कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म जनतालाई समृद्ध बनाउन खोज्छु, केही मानिसहरूले रोक्छन् : केपी ओली

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेवापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् । सरकारमा जानबाट 'केही मानिसहरू'ले आफूलाई रोकेको उनको जिकिर छ ।

म जनतालाई समृद्ध बनाउन खोज्छु, केही मानिसहरूले रोक्छन् : केपी ओली

‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने उद्देश्यका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपाय खोज्ने गरेको ओलीको दाबी छ ।

सोमबार भक्तपुरमा निर्माण गरिएको एक ज्येष्ठ नागरिक आश्रम उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन् । उनले आफू कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताएका थिए ।

यस क्रममा अध्यक्ष ओलीले सडक बालबालिकाको व्यवस्थापनको काम आफूले नै सुरु गरेको दाबी गरेका छन् ।

ओलीले भने, ‘कमसेकम के चाहिँ भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता सुरु गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहृरु, अपांगता भएका व्यक्तिहरु समेतलाई प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रबन्धमा मैले पुर्‍याएको छु । आफैंले निर्णय गरेर । हाम्रा बालबालिकाहरु अनाथ भएर, सडकमा 'खाते' भएर बस्न सक्दैनन् । नेपालमा त्यस्तो सुहाउँदैन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरुको प्रबन्धहरु गराएँ, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढ्ने प्रबन्ध सुरु गराएँ । नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो ।'

आफ्नो कार्यकालमा विकास निर्माणका धेरै काम भएको र आफूले बिना स्वार्थ ती काम अगाडि बढाउन चाहेको पनि उनको भनाइ थियो । कुनै प्रतिफल नहेरिकन आत्मसन्तुष्टिका लागि आफूले ती कामहरू गरेको ओलीले बताएका थिए । तर आफूलाई सरकारमा रोक्न 'केही मानिसहरू' लागिपरेको उनको जिकिर थियो ।

'समृद्ध देश र जनतालाई सुखी बनाउनु पर्छ । देश समृद्ध होस्, जनता समृद्ध होस् । यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ । मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरु गर्नुको अर्थ उनीहरुको कारोबार बन्द हुन्छ । त्यसकारण केही मान्छेहरु त्यसको विरुद्धमा लाग्छन् फेरि । तर, यो चिन्ताको विषय होइन । हामी प्रतिफल के आउँछ भनेर होइन । दान दिएपछि के प्रतिफल आउँछ ? दान दिएपछि प्रतिफलभन्दा सन्तुष्टि मिल्छ । आनन्द मिल्छ । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ ? आनन्द मिल्छ त्यसबाट । सन्तोष मिल्छ त्यसबाट । त्यही हो प्राप्ति,’ ओलीले भने ।

यस्तै उनले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताएका थिए । यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए ।

प्रकाशित : असार १८, २०८० १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?