय लाइन अफ क्रेडिटबाट दुई अर्बको लगानीमा स्तरोन्नोतीका लागि काम अघि बढाउने बताए पनि अझै काम छिटो भएको छैन । पछिल्लो समय सो सडकमा वार्षिक ८/१० लाख मात्र विनियोजन हुदै आएको सडक डिभिजनका ईन्जनियर महानन्द जोशीले बताए । दिपायलदेखि केआईसिंह गाउँपालिकाको रानागाउँसम्म १० किलोमिटर कालोपत्रे गर्ने काम अघि बढिरहेको छ ।


बोगटान सडकको झण्डै ५० किलोमीटर लम्बाई ग्रामिण पहुँच बिकास केन्द्र नामक परियोजनाले ट्रयाक खोल्नेदेखि स्तरोन्नतिको काम गरेको भए पनि सडक डिभिजन अन्तर्गतबाट हुनु पर्ने काम भने सुस्त रहेको बडीकेदार गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिसागर बिनाडीले बताए ।

प्रकाशित : मंसिर २९, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?