६७ जिल्लामा कांग्रेस प्रतिनिधि चयन : सबै समूह मिलेमात्र देउवालाई चुनौती
काठमाडौँ — कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वकै निरन्तरता रोज्ने कि विकल्प खोज्ने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला ६७ जिल्लाबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूको नतिजाले भने दुवै पक्षलाई ढुक्क हुने स्थिति बनाएको छैन । अहिलेसम्म अधिवेशन सम्पन्न भएका ६७ जिल्लामा ‘प्यानल’ बाट चुनिएका कुल ३ हजार ३ सय २३ महाधिवेशन प्रतिनिधिको अंकगणितले पौडेल, कोइरालालगायतका समूह एकमुष्ट भएमा देउवासँग कडा प्रतिस्पर्धा देखिन्छ ।
संस्थापन र वैकल्पिक समूह दुवैका लागि अब हुने प्रदेश २ का ८ र पहाडका २ जिल्लाका प्रतिनिधि नै निर्णायक हुने देखिएको छ । प्रदेश नम्बर २ का ३२ निर्वाचन क्षेत्रबाट साढे आठ सय बढी महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । अहिले आठवटै जिल्लामा निर्वाचन भइरहेको छ । प्रदेश नम्बर २ बाहेक दुई निर्वाचन क्षेत्र रहेको धनकुटा र एक निर्वाचन क्षेत्र रहेको रसुवामा पनि महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन । नतिजा आएका ६ प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा देउवा बलियो देखिएका छन् भने प्रदेश १, वाग्मती र गण्डकीमा संस्थापनइतरको पौडेल समूह बलियो देखिएको छ ।
संस्थापनइतर एकजुट भने भइसकेको छैन । देउवासँग प्रतिस्पर्धा गर्न चार नेता मुख्य दौडमा छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाबीचको समझदारी बन्छ कि बन्दैन भन्ने मुख्य चासो कांग्रेसवृत्तमा छ । यसको सबैभन्दा बढी चासो स्वयं देउवालाई छ । महाधिवेशनको तिथि आउन ९ दिन मात्रै बाँकी छँदा पनि चारमा चारै जना प्रतिस्पर्धीको अडान उस्तै छ ।
आफ्नो टिमका बलियो हस्ती उपसभापति विमलेन्द्र निधिको उम्मेदवारी घोषणाले अप्ठ्यारोमा परेका देउवा अर्को समूहभित्रको प्रतिस्पर्धाबाट लाभ लिने कोसिसमा छन् । साढे आठ सय मत रहेको प्रदेश नम्बर २ मा निधिमार्फत नै देउवाले पकड जमाउँदै आएका थिए । निधि टिमबाट अलग्गिएपछि त्यसको क्षतिपूर्ति भर्न देउवा लागिरहेका छन् । ‘विमलेन्द्र निधिको उम्मेदवारीले कति प्रभाव पार्छ ? प्रदेश २ मा कस्तो पोजिसन हुन्छ भन्ने मुख्य चासो छ’ देउवा समूहबाट मंगलबार नै केन्द्रीय सदस्यको उम्मेदवारी बन्ने घोषणा गरेका नेता श्याम घिमिरेले कान्तिपुरसँग भने, ‘संस्थापनइतर खेमामा एक मात्रै उम्मेदवार बन्दा शेरबहादुर दाइलाई चुनौती हुने हो । तर त्यहाँभित्र एकता हुने सम्भावना मैले देखिरहेको छैन ।’
अघिल्लोपटक कांग्रेसमा नरहेका नेता विजयकुमार गच्छदार यसपटक देउवासँगै छन् । राप्रपाबाट प्रवेश गरेका सहमहामन्त्री सुनीलबहादुर थापा, एमाले, माओवादी, मधेस केन्द्रित दलबाट कांग्रेस प्रवेश गरेका नेताहरूले पनि देउवालाई साथ दिएका छन् । अघिल्लो महाधिवेशनमा देउवाको टिमबाट महामन्त्री उम्मेदवार बनेका नेता अर्जुननरसिंह केसी अहिले संस्थापनइतर खेमामा छन् । पार्टीभित्र तेस्रो धारको नेतृत्व लिएका नेता कृष्णप्रसाद सिटौला देउवाबाट अलग्गिएपछि अहिलेसम्म कता उभिने निश्चित छैन ।
अघिल्लोपटक देउवा पार्टी सभापति निर्वाचित हुनुमा सिटौला निर्णायक बनेका थिए । त्यतिबेला सिटौला गगन थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्षसहितको ‘प्यानल’ बनाएर नेतृत्वको प्रतिस्पर्धा गरेका थिए । पहिलो राउन्डबाट बाहिरिएपछि दोस्रोपटकको प्रतिस्पर्धामा उनको टिमसहितको समर्थन देउवालाई मिलेको थियो । सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत चाहिनेमा पहिलो राउन्डमा देउवा, पौडेल र सिटौला कसैले त्यति मत प्राप्त नगरेपछि दोस्रो राउन्डमा सबैभन्दा बढी मत ल्याउने देउवा र पौडेलबीचको प्रतिस्पर्धामा सिटौला निर्णायक बनेका हुन् ।
झापाको १ सय ३४ महाधिवेशन प्रतिनिधिमा सिटौला प्यानलबाट मात्रै ९६ जनाले जितेका छन् । झापाबाहिर पनि उनको प्रभाव छ । त्यसै कारण देउवा सिटौलालाई आफ्नै पक्षमा तान्न खोजिरहेका छन् । झापा र राजधानी काठमाडौंसहितका पूर्वका केही जिल्लाका अधिवेशनमा देउवाले सिटौलासँगै गठबन्धन बनाएका थिए । ‘उनी देउवासँग रहन सक्छन् भन्ने संकेत छ,’ देउवानिकट अर्का एक नेता भन्छन्, ‘सभापतिज्यूले उनलाई उपसभापति बनाएर टिममा राख्न खोज्नुभएको छ । तर, सिटौलाले प्रदेश अधिवेशन सकिएपछि मात्रै निर्णय लिन्छु भन्नुभएको छ ।’ सार्वजनिक रूपमा भने सिटौला आफू पनि सभापतिको उम्मेदवार रहेको बताउने गरेका छन् ।
देशभर एउटै प्यानलबाट महाधिवेशन प्रतिनिधि चुनिए पनि संस्थापनइतर खेमाका प्रतिनिधिहरू काठमाडौं आएपछि विभाजित हुने देखिन्छ । इतर खेमामा पौडेल, महामन्त्री शशांक, प्रकाशमान र शेखरका आफ्नै समूह छन् । इतर खेमामा अहिले गगन थापाको समूह पनि थपिएको छ । इतर खेमा नमिल्दा प्रतिनिधिहरू विभाजित हुने र त्यसको लाभ देउवाले लिने देखिन्छ । यस्तो परिस्थिति ‘आत्महत्यासरह’ हुने नेता अर्जुननरसिंह केसी बताउँछन् । ‘जुन विचार बोकेर हामीहरू पाँच वर्षदेखि लड्दै आयौं तर अहिले नेतृत्व परिवर्तन गर्ने बेलामा आएर एक हुन सकेनौं भने त्यो आत्महत्या गरेसरह हुन्छ’ उनको भनाइ छ ।
पार्टीका साढे ९ लाखभन्दा बढी क्रियाशील सदस्यताबाट चुनिँदै आएका प्रतिनिधिहरूमा करिब ६० प्रतिशत ५० वर्षमुनिका छन् । यो पुस्ताको मागअनुसार नेतृत्वका लागि युवा नेताहरूले नै आँट नगरेका कारण नेतृत्व परिवर्तनमा ठूलो बदलाव आउनेमा आफू आशावादी नभएको नेता प्रदीप पौडेल बताउँछन् । अधिवेशनले युवाहरूको प्रतिनिधित्व बढाए पनि परम्परागत गुट भत्काएर अघि बढ्ने संख्या निकै कम हुन सक्ने पौडेलले बताए । ‘युवाहरूलाई तान्ने भनेको विचारले हो । वैचारिक बहस पनि नहुने र हाम्रो पुस्ताले नेतृत्वमा आँट पनि नगर्ने हुँदा परम्परा धान्ने अवस्थामै प्रतिनिधिहरू रहन सक्छन्,’ पौडेलले भने, ‘प्यानलबाट निर्वाचित भएर देशभरबाट आएका प्रतिनिधिहरूमा पाँच प्रतिशतभन्दा बढी यताउति हुने अवस्था मैले देखेको छैन ।’
संस्थापन र इतर दुवै खेमाका युवा नेताहरू सभापतिपछिको दोस्रो, तेस्रो पदका लागि मात्रै प्रतिस्पर्धामा देखिएका छन् । निश्चित खेमाको सहयोगीबिनै नेतृत्वका लागि प्रतिस्पर्धा गर्न नेविसंघका पूर्वअध्यक्ष कल्याण गुरुङ भने अघि सरेका छन् । चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरेलगायत संस्थापनइतर खेमामा रहेका युवा नेताहरूले भने नेतृत्वमा दोस्रो पुस्ताका नेतालाई अघि बढाएर उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका मुख्य सबै पदमा युवाहरूलाई अघि बढाउने रणनीति बनाएका छन् । ‘चौधौं महाधिवेशन हाम्रो सम्झौता हो भने पन्ध्रौं महाधिवेशन हामीहरूकै नेतृत्व हो,’ भण्डारी भन्छन्, ‘नेताहरू मिलेनन् भने पनि परिवर्तनको आकांक्षा राखेर आएका प्रतिनिधिहरूले सब मिलाउँछन् ।’
प्रकाशित : मंसिर १५, २०७८ ०८:२५