कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३१

नेकपा बैठकमा ओलीको ‘डिफेन्स’: नेताहरुको योगदानलाई नबिर्सौं

नेताहरु भीम रावल र योगेश भट्टराईले भने सरकार र पार्टी नेतृत्वको कडा आलोचना गरेका थिए ।
दुर्गा खनाल

काठमाडौँ — नेकपाको जारी स्थायी समिति बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि नेताहरू दुईधारमा विभाजन भएका छन् । सोमबारको बैठकमा बोल्ने अधिकांश ओली र दाहालको आलोचना गरेका थिए भने मङ्गलवारको दृश्य अलिक फरक देखियो ।

नेकपा बैठकमा ओलीको ‘डिफेन्स’: नेताहरुको योगदानलाई नबिर्सौं

ओली निकट नेताहरूले प्रतिवेदनको रक्षा गर्दै आलोचनाले मात्र कहीँ नपुर्‍याउने धारण राखे । ओली र दाहालको शान्ति प्रक्रियादेखि संविधान निर्माण र कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार बनाउनेलगायतका भूमिकालाई कसैले नजर अन्दाज गर्न नसक्ने उनीहरुको भनाई थियो । नेताहरू शङ्कर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, केशव बडाल, सोमनाथ प्यासी, सत्यनारायण मण्डलले सरकार र पार्टीको कामको प्रतिरक्षा गरे । उनीहरूले केही कमी कमजोरी भए सच्चाउन सकिने तर नेतृत्वलाई आलोचना गरेर मात्र कहीँ नपुगिने धारणा राखे ।

प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका नेता शङ्कर पोखरेलले मुख्य नेताहरूको भूमिकाको कदर गर्न आग्रह गरे । कतिपय नेताहरूले मुख्ममन्त्रीलाई प्रदेश इन्चार्ज बनाएको विषयलाई लिएर पार्टीभित्र आपत्ति जनाइरहेका छन् । ‘केही नेताहरूले काम ओभरलोड भयो भन्नुभएको छ, यदि त्यस्तो लाग्छ भने म मुख्यमन्त्री छोडेर पार्टीको काम गर्छु’ नेता पोखरेलले बैठकमा भने । मुख्यमन्त्री भन्दा पार्टी काम आफ्ना लागि महत्त्वपूर्ण भएको उनको धारणा थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेको पृथ्वी सुब्बा गुरुङले पनि नेताहरूको भूमिका ऐतिहासिक रहेको उल्लेख गरे । पार्टी एकता गर्नेसम्मको भूमिका निर्वाह ओली र दाहालले गरेकाले काम गर्दा केही कमजोरी भए त्यसलाई सुधारेर जान सकिने आलोचनाले मात्र कहीँ नपुर्‍याउने उनको धारणा थियो ।


अर्का नेता केवश बडालले नेतृत्वले केही गरेन भनेर निराशाको खेती नगर्न आग्रह गरे । ‘संविधान निर्माणदेखि शान्ति प्रक्रिया यति सरल ढङ्गले समाधान गर्ने मुख्य नेता उहाँहरू नै हो’ नेता बडालले भने, ‘उहाँहरूको भूमिका बिर्सनु भएन ।’ सर्वत्र निराशा छाइरहेका बेला यही सरकारले विकास निर्माणलगायतका विषयमा आशा जगाउने, विदेशीइरहेका युवालाई आकर्षण गर्न खोजिरहेको उनको धारणा थियो । यस्ता काम गर्दा केही कमजोरी भएका भए त्यसलाई सच्चाउने ठाउँ रहेको उनको धारणा थियो । पार्टी एकतालगायतका काममा केही ढिलाइ भएकाले अब त्यसलाई छिटो टुंग्याउनु पर्ने उनको धारणा थियो ।


रावल र भट्टराईले गरे तीव्र आलोचना


बैठकमा स्थायी समिति सदस्य भीम रावल र योगेश भट्टराईले भने ओली र दाहालको कार्यशैलीको तीव्र आलोचना गरे । रावलले आफ्नो छुट्टै लिखित धारणा समेत नेताहरूलाई वितरण गर्दै सरकारले र पार्टीले विभिन्न विषयहरूमा गम्भीर गल्ती गरिरहेको उल्लेख गरेका छन् । नेता रावलले सरकार र पार्टीको विषय छुट्टाछुट्टै कार्यसूचीमा राखेर अलग अलग छलफल गराउन मागसमेत गरे ।

उनले सचिवालय गठन गर्दादेखि अपारदर्शी काम भइरहेको आरोप लगाएका छन् । त्यस्तै सरकारले हालै सम्पन्न एसिया प्यासिफक सम्मेलनमा जनाएको सहभागिताप्रति आत्मआलोचना गर्नुपर्ने रावलको धारणा छ । उनले विवादस्पद संस्थाको कार्यक्रममा संलग्नताले ठुलो गल्ती भएको उल्लेख गरेका छन् । आयोजक संस्थाको विषय र विवादास्पद भूमिकाका बारेमा रावलले दुई पृष्ठ लामो विवरण लेखेका छन् ।

अर्का नेता भट्टराईले अध्यक्षको प्रतिवेदन कम्युनिस्ट पार्टीका नेताले ल्याउने प्रतिवेदनको स्तरको नरहेको भन्दै त्यसलाई पुर्नलेखन गर्न माग गरेका छन् । पार्टी भित्र प्रतिशोधको भावना राखेर काम भइरहेको भन्दै उनले यस्तो शैलीलाई कहीँ पनि नुपर्‍याउने बताएका छन् । सामूहिकताबाट चल्ने पद्धति बसाल्न उनले आग्रह गरे । पार्टीभित्र माथिल्ला नेताहरूबिच नै अविश्वासको वातावरण रहेको उल्लेख गर्दै पारदर्शी ढङ्गले चल्न सुझाव दिए ।


‘पार्टी भित्र यति प्रतिशोध साँधेर काम गर्नुहुन्छ भने तपाइहरूले जेल बसेर गरेको योगदानको केही अर्थ रहँदैन’ बैठकमा भट्टराईले भने, ‘एउटा समूहको वंश नै नाश गर्नुपर्छ जस्तो गर्नुभएको छ, त्यही कारण पार्टीको एकता पुरा हुन सकेको छैन, यही तरिका हो भने कोही पनि पार्टीमा दास भएर मात्र बस्न सक्दैनन् ।'


प्रकाशित : पुस ३, २०७५ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?