कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी महिलाको हेलिकप्टरबाट उद्धार

अर्जुन शाह

धनगढी — बाजुराको काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई आइतबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । सदरमुकाम मार्तडीदेखि दुई दिनको दूरीमा पर्ने साविकको खप्तड छेडेदह गाउँपालिका १ जारिमतोला काँडा घर भएकी रामकला नेपालीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्‍याइएको हो ।

चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी महिलाको हेलिकप्टरबाट उद्धार

विपन्न परिवारकी रामकलाका श्रीमान् कामको सिलसिलामा भारतमा छन् । सुत्केरी व्यथा लागेपछि चार दिनअघि नै स्वास्थ्य चौकीमा भर्ना भएकी नेपालीलाई प्रसूतिमा कठिनाई भएको भन्दै स्वास्थ्यकर्मीहरुले रिफर गरेका थिए । ‘हामीबाट सम्भव नहुने भएपछि रिफर गरिसकेका थियौ’ स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले परिवारले बाहिर लैजान सकेका थिएनन् ।’


सुत्केरी हुन नसकेर रामकलाको ज्यान जोखिममा पर्दै गएपछि स्थानीय रेडक्रसका प्रतिनिधिको सक्रियतामा प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहलाई गुहारेका थिए । मन्त्री शाहले सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी सिम्रिक एयरको हेलिकोप्टरबाट सुत्केरीको उद्धार गराएका हुन् । ‘आन्तरिक मामिला मन्त्री रहेका शाह बाजुराबाटै प्रतिनिधित्व गर्ने भएकाले हारगुहार गर्न सजिलो भयो’ रेडक्रसको काँडा उपशाखाका सभापति स्थानीय जनकबहादुर सिंहले भने ‘चार दिनदेखि छट्पटाइरहेकी गर्भवतीलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।’


रामकलाको २० वर्ष नपुग्दै विवाह भएको थियो । उमेर नपुगी बच्चा जन्माउँदा जोखिम हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले दुर्गम पहाडी जिल्लामा अप्ठेरोमा परेका गर्भवतीहरुलाई हवाई माध्यमद्वारा उद्धार गर्न वार्षिक बजेटमै एक करोड विनियोजन गरेको छ । यसअघि बाजुरा र बझाङका २ गर्भवतीलाई हवाई माध्यमद्वारा उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।


सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङका धेरैजसो गाउँबस्ती सडक यातायातको पहुँचबाट टाढा छन् । विकट गाउँबाट साविकका गाविसमा रहेका स्वास्थ्य चौकीसम्म पुर्‍याउन पनि घण्टौंसम्म डोकोमा बोकेर हिँड्नुपर्ने बाध्यता छ । बाजुरा जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले प्रसूतिसम्बन्धी अप्ठेरो परे उपकरण र दक्ष चिकित्सक अभावमा उपचार कठिन हुने बताए ।


प्रकाशित : पुस १, २०७५ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?