कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको डिक्सनेरीमा सहिष्णुता भन्ने शब्द छैन : शर्मा

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई दलभित्र र बाहिर आफ्ना प्रतिस्पर्धीहरूप्रति असहिष्णु हुने प्रवृत्ति सुधार गर्न सुझाएका छन् । चितवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिँदै गर्दा ओलीलाई शर्माले नेपाललाई उत्तर कोरिया बनाउने मनोविज्ञान नराख्न आग्रह गरेका हुन् ।

ओलीको डिक्सनेरीमा सहिष्णुता भन्ने शब्द छैन : शर्मा

‘उहाँको डिक्सनेरीमा सहिष्णुता भन्ने शब्द छैन । उहाँ मञ्चमा भाषण गर्न उभिएपछि सुरु गालीबाट गर्नुहुन्छ, र अन्त्य पनि गालीबाटै गर्नुहुन्छ । टेलिभिजन हेर्दै गरेका बाबुआमाले छोराछोरीले सुन्लान् भनेर टेलिभिजन बन्द गर्नुपर्ने अवस्था बनाउनुहुन्छ, म अपिल र आग्रह गर्न चाहन्छु,’

काठमाडौंमा नेता रामचन्द्र घिमिरेद्वारा लिखित ‘राजनेता शुवर्ण शमशेर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले भने, ‘त्यो कम्युनिष्ट पार्टी, जसको अधिवेशनमा म फरक मत राखेर उभिन्छु भन्न पनि पाइँदैन, यो खालको प्रवृत्ति नेपालको संस्कृतिमा सुहाउँदैन । उत्तर कोरिया बनाउने मनोविज्ञान राख्ने कम्युनिष्ट दर्शनमा सुहाउँछ होला, तर, यो उत्तर कोरिया होइन, यो नेपाल हो । दलभित्र प्रश्न गर्ने र प्रतिस्पर्धा गर्ने हाम्रो संस्कृति हो । प्रश्न गर्ने र प्रतिस्पर्धा गर्ने दलभित्र र बाहिरकालाई गाली गर्ने उहाँको प्रवृत्ति सुधार्नैपर्छ, म यो सुझाव दिन चाहन्छु ।’

प्रवक्ता शर्माले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत १४ औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेर विश्राम लिन सुझाव दिए । उनले अब राजनीतिमा रुपान्तरण आवश्यक रहेको भन्दै विश्वप्रकाश पुस्ताले मुलुकको नेतृत्व गर्दै गर्दा ‘वान टु थ्री फोर’ को सिद्धान्त लागू गर्नुपर्ने बताए ।

‘मैले महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेर जिल्ला घुम्दै गर्दा साथीहरूले भन्नुभयो, शेरबहादुर देउवा, जसले पाँच पटक यो देशको प्रधानमन्त्री बन्ने क्षमता राख्नुभयो, विश्वप्रकाश शर्मा पुस्ताले मुलुकको नेतृत्व कति पटक गर्छ ? मैले सभापतिज्यूलाई भनेको छु, तपाईंले त त्यो क्षमता राख्नुभयो, तर विश्वप्रकाशहरूको पुस्ताका लागि मैले प्रस्ताव गरेको छु, वान टु थ्री फोर भनेर,’ शर्माले अघि भने, ‘त्यो भनेको एक व्यक्ति एक पटक राष्ट्रपति बन्न पाइन्छ, दोहोर्‍याउन पाइँदैन । दुई पटक प्रधानमन्त्री बन्न पाइन्छ, त्योभन्दा बढी दोहोर्‍याउन पाइँदैन । तीन पटक मन्त्री, त्योभन्दा बढी दोहोर्‍याउन पाइँदैन । र चार पटक सांसद, त्योभन्दा बढी पाइँदैन ।’

उनले राजनीतिमा युवा पुस्ताको आकर्षण बढाउनकै लागि भए पनि १४ औँ महाधिवेशनले कांग्रेसलाई रुपान्तरणको बाटोमा अघि बढाउनुपर्ने बताए । ‘अब शेरबहादुर पुस्ताले हस्तान्तरण गर्दै गर्दा विश्वप्रकाश पुस्ताले मात्रै ‘वान, टु, थ्री फोर’ को सिद्धान्तलाई पछ्याउने हो भने राजनीतिभन्दा धेरै पर भएको युवाले पनि राजनीतिलाई आकर्षणका रुपमा हेर्नेछ । राजनीतिप्रति आस्था र विश्वास बढेर गयो भने यो देश बन्ने यात्रा सफल भएर जान्छ,’ शर्माले भने ।

प्रवक्ता शर्माले कांग्रेसले कांग्रेसले १४ औँ महाधिवेशनबाट रुपान्तरित भएर देश बनाउने तागत जुटाउनुपर्ने बताए । ‘यो महाधिवेशनबाट सशक्त कांग्रेस बनाएर आगामी निर्वाचनमा जित्ने मात्रै होइन, अहिलेसम्म एक पटक जित्ने, अर्कोपटक हार्ने जुन श्रृंखला छ, त्यसलाई तोडेर लगातार तीन पटक चुनाव जित्ने अवस्था बनाउनुछ,’ उनले भने, ‘कांग्रेसले अब देशलाई स्थिरता दिने हो । अहिलेसम्म ठूला ठूला परिवर्तनहरू भए, तर यो देशमा सामाजिक विसंगतिबाट मुक्त गर्ने विषयमा हामी किन सफल हुन सकेका छैनौँ ? यसको कारण खोजेर समाधान गर्ने हो ।’

प्रकाशित : मंसिर १४, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?