कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा स्थायी समिति बैठक : केहीले गरे ओलीको आलोचना, केहीले बचाउ

दुर्गा खनाल

काठमाडौँ — नेकपाको जारी स्थायी समिति बैठकमा चर्को आलोचना खेपिरहेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालका लागि मंगलबार बैठक केही अनुकूल बनेको छ । स्थायी समितिका केही सदस्यले दुवै नेताले गरेका इतिहासका कामको समेत मूल्यांकन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् । 

नेकपा स्थायी समिति बैठक : केहीले गरे ओलीको आलोचना, केहीले बचाउ

शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, केशव बडाललगायतका नेताहरूले चर्को आलोचनाले मात्र कहीं नपुगिने भन्दै अहिलेसम्म गरेका कामको नजरअन्दाज नगर्न आग्रह गरे ।


ओली र दाहालले शान्ति प्रक्रियादेखि संविधान निर्माण र कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार बनाउने लगायतमा भूमिका खेलेको भन्दै उनीहरूले ती सबै कुरा बिर्सेर क्षणिक विश्लेषण गर्न नहुने धारणा राखे ।


प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका नेता शंकर पोखरेलले मुख्य नेताहरूको भूमिकाको कदर गर्न आग्रह गरे । ‘सबै समस्या नेतृत्वका कारण मात्र भएको भनेर हुँदैन,’ बैठकमा पोखरेलको भनाइ थियो, ‘हाम्रो आन्दोलनभित्रै कतै समस्या छ कि भनेर बुझ्नुपर्छ ।’


पार्टी एकताको मिसनअनुसार नसके पनि नेतृत्वलाई विश्वास गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो । उनले नेतृत्वबीच राम्रो सम्बन्ध विस्तार गर्न र त्यस विश्वासको जगमा अघि बढ्नुपर्ने बताए । अध्यक्षहरूले पेस गरेको प्रतिवेदन सन्दर्भ सामग्री मात्र भएकाले यसलाई सबैले राम्रो बनाउन सकिने धारणा पोखरेलको थियो । उनले सचिवालयले राजनीतिक निर्णयहरू गरेको भन्दै पार्टीभित्र भइरहेको आलोचनाप्रति आपत्ति जनाए ।


‘जुन अनुहारहरू सचिवालयमा छन् त्यो हेर्दा राजनीतिक र सांगठनिक निर्णय गर्न सक्छ,’ उनले भने । कतिपय नेताहरूले मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाएको विषयलाई लिएर पार्टीभित्र आपत्ति जनाइरहेका छन् । त्यो विषयलाई पनि नेता पोखरेलले सम्बोधन गरे । ‘केही नेताहरूले काम बढी भयो भनेर मलाई नै भन्नुभएको होला, यदि त्यस्तो लाग्छ भने म मुख्यमन्त्री छोडेर पार्टीको काम गर्छु,’ उनले भने ।


मुख्यमन्त्रीभन्दा पार्टी काम आफ्ना लागि महत्त्वपूर्ण भएको उनको धारणा थियो । प्रदेशमा चुनाव लड्न जाने बेलामा नै पार्टी कामको समेत जिम्मेवारी दिने कुरा भएको र त्यहीअनुसार आफूले पार्टी काम गर्न चाहेको पोखरेलको भनाइ थियो ।


गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले पनि नेताहरूको भूमिका ऐतिहासिक रहेको उल्लेख गरे । पार्टी एकता गर्नेसम्मको भूमिका निर्वाह ओली र दाहालले गरेकाले काम गर्दा केही कमजोरी भए त्यसलाई सुधारेर जान सकिने, आलोचनाले मात्र कहीं नपुर्‍याउने उनको धारणा थियो ।


‘भारतको आशीर्वादबिना राज्य नै चलाउन सकिँदैन भन्ने थियो, त्यसलाई प्रधानमन्त्री भएका बेला केपी ओलीले गलत सावित गरिदिनुभयो, संविधान जारी गर्दा महत्त्वपूर्ण भूमिका खेल्नुभयो’ गुरुङले भने । उनले संघीयतालाई कसरी प्रभावकारी बनाउने विषयमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।


अर्का नेता केशव बडालले नेतृत्वले केही गरेन भनेर निराशाको खेती नगर्न आग्रह गरे । ‘संविधान निर्माणदेखि शान्ति प्रक्रिया यति सरल ढंगले समाधान गर्ने मुख्य नेता उहाँहरू नै हो,’ बडालले भने, ‘यो भूमिका बिर्सनु भएन ।’


सर्वत्र निराशा छाइरहेका बेला यही सरकारले विकास निर्माणलगायतका विषयमा आशा जगाउने र विदेशिइरहेका युवालाई आकर्षण गर्न खोजिरहेको उनको धारणा थियो । यस्ता काम गर्दा केही कमजोरी भएका भए त्यसलाई सच्याउने ठाउँ रहेको उनको धारणा थियो । पार्टी एकतालगायतका काम अब छिटो टुंग्याउनुपर्ने उनले बताए ।


स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्रका कमीकमजोरी आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए । केही कमजोरी रहेका भए सच्याउन सकिने उल्लेख गर्दै उनले प्रतिवेदन परिमार्जित गरेर पार्टीलाई स्पष्ट दिशानिर्देश गर्ने बनाउन आग्रह गरे । विचार र विधिअनुसार पार्टी चलाउनुपर्नेमा उनको जोड थियो । आफ्नो खल्तीबाट कमिटी चयन गर्ने खालको परिपाटी नबनाउन रायमाझीले आग्रह गरे ।


‘संसारमा महान् व्यक्ति विधिविधानबाटै चलेर भएका छन्, पुष्पलाल, मदन भण्डारी पनि त्यसैअनुसार चलेर महान् भएका हुन्,’ रायमाझीको भनाइ थियो, ‘तपाईंहरू पुष्पलाल, मदन भण्डारीभन्दा महान् हुने गरी काम गर्नुहोस् ।’


नेताहरू सोमनाथ प्यासी, सत्यनारायण मण्डलले पनि सरकार र पार्टी नेतृत्वप्रति आलोचना गरेनन् । उनीहरूले पार्टी एकताका काम छिटो पूरा गर्नुपर्नेलगायतका धारणा राखे । नेता प्यासीले सरकार, राष्ट्रपति लगायतसँग जोडिएका विषयका बारेमा पार्टी नेताको हैसियतमा सोधिने प्रश्नको जवाफ दिन आफूहरूलाई केही समस्या परिरहेको बताए ।


भट्टराईको आक्रोश

बैठकमा स्थायी समिति सदस्य योगेश भट्टराईले भने ओली र दाहालको कार्यशैलीको तीव्र आलोचना गरे । भट्टराईले अध्यक्षको प्रतिवेदन कम्युनिस्ट पार्टीका नेताले ल्याउने स्तरको नरहेको भन्दै त्यसलाई पुनर्लेखन गर्न माग गरेका छन् । पार्टीभित्र प्रतिशोधको भावना राखेर काम भइरहेको भन्दै उनले यस्तो शैलीले कहीं पनि नुपर्‍याउने बताए । सामूहिकताबाट चल्ने पद्धति बसाल्न उनले आग्रह गरे । पार्टीभित्र माथिल्ला नेताबीच नै अविश्वासको वातावरण रहेको उल्लेख गर्दै उनले पारदर्शी ढंगले चल्न सुझाव दिए ।


‘पार्टीभित्र यति प्रतिशोध साधेर काम गर्नुहुन्छ भने तपाईंहरूले जेल बसेर गरेको योगदानको केही अर्थ रहँदैन,’ बैठकमा भट्टराईले भने, ‘एउटै समूहको वंश नै नाश गर्नुपर्छ जस्तो गर्नुभएको छ, त्यही कारण पार्टीको एकता पूरा हुन सकेको छैन, यही तरिका हो भने कोही पनि पार्टीमा दास भएर मात्र बस्न सक्दैनन् ।’


सरकारले गर्ने कामकारबाहीप्रति प्रश्न उठेको उल्लेख गर्दै भट्टराईले कतिपय नियुक्तिका कारण भ्रष्टाचार अन्त्य गर्ने कुरा जनताले पत्याउन छाडिसकेको बताए । ‘दिगम्बर झाजस्ता व्यक्तिलाई नियुक्ति गरेर भ्रष्टाचार हटाउने कुरा जनताले पत्याउँदैनन्’ नेता भट्टराईले भने ।


सरकारले ल्याएका बजेटमा पनि कतिपय असन्तुष्टि रहेकाले त्यसलाई समेट्न पूरक बजेट ल्याउनसमेत उनले प्रस्ताव गरेका छन् । यही हिउँदे अधिवेशनबाट पूरक बजेट ल्याएर केही विषय सम्बोधन गर्न सकिने उनको धारणा थियो ।


प्रकाशित : पुस ४, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?