२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै मनाङवासी

आश गुरुङ

लमजुङ — जंगलमा लागेको आगो हेर्न शनिबार बिहान ९ बजेतिर हिँडेका सशस्त्र प्रहरी ३२ नं. गुल्म चामेका डीएसपी नीलकमल आचार्य तलेखु नजिकै रोकिए । मर्स्याङ्दी नदी पारिपट्टिको ठाडोखोला जमेको देखेपछि उनी दंग परे । 

चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै मनाङवासी

खोला बगेको डोब हेर्दै मर्स्याङ्दी किनारसम्म आँखा डुलाउँदा मर्स्याङ्दी छेउछाउसमेत उनले जमेको देखे । उनीसँगै अन्य प्रहरी अधिकृत तथा जवानसमेत गएर बग्दाबग्दै जमेको छहरा र पानीलाई नजिकबाट नियाले । ‘बग्दाबग्दैको पानी जमेको त पहिलो पटक देखें,’ उनले भने, ‘भरिएको पानी, बाटोको पानी तथा शीत भोलिपल्ट जमेको त देखेकै हो । झर्दाझर्दैको पानी जमेको देखेर पो अनौठो लाग्यो ।

चिसोका कारण जमेको पानी बिहान १० बजेसम्म पनि माथिबाट बग्न सकेको थिएन । भित्रभित्रै केही बगिरहेको थियो । बाहिरबाट हेर्दा सबै जमेको । मैले चाख लागेर फोटो पनि लिएँ,’ पानीले खोतलेर बनाएको पोखरीको पानी जमेकाले मान्छे डुब्ने पोखरीमा जुत्ताचप्पल लगाएर हिँड्न र उभिन सकिने उनले बताए । माथिल्लो मनाङस्थित मनाङ सामुदायिक लघु जलविद्युत् आयोजनाको ट्यांकी चिसोका कारण पुरै बरफले भरिएको थियो । स्थानीय मुखिया गोतामे (स्नोमङकी) का अनुसार समितिका सदस्य तथा स्थानीयलाई बरफ फाल्न शनिबार बिहानभर लाग्यो । ‘पाइपबाट आएको पानी ट्यांकीमा जमेको रहेछ । हामीले गल–बेल्चाको सहयोगले फाल्यौं’ उनले भने ।


मनाङमा अहिले घरभित्रबाहेक खानेपानीसमेत पाउन मुस्किल छ । बरफ पगालेर खानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार वरपरका स–साना पानीका स्रोत सबै जमेका छन् । चिसोका कारण जनजीवन कष्टकर भइरहेका बेला पानीका स्रोतसमेत जमेपछि थप समयस्या भएको छ । सामान्यत: शून्य डिग्रीमा पानी जम्ने भए पनि बग्दै गरेको पानी अत्यधिक चिसो भएमात्रै जम्ने गर्छ । मनाङको तापक्रम रातिको समय माइनस १४ सम्म पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । ‘न धारामा पानी आउँछ । न स–साना खोला बगेको देखिन्छ । बग्दै गरेको खोला जमेको देख्छु । मस्र्याङदी त्यत्रो ठूलो खोलाको छेउछेउ त जम्दोरहेछ,’ उनले भने । ‘दिनभर घाम लागे केही राहतको महसुस हुन्छ,’ उनले भने, ‘नत्र अत्यासै लाग्ने रहेछ ।’ चिसो बढेपछि कतिपय कार्यालयका प्रमुख तथा कर्मचारी बिदा मिलाएर घर फर्केको देवकोटाले बतए । ‘यहाँ त बस्न सके पो ?’ उनले भने ।


मौसम निकै चिसो भए पनि स्थानीयलाई भने खासै नौलो भने लाग्दैन । उनीहरू यसलाई प्रकृतिको नियम ठान्छन् । चामेकी मेलिना गुरुङका अनुसार धारामा पानी आउँदैन । भाडामा पानी भरेर घरबाहिर राखे जम्छ । चिसोले कहिलेकाहीं प्लास्टिकका पाइपसमेत फुटाउँछ । चिसो बढेपछि सानो खोला जम्ने गर्छ । मस्र्याङदी किनार पनि जमेको देखिनु कुनै नौलो होइन । ठूलो भएकाले वेगले सबै बगाएर लाने गर्छ । ‘अहिले धेरै चिसो छ । एक/दुई वर्ष होइन, वर्षैपिच्छे हुने कुरा हो । खासै नौलो लाग्दैन,’ उनले भनिन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार चिसो लागेसँगै चक्रीय अन्नपूर्ण पदमार्ग र गाउँबस्ती सुनसान देखिएको छ । पर्यटकलाई मौसमी अवस्थाबारे जानकारी गराउँदै आएको उनले बताए ।

प्रकाशित : पुस ७, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?