कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन

काठमाडौँ — पूर्व प्रधानमन्त्री एवं मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ। कलेजोको क्यान्सरबाट पीडित गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन

कलेजोको क्यान्सरले पीडित उनी केही दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट घर लगिएको थियो । नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्रीसम्म भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।


सिराहमा जन्मिएका गिरीले सुरुवाती राजनीति नेपाली कांग्रेसबाट गरेका थिए । उनी नेपाली कांग्रेसको महामन्त्री पनि भएका थिए । २०१७ साल पुष १ मा राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई पदच्यूत गर्दै पञ्चायती व्यवस्था लागु गरेसँगै डा. गिरी पुष १३ गते नै परराष्ट्रमन्त्री नियुक्त गरेका थिए ।

त्यसपछि २०१९ साल असार १८ गते उनी पहिलोपटक मन्त्रीपरिषद उपाध्यक्षमा नियुक्त भएका थिए । उनी उपाध्यक्ष हुँदा सुर्यबहादुर थापा अर्थमन्त्री थिए । सोही वर्षको चैत २० मा भने उनी मन्त्रिपरिपदको अध्यक्षमै बढुवा भएका थिए ।


फाइल तस्बिर ।


राजा विरेन्द्रले डा. गिरीलाई २०३२ साल मंसिर ५ गते भने प्रधानमन्त्री कै जिम्मेवारी सुम्पिएका थिए । उनी २०३४ सालसम्म प्रधानमन्त्री रहेर काम गरेका थिए ।


नेपालमा राजा विरेन्द्रको पालामा बहुदल आएसँगै उनी देश छाडेर श्रीलंका गएर बसोबास गर्न थालेका थिए । उनले क्रिश्चियन धर्म अंगालेकाले पनि श्रीलंका र भारतमा केही समय बिताएका थिए भनेर पनि भन्ने गरिन्छ ।


फाइल तस्बिर ।

२०५९ सालमा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम घोषणा गरी प्रधानमन्त्रीबाट हटाएर सत्ता आफ्नो हातमा लिएपछि ज्ञानेन्द्रकै आग्रहमा उनले नेपाल फर्किएर २०६१ सालको फागुनमा किर्तिनिधि विष्टको साथमा मन्त्रीपरिषदको उपध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

डा. गिरीको निधन प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै समवेदना प्रकट गरेका छन् ।


यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ट्वीट गर्दै डा. गिरीको निधन प्रति शोक व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि ट्वीट गर्दै उनकाे निधनमा शोक व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले डा. गिरीको निधनप्रति दु:ख व्यक्त गरेका छन् । एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष थापाले डा. गिरी निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता भएको व्यक्ति भएको बताएका छन् । 'आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा.गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन,' उनले वक्तव्यमा उल्लेख गरेका छन्, 'उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ ।'



प्रकाशित : पुस ३, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?