कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

मतदानस्थलमा भोट माग्दै ओली पक्षले बाँड्यो पर्चा, रावलको आपत्ति

काठमाडौँ — एमालेको दसौँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहितका उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको छ । यसअघि एमालेको विधानअनुसार प्यानल बनाएर लड्न नपाइने भनिए पनि संस्थापन पक्षले प्यानलसहितको सूची मतदातालाई बाँडेको छ ।

मतदानस्थलमा भोट माग्दै ओली पक्षले बाँड्यो पर्चा, रावलको आपत्ति

मतदानमा संस्थापन पक्षबाट कसलाई भोट हाल्ने/नहाल्ने संकेतसहितका पर्चा बाँडिएपछि नेता रावलले निर्वाचन आयोगको आचारसंहिताविपरीतको कार्य निन्दनीय भएको बताएका हुन् ।

रावलले ट्वीट् गर्दै लेखेका छन्– 'चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।'

नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार चयनका लागि मतदान जारी छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि निर्वाचन सुरु भएको थियो ।

पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भइरहेको छ । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणना हुनेछ ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?