कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कांग्रेस महासमिति बैठक : राजनीतिक प्रस्तावमा प्रदेशगत छलफल

काठमाडौँ — आन्तरिक विभाजनले पार्टी खुम्चिएको भन्दै कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिल्न दबाब दिएका छन् ।

कांग्रेस महासमिति बैठक : राजनीतिक प्रस्तावमा प्रदेशगत छलफल

महासमिति बैठक उद्घाटन सत्रमा शनिबार नेताहरूले एकजुट भएर पार्टी अघि बढाउन नेतृत्वलाई सचेत गराएका हुन् ।


केन्द्रीय सदस्य विजय गच्छदारले देउवा र पौडेललाई आपसमा हात उठाएर एकताको सन्देश दिन बाध्य बनाए । उनको आग्रह मान्न पौडेल केहीबेर हच्के पनि । सुरुमा सभापति देउवा उठेर हात हल्लाए । उनी बसे अनि पौडेल उठेर त्यसैगरे । तर महासमिति सदस्य र उपस्थिति नेता–कार्यकर्ताले चित्त बुझाएनन् ।


मञ्चमै रहेका उपसभापति विमलेन्द्र निधिले दुवैलाई आपसमा हात समाएर उठाउन फेरि आग्रह गरे । देखावटी रूपमै भए पनि दुवै नेताले गच्छदारको आग्रह पूरा गरे । बोल्दा भने अविश्वास कायमै राखे । पार्टीको विधान, संघ, प्रदेश र स्थानीय तहमा भएका निर्वाचनमा पार्टीको हार, पार्टी सञ्चालनको कार्यशैलीलगायत सवालमा विभाजित मानसिकताका साथ नेताहरू महासमिति बैठकमा पुगेका थिए ।


पौडेलले आफूले हात उठाउन अप्ठ्यारो मान्नुको कारण बताए । पार्टी एकताका लागि पटक–पटक यसरी हात उठाउँदै आएको, तर हलबाहिर गएपछि पुरानै छिर्के दाउ खेल्ने काम हुँदै आएको गुनासो गरे ।

‘किसुनजी र गिरिजाबाबुले पनि पोखरामा यसरी नै हात मिलाउनु भो । तर पछि के भयो ? पार्टी दुर्घटनामा पर्‍यो,’ उनले भने, ‘यसरी हात उठाउने एउटा सेन्टिमेन्टल कुरा हो । मौखिक रूपमा भएका एकता बाहिर गएपछि बिर्सिन्छन् । वास्तविक एकता मुद्दा र कार्यक्रममा गरिनुपर्छ ।’


सभापति देउवाले प्रस्टीकरण दिएजसरी धारणा राखे । ‘गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जुन कारणले पार्टी छाडेर जानुपर्ने अवस्था बन्यो, त्यस्तो अवस्था आउन दिन्नँ,’ उनले भने ।


पार्टी केन्द्रीय कार्यालयमा दुवै नेताले एउटै प्लेटमा खाजा बाँडेर खानेसम्मको मायाप्रेम आफूले देखेको प्रसंग जोडदै गच्छदारले उद्घाटन सत्रमै हात मिलाएर एकताको सन्देश दिन आहवान गरेका थिए । ‘हामी पार्टीभित्रका धेरै विवाद र फुटबाट गुज्रिएर यहाँसम्म आइसकेका छौं । २०५२ मा पार्टी यसरी नै पराजित हुँदा गिरिजाबाबुले किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरेर एकताको सन्देश दिनुभयो, जसको परिणाम ०५६ मा पार्टीले बहुमत ल्यायो, अहिले त्यसो किन गर्न नसक्ने ?’


‘भर्खरै जुंगाको रेखी बसेदेखि, जेलनेल, दु:खकष्ट र संघर्ष सँगै गरेका छौं, जवानी दिएका छौं भने मिल्न नसक्ने प्रश्नै छैन । तर म अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ भनेजस्तै भएको छु । वास्तविक एकता न्याय, निष्पक्षता, पारदर्शिता र साझेदारीबाट सहमति भएपछि मात्रै सम्भव हुन्छ,’ पौडेलले भने ।


मिल्नका लागि मञ्चबाटै प्रस्ताव महामन्त्री शशांक कोइरालाले राखेका थिए । ‘पार्टी सभापति र वरिष्ठ नेताले यही महासमितिमा एकताको वातावरण निर्माण गर्न सम्पूर्ण तागत लगाउनुहोस्,’ उनले भने, ‘त्यसका लागि मैले कहाँनेर कस्तो भूमिका निर्वाह गर्नुपर्छ, अग्रसर रहनेछु ।’


उनले पार्टीको बृहत् हितका लागि स्वार्थ त्याग्न आग्रह गरे । ‘बीपीको नाम ओहदाबाट होइन, योगदानबाट स्मरण गरिन्छ,’ उनले थपे, ‘यो अवसरलाई प्रयोग गरेर कसरी पार्टीलाई एकतासाथ डोर्‍याउन सकिन्छ भन्नेमा योगदान गरौं ।’


अर्का उपसभापति निधिले पनि दुई नेताको एकताका लागि जोड दिए । ‘दोषारोपण गर्दै जाने हो भने कहीँ पुग्न सकिन्नँ,’ उनको भनाइ थियो, ‘गच्छदारजीले भनेजस्तै म पनि त्यसैगरी मिल्न आग्रह गर्छु ।’ लगत्तै पौडेलले थपे, ‘गच्छदारजीले भन्दा त पत्याएको थिइनँ, विमलजीले नै भनेपछि अलि विश्वास लागेको छ ।’


उनले देउवाप्रति लक्षित गर्दै अति भोगको राजनीति त्याग्न आग्रह गरे । ‘त्यागले मानिस देउता बन्छ, भोगले बन्दैन । असीमित भोगी नबनौं,’ उनले थपे, ‘पार्टी, प्रजातन्त्र र राष्ट्रलाई मैले कहिल्यै जोखिममा पारेको छैन । आफूलाई जोखिममा राखेर त्याग गरेको छु, त्यस्तै त्यागको भावना नराख्ने हो भने हात उठाएर मात्रै एकता हुन सक्दैन ।’ कार्यक्रमको सुरुमै काठमाडौं कांग्रेसका सभापति सवुज बानियाँले त्यागको राजनीति गरेर अमर रहेका गणेशमानको स्मरण गर्दै त्यस्तै सन्देश दिन नेताहरूलाई आग्रह गरेका थिए ।


लिखित मन्तव्य पढेका देउवाले त्याग र पार्टी एकताबारे उठेका प्रसंगलाई खासै महत्त्व दिएनन् । आफूविरुद्धको आलोचना बढी भएकोमा असन्तुष्टि पोखे । ‘मेरो विरोध कति गर्नुहुन्छ गर्नुहोस्, तर माधव नेपालले भन्दा बढी केपी ओलीको विरोध पनि गर्नुहोस्,’ उनले भने, ‘मेरोविरुद्ध बोल्न तपाईंहरूलाई खुला छ, शेरबहादुर ठीक छैन भन्न पनि पाउनुभएको छ । तर ओली ठीक छन् त ? ओलीका विरुद्ध मविरुद्ध बोलेजस्तो बोल्न सक्नु हुन्छ ?’ देउवाले महासमिति बैठकलगत्तै पार्टीलाई पुनर्जीवन दिने कार्यक्रम र सांगठनिक सुधारका काम हुने बताए ।


अर्का महामन्त्री पूर्णबहादुर खड्काले पार्टी एकताका लागि आफैंबाट सुधार गर्न आवश्यक भएको बताए । ‘पार्टीभित्र गुट/उपगुट छन्, एकले अर्कोलाई देखाउने हैन, पहिला आफैंबाट सच्चिन आवश्यक छ,’ उनले भने ।


महासमिति तयारी सिलसिलामा मंसिर ९ देखि बस्दै आएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू आरोप/प्रत्यारोप गर्दै आएका थिए । निर्वाचन पराजयलाई सभापतिले नैतिक जिम्मेवारी लिन अस्वीकार गर्दै आएको विषयले एक वर्षयता पार्टीभित्र विवादको मुद्दा बन्दै आएको छ । पछिल्लो पटक विधान संशोधन र नेतृत्वको कार्यशैली मुद्दा बनेको छ ।


०४८ यताका ६ वटा संसदीय चुनावमा पार्टीले एक पटक जित्ने, एक पटक हार्ने इतिहास रहेको उल्लेख गर्दै देउवाले अबको निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । चुनाव हार्नुका पछाडि पार्टीभित्रको आन्तरिक विभाजन, अन्तर्घात र वाम गठबन्धनको एकतालाई मुख्य कारण भन्दै उनले आफ्नो कमजोरी खोतल्न चाहेनन् ।


‘निर्वाचन भएको १३ महिना बितिसक्यो, अझै हारको समीक्षा गरेर बस्ने कि अघि बढ्ने ?,’ उपसभापति निधिले थपे, ‘म किन हारे ? रामचन्द्रजी किन हार्नुभयो ? हार्नेले भन्न सक्छ । अरूले भन्न सक्दैन । त्यसैले हारको समीक्षा आफैंमा गरेर अर्को चुनाव जित्न लाग्याैं । हार भयो भन्दैमा सबै गुमेको छैन । अब आउने चुनावमा बहुमत कसरी ल्याउने भन्नेमा जुटौं ।’


पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई बीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसादजस्ता नेताले नेतृत्व गरेको पार्टी हो भन्ने बनाउन र आउँदो चुनावमा थप हुने ४० लाख नयाँ मतदातालाई पार्टीप्रति आकर्षित गर्न महासमिति बैठकले आवश्यक कार्यक्रम र योजना ल्याउन सक्नुपर्ने बताए ।


अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झगडाको मूल रोग क्रियाशील सदस्यता वितरण र नवीकरणदेखि सुरु हुने भन्दै त्यसलाई वडा र क्षेत्रीय तहमै टुंग्याउने प्रणाली बसाल्नुपर्ने बताए । पूर्वसभामुख तारानाथ रानाभाटले पार्टी ५ वटा गुटबाट सञ्चालन भइरहेको भन्दै त्यसलाई महासमिति बैठकले नास गर्नुपर्ने बताए ।


कार्यक्रममा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी सभापति देउवाप्रति बढी आक्रोशित देखिए । ‘पार्टीलाई हुकुमी, स्वेच्छाचारी र हाकिमीपाराले चलाउन पाइँदैन, व्यक्ति नभएर विचार, शक्ति नभएर सत्यलाई साथ दिएर पार्टी चलाउनुपर्छ ।’

प्रकाशित : पुस १, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?