२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

दशगजामा भारतीय पक्षद्वारा सडक निर्माण

देवनारायण साह

मोरङ — जहदा गाउँपालिका-१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत-४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो । 

दशगजामा भारतीय पक्षद्वारा सडक निर्माण

विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए । दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरिएको छ ।


दशगजामा सडक निर्माण भइरहेको जानकारी प्राप्त भएपछि जहदा गाउँपालिका-१ का वडा अध्यक्ष प्रदीपचन्द यादवले सडक निर्माण रोकेका छन् । ‘दशगजामा सडक निर्माण भइरहेको जानकारी पाएपछि शनिबार हेर्न आयौं,’ उनले भने, ‘तत्काल सशस्त्र प्रहरी बेस बुधनगर र इलाका प्रहरी बुधनगरलाई जानकारी गराएर सडक निर्माण रोक्न लगायौं ।’


दशगजामा सडक निर्माण गर्नै नमिल्ने अवस्थामा पनि भारतीयले जबरजस्ती सडक निर्माण गरेको उनले बताए । ‘उक्त सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी वर्षायाममा थुनिएर जहदाको १ नम्बर वडा पूर्ण रुपमा जलमग्न हुन्छ,’ उनले भने, ‘यसका साथै विराटनगर महानगरपालिकाको वडा १७ पनि जलमग्न हुन्छ ।’


स्थानीयले दशगजा मासेर सडक निर्माण गरे नेपाल पट्टी रहेको घर, बस्तीका साथै जग्गासमेत डुबान हुने स्थानीयले बताए । ‘भारतीयहरुले दशगजा अतिक्रमण गरेर सडक निर्माण गर्न आए आफूहरु मौन भएर बस्न सक्दैनौं,’ कालाबञ्जरका जगदेव साहले भने, ‘हामी सीमामा बसेकाले आफ्नो भूमीको सुरक्षा गर्ने दायित्व हामीले बुझेका छौं । भारतीय पक्षले जबरजस्ती सडक निर्माण गर्न नआए हुन्थ्यो ।’


उक्त सडक तत्काल हटाउनु पर्ने आफूहरुको माग रहेको सहाले बताए । सडक नहटाएर वर्षायाममा पानीको निकास नै बन्द भएर आफूहरुको बस्ती जलमग्न हुने अवस्था रहेको उनले बताए ।

नेपालतर्फ दशगजा क्षेत्र विद्यमान रहे पनि भारतीय किसानहरुले मासेर खेती गर्दै आएका छन् । ‘हामीले दशगजालाई मास्नु हुँदैन भनेर नेपालतर्फ संरक्षण गरेर राखेका छौं,’ साहले भने, ‘भारतीयहरुले दशगजा मासेर खेती गर्दै आएका छन् ।’ भारतीयहरुले गर्दै आएको खेती हटाएर दशगजा क्षेत्र कायम गर्न उनले माग गरे ।


वडा अध्यक्ष यादवले प्रहरी प्रशासनलाई जानकारी गराएको तीन दिनमा पनि केही नगरेपछि आफ्ना पार्टी संघीय समाजवादी फोरमलाई जानकारी गराएको बताए ।

संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवलगायतका नेता कार्यकत्र्ताले दशगजामा निर्माण गरिएको सडक हेरेर भारतीय पक्षलाई सडक निर्माण कार्य अघि नबढाउन सोमबार आग्रह गरे । ‘भारतीय पक्षलाई दशगजामा सडक निर्माण अन्तर्राष्ट्रिय कानुन विपरित भएकोले यसलाई तत्काल रोक्न आग्रह गर्‍यौं,’ उनले भने, ‘मोरङका प्रमुख जिल्ला अधिकारीलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई समेत तत्काल समस्या समाधान गर्न आग्रह गरेका छौं ।’


निर्माण गरिएको सडक तत्काल हटाएर दशगजा खाली गराउनु पर्ने उनको माग छ । ‘निर्माण गरिएको सडक त्यतिकै छोडिदिए भारतीयहरुले पुन: निर्माण गर्ने जोखिम रहिरहन्छ,’ उनले भने, ‘यसका साथै अहिले निर्माण गरिएको सडकले वर्षायाममा पानीको बहाबसमेत रोकिने हुँदा दशगजा नजिकै रहेको कालाबञ्जरको मुसहरी बस्ती डुबानमा पर्छ ।’


सशस्त्र प्रहरी सुरक्षा बेस बुधनगरका सशस्त्र प्रहरी निरीक्षक भूप खडका र इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी नायब निरीक्षक सूर्यनारायण माझीले आफूहरुले दशगजामा सडक निर्माण गरेको जानकारी हुने बित्तिकै माथिल्लो निकायमा जानकारी गराएको बताए । माथिल्लो निकायबाट सडक निर्माण कार्य रोकेर निगरानी गर्न निर्देशन आए बमोजिम निगरानी गरिरहेको उनीहरुले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले दशगजामा भारतीयले गरिरहेको सडक निर्माण कार्य तत्काल रोकेर काउण्टरपार्टसँग छलफल गरी समस्या समाधान गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको बताए । सशस्त्र प्रहरीले समस्या माधान गर्न नसके भारतको बिहार राज्यका अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटसँग समन्वय गरेर समस्या समाधान गर्ने उनले बताए ।

प्रकाशित : पुस ९, २०७५ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?