कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

बिहे भोज खाएर सुतेका तीन जना मृत भेटिए

हरि गौतम

रुकुम पश्चिम — बिहेको निमन्त्रणा मान्न पुगेका तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती मृत्यु भएको हो ।

बिहे भोज खाएर सुतेका तीन जना मृत भेटिए

सानी भेरी गाउँपालिका–९, मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका ५४ वर्षीय कमानसिङ सार्की र मुसिकोट नगरपालिका–१२, नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


आइतबार बिहेको भोजसहित मदिरा सेवन गरेर बिहे भएकै घरमा सुतेका उनीहरू सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । विषाक्त रक्सी सेवन गरेका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताए ।


‘घटनाबारे जानकारी आएलगत्तै डाक्टरको टोलीसहित म घटना स्थल पुगेको छु,’ डिएसपी खड्काले टेलिफोनमा भने, ‘मृतकहरूले बिहे घरमा व्यवस्था गरिएको भन्दा छुट्टै रक्सी सेवन गरेको पाइएको छ ।’


सोमबार बिहानै वडा अध्यक्ष प्रेम ओलीले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । एउटै कोठामा सुतेका पाँच मध्ये तीन जनाको मृत्यु भएको हो । ती तीन जनाले सेवन गरेको रक्सी र अरू दुई जनाले सेवन गरेको रक्सी फरक फरक पाइएको पनि डिएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : पुस २, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?