२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

निर्मला हत्या प्रकरण : विशाल र प्रदीपलाई सँगै रिहा गर्न माग

कञ्चनपुर — निर्मला पन्त घटनाको अनुसन्धान क्रममा प्रहरी हिरासतमा रहेका प्रदीप रावल र विशाल चौधरीलाई छाड्न माग गर्दै आफन्तले प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् । 

निर्मला हत्या प्रकरण : विशाल र प्रदीपलाई सँगै रिहा गर्न माग

पछिल्लो पटक डीएनए नमिलेपछि विशाललाई छाड्ने तयारी भइरहेको सुनेका आफन्त र स्थानीयले दुवैलाई छाड्नुपर्ने माग गर्दै नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले दुवैजना निर्दाेष भएको र सँगै छाड्नुपर्ने माग गरेका छन् । ‘दुवै निर्दाेष छन्, एउटालाई छाड्ने अर्काेलाई नछाड्ने ठीक होइन,’ प्रदीपका ठूलोबुवा कृष्णबहादुरले भने, ‘दुवैलाई सँगै छाड्नुपर्छ भन्ने हाम्रो माग हो ।’


प्रदीप र विशाल दुवै भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी हुन् । प्रदीपलाई प्रहरीले काठमाडौंमै पक्राउ गरेको थियो । प्रदीपकै बयानका आधारमा महेन्द्रनगरबाट मंसिर २० गते विशाललाई पनि अभिभावकसँगै काठमाडौं बोलाएको हो । विशालसँगै काठमाडाैं गएका अर्का दिनेश चौधरीलाई भने अभिभावकसँगै फिर्ता पठाएको थियो ।


उनीहरू प्रक्राउ परेदेखि नै आफन्त र स्थानीयले प्रदर्शन गर्दै आएका थिए । उनीहरूले यातायात बन्दसँगै जिल्ला प्रशासन अगाडि नियमितजसो प्रदर्शन गरिरहेका छन् । पछिल्लोपटक विशाललाई छाड्ने कुरा बाहिर आएपछि स्थानीयले एक जनालाई मात्र नभई दुवैलाई छाड्नुपर्ने माग गरेका छन् ।


‘विशाललाई महेन्द्रनगरमै बुझ्छु’

मंसिर २० मा अनुसन्धानका लागि विशाललाई बुवा वीरबहादुरसँगै प्रहरीले काठमाडौं पठाएको थियो । बयानका क्रममा विशालले अपराध स्वीकार गरेपछि वीरबहादुरलाई घर फिर्ता पठाए ।


अहिले डीएनए नमिलेपछि फेरि विशाललाई बुझ्न काठमाडौं बोलाएको वीरबहादुरले बताए । तर उनले छोरालाई काठमाडौंमा नभई महेन्द्रनगरमै बुझ्ने अडान लिएका छन् । ‘प्रहरीले यहीँबाट पक्राउ गरी काठमाडौं पठाएको हो,’ वीरबहादुरले भने, ‘काठमाडौंमा नभई यहीँ बुझ्छु ।’ उनले छोरालाई अनुसन्धानका नाममा कति यातना दिएको छ, कति चोटपटक लागेको छ सबै राम्ररी हेरेरमात्रै बुझ्ने बताए ।

प्रकाशित : पुस ५, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?