ओली र नेपालपक्षका दोस्रो तहका नेताबीच बालुवाटारमा संवाद, जुटेन सहमति
काठमाडौँ — पार्टी विवाद समाधानका विषयमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालपक्षका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा संवाद भएको छ ।
शुक्रबार चार बजेदेखि साढे सात बजेसम्म छलफल भए पनि कुनै निष्कर्षमा पुगिनसकेको सहभागी एक नेताले जानकारी दिए । यद्यपी संवादलाई निरन्तरता दिने विषयमा भने समझदारी भएको छ ।
छलफलमा ओलीको तर्फबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवास नेम्वाङ र विष्णु रिमाल सहभागी थिए । नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल तथा सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी रहेको ती नेताले जानकारी दिए ।
छलफलमा नेपाल पक्षका नेताहरूले माओवादीसँग एकता गर्नुपूर्वकै अवस्थामा पार्टीलाई फर्काएर अगाडि बढ्नुपर्ने अडान नै दाहोर्याएका छन् । ओली पक्षका नेताहरूले भने त्यसभन्दा मध्यमार्गी बाटो खोज्नुपर्ने प्रस्ताव राखेको नेपाल पक्षका एक नेताले जानकारी दिए ।
‘पहिला एकतापूर्वको कमिटीलाई यथास्थितिमा फर्काउने र अनि माओवादीबाट आएका साथीलाई थप्ने नै निकास हो भन्ने अडान राखेका छौं,’ ती नेताले भने, ‘उहाँहरूले मध्यमार्गी बाटो खोज्नपर्यो भन्नु भयो । सहमति भएन । छलफल सौहार्दपूर्ण भयो र वार्ता जारी राख्ने भन्ने सहमति गरेर उठ्यौं ।’
ती नेताका अनुसार ओली पक्षले मध्यमार्गी प्रस्ताव भने पेश गरेका थिएनन् । ‘फागुन २८ को निर्णय छोड्न प्रधानमन्त्री तयार हुनुहुन्न, तर बीचको बाटो खोजौं भन्नु भयो,’ ती नेताले भने । बीचको बिन्दु के हो भन्ने प्रश्नमा ती नेताले भने, ‘हामीले कम्तिमा नवौं महाधिवेशनबाट बनेको आधिकारीक कमिटीको मेकानिजमबाट समाधान खोजेर जानुपर्छ भन्यौं,’ ती नेताले भने ।
नेपालपक्षले राखेका प्रस्तावबारे ओलीलाई ब्रिफिङ गरेपछि पुनः शनिबार संवादमा बस्ने सहमति भएको ती नेताले बताए । तर समय भने तय भइसकेको छैन । शनिबार पुनः छलफलपछि ओली र नेपालबीच पनि संवाद हुन सक्ने उनले बताए ।
‘यो टिमले विवाद समाधानको सम्भावना अगाडि बढायो भने ओली कमरेड र माधव कमरेडबीच संवाद होला । नत्र नहुन पनि सक्छ । त्यस्तो आशावादी हुने स्थिति छैन । तर, कम्तिमा संवादहिनताको स्थितिमा संवाद सुरु भएको छ,’ ती नेताले भने ।
प्रधानमन्त्री ओलीले शुक्रबार बिहान नेता विष्टलाई बोलाएर करिब तीन घण्टा छलफल गरेका थिए ।
प्रकाशित : वैशाख २४, २०७८ २०:५०