पुस १७ गतेसम्म माग पूरा नभए सत्याग्रह : डा. केसी 

गोविन्द पोखरेल

काठमाडौँ — डाक्टर गोविन्द केसीले आफ्ना मागहरू पुस १७ गतेसम्म पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । उनले चिकित्सा शिक्षा विधेयकमा चलखेल भइरहेको बताउँदै तत्काल सम्झौता बमोजिम विधेयक पारित गर्न सरकार, संसदीय समिति र राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् । 

पुस १७ गतेसम्म माग पूरा नभए सत्याग्रह : डा. केसी 

डाक्टर केसीले आफ्नो हरेक सत्याग्रहमा ट‌ुंग्याउने क्रममा सम्झौता गर्दा जुनसुकै पार्टीका सरकारहरूले पनि जनता र विद्यार्थीको हित हुने बुँदाहरू नराखी दलाल र माफियाहरूको स्वार्थ पूर्तिका लागि ब्ल्याकमेलिङ गर्ने गरेको आरोप लगाएका छन् ।


उनले सम्झौता कार्यान्वयनको बेला इमानदारी देखाउनुको सट्टा सम्झौता उल्लंघन गर्ने तथा जनता र विद्यार्थीमारा कामहरू गर्ने गरी आएको बताए । यस्तो प्रवृत्तिका कारण १५ वटा सत्याग्रह र सम्झौताहरूपछि समेत अवस्थामा धेरै सुधार आउन नसकेको डाक्टर केसीको भनाइ छ । उनले माथेमा कार्यदलले बुझाएको प्रतिवेदन इमानदारीका साथ कार्यान्वयन नभएको बताए ।


डाक्टर केसीले चिकित्सा शिक्षा विधेयकसम्बन्धी पछिल्लो समयमा विकसित घटनाक्रमहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले संसदीय समितिमा मेडिकल माफियाहरूको स्वार्थ पूर्तिका लागि चलखेल भइरहेको दाबी गरे ।

सरकार र पार्टीका शीर्ष तहसम्मका मानिसहरू माफियासित मिलेमतो गरेर सम्झौतालाई निस्तेज गराउन लागिरहेका केसीको भनाइ छ । उनले भने,'हामीसित भएको सम्झौतालाई तोडमोड गरेर माफिया पोस्ने काममा पार्टी र जन प्रतिनिधिहरू लाग्नु निन्दनीय छ । त्यस्तो कार्य हाम्रा लागि स्वीकार्य छैन । '


यसैबिच डाक्टर केसीले निजी मेडिकल कलेजहरू सरकारी करण नगरेसम्म मेडिकल शिक्षामा सुधार नहुने बताएका छन् । उनले चिकित्सा क्षेत्र सुधार गर्नका लागि सबै निजी मेडिकल कलेजहरू सरकारी करण गर्नुको विकल्प नरहेको बताए । उनले बदमासी गर्ने निजी मेडिकल कलेजहरूको सम्बन्धन खारेज गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित : पुस ११, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?