कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनास्वीकृति बुद्धमूर्ति 

मनोज पौडेल

कपिलवस्तु — जगदीशपुर तालको बीचमा बिनास्वीकृति बुद्धमूर्ति राखिने भएको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी वा साइट म्यानेजमेन्ट योजना नबनाई मूर्ति बनाउन पाइँदैन ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत तालमा भौतिक संरचना निर्माण गर्दा वन विभागको स्वीकृति लिनुपर्छ । तर कुनै पनि प्रक्रिया नपुर्‍याई जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चले मूर्ति बनाउने काम अघि बढाउन लागेको हो ।


रामसार क्षेत्रमा सूचीकृत स्थानमा काम गर्दा रामसारबाट अनुमति लिनुपर्छ । रामसार राष्ट्रिय रूपमा राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभाग प्रतिनिधि हो । जिल्लामा भने स्थानीय प्रतिनिधि वन डिभिजन कार्यालय हो । निर्माणका लागि स्वीकृति नै नलिएको संस्थाले जिल्ला वन अधिकृत ईश्वरीप्रसाद पौडेलको उपस्थितिमा मूर्ति बनाउने निर्णय गरेको हो । निर्णयमा उनीसहित सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठ, वाणगंगा सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय प्रमुख रामकृष्ण घोरासैनीले पनि हस्ताक्षर गरेका छन् ।

‘विगतमा पनि तालमा बुद्धमूर्ति बनाउने भनेर प्रजिअ र डीएफओलगायतका सरकारी अधिकारीको बैठकले पटक–पटक निर्णय गरेको पाएँ,’ पौडेलले भने, ‘त्यसकारण ठीकै होला भन्ने लाग्यो । तालका बारे बनाइएको व्यवस्थापन योजना कहींकतै भेटिएन ।’ मञ्चसँग भएको योजनाको पनि म्याद सकिएको फेला परेपछि विभागसँग सल्लाह गरेर बुझ्ने क्रममै रहेको उनले बताए । वन विभागले भने कुनै पनि किसिमको अनुमति नलिएको स्रोतले बतायो ।


अल्पमतको निर्णय

मञ्चको मंसिर २१ गतेको बैठकले तालमा बुद्धमूर्तिलगायतका पूर्वाधार बनाउने निर्णय गरेको थियो । वन र सिँचाइ डिभिजनमार्फत प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलयमा निर्णय पठाइएको छ । ११ सदस्यीय समितिमा मञ्चका पदाधिकारी रहेकामा निर्णय पुस्तिकामा ५ जनाको मात्र हस्ताक्षर छ । अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ३ सदस्यले मात्र हस्ताक्षर गरेका छन् ।


प्रदेशको लगानी

जगदीशपुर तालका लागि चालु आवमा प्रदेश सरकारले २ करोड र संघीय सरकारले १५ लाख रुपैयाँ विनियोजन गरेका छन् । सोही बजेटअनुसार काम गर्न मञ्चको बैठक बसेर योजना माग गरेको हो । ताल आसपास भवन, जैविक विविधता पार्क र टावर निर्माण गर्ने माग छ ।


त्यस्तै तालको बीचमा ६० फिट बुद्धमूर्ति बनाउने पनि तयारी छ । मूर्तिका लागि तालको मध्यभागमा ७० फिट गोलाइको माटोको ढिस्को गत जेठमै बनाइएको थियो । ढिस्को जमिनको सतहदेखि १० फिट उचाइमा छ । त्यसमा उक्लिन उत्तर र दक्षिणबाट पक्की सिँढी बनाइएको छ ।


‘मूर्तिकार आएर हेरेर गइसके,’ कपिलवस्तु नगरपालिका ९ का वडाध्यक्ष शिवबहादुर वाग्लेले भने, ‘हामी जसरी पनि मूर्ति राखेरै छाड्छौं ।’ प्रदेश सरकारले ताललाई प्रदेश ५ कै उत्कृष्ट गन्तव्य बनाउने घोषणा गरेको छ ।


यो ताल सन् २००३ मा विश्व सिमसारमा सूचीकृत भएको थियो । जैविक विविधता, सिमसार र चराका कारण महत्त्वपूर्ण मानिएकाले स्वीट्जरल्यान्डमा रहेको रामसार सचिवालयले सूचीकृत गरेको हो ।

खासगरी पानी चरा जाडो छल्न हिउँदयाममा नेपाल आउँछन् । साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्कमिनिस्तान र किर्गिस्तानलगायतबाट चरा यहाँ आउने गर्छन् ।


प्रत्येक वर्ष संख्या बढ्नुले तराईमा जगदीशपुर उपयुक्त बासस्थल बनेको थियो । १ सय ५७ हेक्टरमा फैलिएको तालमा विगत ५ वर्षदेखि चरा आवागमन बढ्दै आएको छ । यो कृत्रिम रूपमा बनेको मुलुकको सबैभन्दा ठूलो ताल हो । तालमा १ सय ६७ प्रजातिका चरा पाइन्छन् । सिँचाइ प्रयोजनका लागि बनाइएको ताल पछि गएर सिमसार क्षेत्र बनेको थियो ।

प्रकाशित : पुस १, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?