कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चुन्न शनिबार मतदान हुने 

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको दोस्रो दिन प्रतिनिधिको विवाद टुंगिएपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले छानबिन समिति बनाएको थियो ।

राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चुन्न शनिबार मतदान हुने 

सर्लाहीबाट दुईवटा समूहमा प्रतिनिधि पठाइएको, ललितपुरबाट तोकिएको भन्दा दुई जना प्रतिनिधिको नाम थपिएको र भक्तपुरमा निर्वाचन नै नगरी भागबन्डामा प्रतिनिधि चयन गरिएपछि विवाद भएको थियो । भक्तपुरमा प्रतिनिधि छनोटको निर्वाचन नहुँदा नगर, प्रदेश, क्षेत्र र जिल्लाका प्रतिनिधि आउनै सकेनन् ।

‘केही जिल्लाको प्रतिनिधिमा विवाद देखिएपछि हामीले ७७ वटै जिल्लामा चयन भएका महाधिवेशन प्रतिनिधिको नाम रुजु गर्न छानबिन समिति बनाएका थियौं,’ निर्वाचन अधिकृत राजु बस्नेतले भने । समितिले प्रतिनिधि विवाद टुंग्याउन सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान, तोरण गुरुङ, जनक प्याकुरेल, श्याम शाही, पुस्कर कार्की, श्यामशरण पाठकसहितको टोली बनाएको थियो । टोलीले टुंग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरेको हो । ‘बुधबार बिहानै टाँस्नुपर्ने मतदाता नामावली विवादका कारण टाँस्न सकिएको थिएन । छानबिनपछि हामीले पाएको नामावली सार्वजनिक गरेका छौं,’ बस्नेतले भने । मतदाता नामावलीमाथिको दाबी विरोध शुक्रबार बिहान साढे सात बजेबाट सुरु हुने उनले बताए । अन्तिम नामावली प्रकाशन गरेर शुक्रबार साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दिन सकिने व्यवस्था गरेको उनले बताए ।

पूर्वानिर्धारित तालिकाअनुसार बुधबार मतदाता नामावली प्रकाशन, बिहीबार उम्मेदवारको मनोनयन दर्ता र शुक्रबार मतदान हुने मिति तोकिएको थियो । ‘अब शुक्रबार उम्मेवारीको अन्तिम नामावली सार्वजनिक गरेर शनिबार मात्रै निर्वाचन हुनेछ,’ बस्नेतले भने । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुने उनले बताए । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेवारको नाम सेटिङ गर्न कम्तीमा २० घण्टा समय लाग्ने प्राविधिकहरूको भनाइ छ ।

‘केन्द्रीय सदस्यहरू विभिन्न क्षेत्र, समूहबाट छनोट गर्नुपर्ने भएकाले मतपत्र बनाउँदा मतदाता झुक्किन सक्ने भएकाले अध्यक्षबाहेकका पदका लागि विद्युतीय मतदान गर्न लागिएको हो,’ बस्नेतले भने, ‘अध्यक्षको भने सहज हुने भएकाले मतपत्रमै मतदान गर्ने व्यवस्था गरेका छौं ।’ निर्वाचनका लागि १ सय वटा भोटिङ मेसिन महाधिवेशन स्थलमा ल्याइनेछ । यसमध्ये ९१ वटामा एकै पटक मतदान गर्न सकिने बस्नेतले बताए । ५ वटा विकल्पका रूपमा राखिने जनाइएको छ । ४ वटा मेसिनमा भने मतदाता शिक्षाका लागि प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षको उम्मेदवारी दस्तुर एक लाख

राप्रपाको उम्मेदवार बन्न कम्तीमा १५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क लिएर शुक्रबार उम्मेदवारको मनोनयन गर्दै छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अध्यक्षमा उम्मेदवारी दिन चाहनेले एक लाख रुपैयाँ दस्तुत तिर्नुपर्ने हुन्छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्यस्तै केन्द्रीय उपाध्यक्षका उम्मेदवारले ७५ हजार, महामन्त्रीले ५० हजार र केन्द्रीय सदस्य बन्न चाहनेले १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनले १ सय ९४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । उम्मेदवारी दर्ताबाट मात्रै पार्टीले कम्तीमा ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको महाधिवेशन स्रोत व्यवस्थापन समितिका एक सदस्यले बताए ।

प्रकाशित : मंसिर १७, २०७८ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?