कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवापुस्तालाई आकर्षण गर्न बाटैमा बालन

बालन नाचको विकासबारे ऐतिहासिक प्रमाण नभए पनि सुदूरपश्चिमबाट सुरु भएको परम्परा देवीदेवताको पूजाआजाका साथै मनोरन्जनको माध्यम मानिन्छ ।

नवलपरासी — घुँडामा मादल अड्याएर रामजीप्रसाद पौडेल खैँजडीको बोल बजाइरहेका थिए । उनीसँगै बसेका कोही मुजुरा, त कोही छुनछुनासहितको खैँजडी बजाएर साथ दिंदै थिए । वरिपरि बसेका महिला पनि तालमा ताल मिलाएर थपडी बजाउँदै थिए ।

युवापुस्तालाई आकर्षण गर्न बाटैमा बालन

तनहुँको दुलेगौंडाबाट पूर्वपश्चिम राजमार्गको नवलपरासीको देवचुलीमा आएको रामजीको टोली खैँजडी, मुजुरा र मादल बजाएर बालन भजनमा मस्त थियो । उनीहरूलाई सुन्न–हेर्न स्वदेशी तथा विदेशी पर्यटक झुम्मिएका थिए । सत्तरी वर्षीय रामजी झनै जोसका साथ मादल बजाउँदै गए । बालनले छुट्टै माहोल ल्यायो । रामजी टोलीको नाइके मात्रै नभई बालन समूहकै गुरु पनि हुन् ।


उनीहरू खासमा स्वर्गद्वारी पुगेर त्रिवेणी हुँदै फर्किएका हुन् । दुलेगौंडामा उनीहरूको ठूलो बालन समूह छ । आफैंले पैसा उठाएर स्वर्गद्वारी पुगेका हुन् । ‘गाउँमा विशेष पर्व, पूजा र केही शुभसमारोह हुँदा खैँजडी बजाएर बालन गाउने र नाच्ने गर्छौं,’ उनले भने, ‘गाउँबाट कतै जाँदा आफ्नो खैँजडी, मुजुरा र मादल पनि साथै लिएर हिँड्छौं । यो लिएर हिँडेसी जहाँ पुगे’नि रमाइलो गर्न मिल्छ ।’


रामजी खैँजडीको ताल मादलमै बजाउन पोख्त भइसके । बालन नाचको विकासबारे ऐतिहासिक प्रमाण नभए पनि सुदूरपश्चिमबाट सुरु भएको परम्परा देवीदेवताको पूजाआजाका साथै मनोरन्जनको माध्यम मानिन्छ ।


अन्य बाजा बजाउने क्रममा मादलमा खैँजडीको ताल निकाल्न सफल भएको रामजीले बताए । पहिले बजारमा छालाका खैँजडी पाइन्थे । हाल आएका प्लास्टिकको खैँजडीमा मुजुरा पनि हुन्छन् । त्यो बजाउन उनको मन मानेन । उनी भन्छन्, ‘छालाको खैँजडी र मुजुरा बजाउँदा जुन शृंगारिक रस उत्पन्न हुन्छ, त्यो अरू बजाउँदा आउँदैन । प्लास्टिकका बजाउनुभन्दा त मादल नै बजाउँछु ।’ महिनौं बालन गाउँदै डुलेको अहिले यादमा मात्रै सीमित छ उनको । अहिलेका युवापुस्ताले यसमा चाख नलिएकोमा उनी चिन्तित छन् ।


यही टोलीकी पवित्रा पौडेल बालन नाच्दै थिइन् । ८४ वर्ष टेकेकी उनले जोसिंदै भनिन्, ‘सकुन्जेल आइरहन्छु र नाचिरहन्छु ।’


पवित्राका अनुसार बालनमा पुरुषहरू महिला भएर नाच्ने गर्छन् । बालनसँगै लहरी पनि नाच्छन् उनीहरू । लहरीमा चारपुरुष महिलाको भेषमा नाच्छन् । यो नाच नाच्ने छुट्टै पहिरन हुन्छ । तीर्थ यात्रा गएर आएकाले बालन नाच्ने पहिरन नल्याएकाले महिलाहरू नै नाचिरहेको पवित्राले सुनाइन् । सत्तरी जनाको जम्बो टोलीसित स्पिकर पनि ठूलै थियो ।


आफ्नो भजन टाढासम्म सुनाउन प्रयोग गरिरहेका थिए । टोलीसितै आएकी पचास वर्षीया मधु बानियाँका अनुसार अरू स्पिकर ठूलो बजाएर आधुनिक गीतमा नाच्छन्, तर उनीहरू बालनमा । ‘अरूको भाषा बुझिँदैन, गीतले के भनेको नबुझी कसरी नाच्ने ? खुट्टै चल्दैन, मन ’नि रमाउन्नँ,’ उनले भनिन् ।


बालन समूहमा उनीहरू बूढापाका मात्रै समावेश छन् । परम्परागत संस्कृति र मौलिक कुरामा युवाहरू आकर्षित नभएको गुनासो उत्तिकै छ । उनीहरूमा रातभर जाग्राम बसेर खैँजडी भजन गाउने परम्परा बूढापाकाले मात्रै धानिरहेको मधुले सुनाइन् । यसमा युवापुस्तालाई आकर्षण गर्न पनि बालन लिएर विभिन्न ठाउँ पुग्ने गरेको उनीहरू बताउँछन् ।


प्रकाशित : पुस ४, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?