त्रिविमा सेमेस्टर: सकस कि सौभाग्य ?

डा. तारालाल श्रेष्ठ

काठमाडौ — मोफसलका मित्रहरूले सोधिरहन्छन्, 'केन्द्रीय क्याम्पसमा भर्ना कहिले खुल्छ ?

छोरा-छोरीलाई कीर्तिपुरमा डेरा खोजेर राखिदिँदा हुन्छ ? कतिपल्ट 'केही समय कुर्नुस्' भन्नु । यस वर्षदेखि सबै केन्द्रीय विभागमा त्रिविले सेमेस्टर प्रणाली लागू गर्ने भएपछि निश्चित विद्यार्थी भर्ना गरिने नीति बन्यो भने अहिल्यै 'कीर्तिपुरमा डेरा खोजेर बस्दै गर्नु' भन्न सकिन्न । सायद सबै सरोकारवालाले बेहोरिरहेका होलान्, यस्तै समस्या । त्रिविसँग सम्बन्धित समाचारहरूलाई सुनिरहेका होलान्, मैलेजस्तै ।
नकारात्मक समाचार सुन्ने हामीलाई आदतै परिसकेको छ । अहिले सेमेस्टर लागू गर्ने विषयमाथि पनि उस्तै समाचार सुनिँदैछ । ज्ञापनपत्रका परिदृश्यहरू र नकारात्मक अडकलबाजी सुरु भइसकेको छ । त्रिविको पुनःसंरचना मुलुककै पुनःसंरचनाभन्दा कम जटिल छैन । एकातिर हामी स्वर्ण जयन्ती मनाइसकेको गर्व गरिरहेका छौं, अर्कोतर्फ त्रिविको स्वाभिमानमाथि सोझै औंला ठड्याउने अवस्था छ । यही अवस्थामा त्रिविले यही वर्षदेखि सबै केन्द्रीय विभागहरूबाट सेमेस्टर प्रणाली सुरुवात गर्ने साहसिक निर्णय गरेको छ । डिन कार्यालयले सम्बन्धित केन्द्रीय विभागहरूलाई निर्देशन दिइसकेको छ । विभागले आपतकालीन मिटिङ गरिसकेका छन् । विषय समितिहरू पाठ्यक्रम निर्माणमा सक्रिय छन् । विडम्बना, केन्द्रीय विभागहरूमा अनिश्चित समयका लागि भर्ना रोकिएको छ । केन्द्रभन्दा बाहेक कलेजहरूमा भर्ना खुला गरिएको छ । अङ्ग्रेजी लगायत विद्यार्थीको चाप भएका विभागहरूमा कति विद्यार्थी लिने टुंगो छैन । सबैभन्दा बढी 'टुरिस्ट' विद्यार्थीको केन्द्र शिक्षा सङ्कायमा अझ बढी अन्योल छ ।
भर्खरै विद्यार्थी युनियनद्वारा सिनासमा आयोजित अन्तरक्रिया कार्यक्रममा त्रिवि पदाधिकारीमाथि व्यापक बहसबिनै 'कू'कै शैलीमा सेमेस्टरलाई 'गिनपिग' विभागलाई 'प्रयोगशाला' र 'सेन्टर फर एक्सिलेन्सको नाममा सेन्टर फर सम्भ्रान्त' बनाउन खोजिएको, 'अटोक्रेटिक अनाउन्समेन्ट', 'महासागर तर्न कागजको डुंगा', 'विदेशीको योजनाअनुरुप' जस्ता आरोप ओइरिए । सेमेस्टरको सोझै विरोध नभए पनि चुनौतीका चौतर्फी पहाडहरूतर्फ छलफल चल्दा चर्काचर्की भयो । भिसी, रेक्टर, रजिस्टार, डिन, विभागीय प्रमुख, शिक्षक, विद्यार्थी प्रतिनिधिहरू मैनबत्ती बालेरसमेत चिसो रातमा एकैठाउँमा अबेरसम्म बसी बहस गरे ।
नेपाली उच्चशिक्षाले आजसम्म सहज समय गुजारेको देखिन्न । १९७६ सालमा स्थापित त्रिभुवन-चन्द्र इन्टरमिडियट कलेजबाट सुरु उच्चशिक्षाको इतिहास झन्डै एक शताब्दी लामो छ । तर त्यसबेलाको उच्चशिक्षा सम्भ्रान्त शासक वर्गमै सीमित थियो । सक्नेहरू बनारस, कलकत्ता, इलाहावाद, पटना, पिथौरागढ पुग्थे, उच्चशिक्षा लिन । त्रिभुवन-चन्द्र कलेजमा सबैलाई भर्ना हुन छुट थिएन । उपत्यका बाहिरका विद्यार्थीले उपत्यका छिर्नसमेत अनुमति लिनुपथ्र्यो । नेपालमा अङ्ग्रेजी भाषाको अध्यापन हुन्छ भन्ने देखाउनमात्रै चन्द्रशमशेरले 'आफ्नो खुट्टामा आफैले बन्चरो हानेर' त्रिभुवन-चन्द्र कलेज खोलेका थिए । जसको जगबाट २०१६ सालमा त्रिवि जन्मियो । यही त्रिवि आज सबैभन्दा जेठोमात्र होइन, संसारकै विशालमध्ये एक बन्न पुगेको छ । जसको ७५ मध्ये मनाङबाहेक ७४ जिल्लामा पहुँच छ । त्रिविसँग पाँच प्राविधिक संस्था अन्तर्गत १ सय ५० विषय प्रविणता प्रमाणपत्र तहमा, १ हजार ७९ स्नातकमा र १००० स्नातकोत्तरमा गरी विद्यावारिधिसम्ममा करिब २२ सय विषयमा अध्ययन-अनुसन्धान सञ्चालनको अनुभव छ ।
आज पनि मुलुकको कुल विद्यार्थीमध्ये ९५ प्रतिशत भार त्रिविकै काँधमा छ । सङ्ख्यात्मकताले गुणात्मकतालाई सधैं ध्वस्तै गर्दैन । सङ्ख्यात्मक विकासविना गुणात्मक विकास सम्भव छैन । अन्यले महँगोमा करिब ५ प्रतिशत विद्यार्थीको भार बहन गरेर गुणात्मकताको दाबी गरे पनि अन्ततः त्रिविको अत्यधिक-अपरिहार्य भूमिकालाई सबैले स्वीकार्नैपर्छ । इतिहासको गौरव एकातिर छ, अर्कोतिर ग्रामीण भेगसम्म फैलनु र आम विद्यार्थीलाई सर्वसुलभ शिक्षा प्रदान गर्नुपर्ने बाध्यात्मक परिस्थिति त्रिविले सामना गरिरहेको छ । त्रिविलाई अन्तिम होइन, अग्रणी रोजाइमा राखिराख्न समयअनुरुप परिमार्जित गर्दै लैजानुको विकल्प छैन । पटक-पटक प्रयास नभएका पनि होइनन् । तर बिगार्न जान्ने बनाउन नजान्ने राजनीतिको प्रभावबाट त्रिवि बच्न सकेन । त्रिविले गुरुयोजनाका साथ समयसापेक्ष सेमेस्टरलाई व्यापक बहससाथ अपनाउनु आवश्यक छ ।
विशेष बहसले गहन गृहकार्यको माग गर्छ । कुनै पद्धतिलाई स्थापित गर्न सङ्कथनको ठूलो भूमिका हुन्छ । 'आयो-आयो सबैतिर, गयो-गयो सबैतिर'को शैलीमा २०२८ सालमै लागू गरिएको सेमेस्टरको असफलताबारे बहसै भएन । अहिले पनि सेमेस्टरमाथि भुनभुनाइरहेका नकारात्मक सङ्कथनहरूको समयमै सुनवाइ नभए थप जटिलता आइपर्न सक्छ । केन्द्रीकृत वाषिर्क प्रणालीले आजको आवश्यकतालाई सम्बोधन गर्दैन । दुई वर्षलाई दसवटा पेपरमा पाठ्यक्रम सीमित गर्नु, नयाँ विचारहरू प्रवेश निषेध गर्नु, ती विषयभन्दा बाहिर विशेषज्ञता हासिल गरेका युवालाई ढोका थुन्नु, युवा जोशलाई पल-प्रतिपल मार्ने शिक्षण प्रणालीको पृष्ठपोषण गर्नुमा तुक छैन । 'भर्टिकल' होइन, 'होराइजेन्टल अप्रोच'मा अनुसन्धानको क्षेत्र व्यापक बन्छ, पाठ्यक्रममा धेरै विशिष्ट क्षेत्रहरू समेट्न सकिन्छ । सेमेस्टरलाई अस्वीकार गर्ने अनि 'सेन्टर अफ एक्सिलेन्स'को अपेक्षा गर्न सकिन्न । अहिले भौतिकशास्त्रमा मात्रै करिब ७ सय शोधार्थी विश्वका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेको अनुमान छ । उनीहरूको पहिलो आकर्षणको केन्द्र त्रिवि बन्नुपर्छ, बन्न सक्छ । पूर्वाधारविहीन अवस्थामै त्रिवि सेमेस्टरमा जाँदैछ, २०२८ सालको सेमेस्टर र २०६२ बाट सुरु भई ०६७ मा अन्त्य भएको आन्तरिक परीक्षणले जस्तै 'ब्याक फाइरिङ' गर्नेछ भन्ने विलौना पनि सुनिन्छन् । नेपाल सरकारपछि सबैभन्दा सम्पन्न संस्था कुनै छ भने त्यो त्रिवि नै हुनसक्छ । त्रिविसँग पूर्वाधारको मुलुकभर कमी छैन । परिआए तीन सिफ्ट पठनपाठन, २४ सै घन्टा पुस्तकालय खुल्ला गर्न सकिएला । कुनै विभागमा एकजना विद्यार्थी सत्र जनासम्म प्राध्यापक रहेको तथ्य छ ।
पि्रन्सिपल डा. गोविन्द सुवेदीका अनुसार, केन्द्रीय क्याम्पस कीर्तिपुरमा ६ सय ९५ जना शिक्षक छन्, जसमध्ये प्राध्यापक २२.६, रिडर्स २१, लेक्चरर २८.४ र शिक्षण सहायक २८ प्रतिशत देखिन्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप एक शिक्षक बराबर बीस विद्यार्थीकै हाराहारीमा विद्यार्थी भार देखिन्छ । उपकुलपति प्रा. हीराकाजी महर्जनले औंल्याएझैं, 'केन्द्रीय क्याम्पस गुणस्तरीयताको नमुना बन्नैपर्छ । सेमेस्टर यहाँ सम्भव नभए कहीं हुन्न । यो सफल भए मुलुकभर यसको सकारात्मक असर पर्नेछ ।' सापेक्षतामै शुल्क निर्धारण र फागुन २ गतेबाटै क्षमता तथा समतामुखी आधारमा भर्ना लिइकन कक्षा सञ्चालन गर्ने रजिस्टार, रेक्टार र डिनहरूको बलियो प्रतिबद्धताले बृहत् बहसमार्फत सकारात्मक सन्देश सरोकारवालासम्म पुर्‍याउन विलम्ब भइसकेको सङ्केत गर्दैछ । विद्यार्थी प्रतिनिधिहरूले औंल्याएझैं, 'सबैभन्दा प्रमुख सरोकारवाला विद्यार्थी' नै हुन् भन्ने यथार्थलाई अवमूल्यन गर्न सकिन्न ।
'हेलमेट' शिक्षक 'टुरिस्ट' विद्यार्थी-मैत्री छैन, सेमेस्टर । अध्ययन-अध्यापनमै विशेष लगानी गर्नेहरूका लागि भने सेमेस्टर सम्भावनाको सुनौलो यात्रा बन्न सक्छ । सेमेस्टरमा शिक्षक-विद्यार्थी सँगै हुनुपर्छ । २०२८ सालमै राष्ट्रिय शिक्षा पद्धति यसैअनुरुप लागू गरिएको थियो । २०२९ देखि त्यसको कार्यान्वयन भयो । मुलुकभर छरिएर रहेका कलेजहरू त्रिविमा आबद्ध हुनआए । हेलिकप्टरकै सहारा लिएर नयाँ शिक्षाबारे अभिमुखीकरण गर्दै तत्कालीन रेक्टर, डिन लगायत हिँडेका इतिहास छन्, प्रकाशित निर्देशिकासहित । निकै उत्सवमयी किसिमले अघि बढाइएको सेमेस्टर प्रणाली २०३६ सालको विद्यार्थी आन्दोलनसँगै सङ्कटमा पर्‍यो, २०३८ सालदेखि अन्त्य भयो । अध्ययन सकिएपछि ६ महिना गाउँमा गएर पढाउनुपर्ने 'राष्ट्रिय विकास सेवा'समेत सेलायो । यो दुर्भाग्य थियो कि शौभाग्य ? शैक्षिक स्तरोन्नति, व्यावहारिक विषयको समावेश, प्रतिभाहरू भित्र्याउने पहल, अनुसन्धानमुखी अध्ययन तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि पनि सेमेस्टरजस्ता नयाँ प्रणाली अँगाल्नुको विकल्प छैन । विद्यार्थी चाप बढी भएका विशेष विभागलाई विशेष प्याकेज नीति अवलम्बन गर्न सकिएला । त्रिविमै एक दशक अघिदेखि सञ्चालित थुप्रै सेमेस्टर कार्यक्रम सफल छन् । योचाहिँ अहिल्यै असफलै हुन्छ भन्ने निष्कर्ष आधारहीन छन् ।
लेखक अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गर्छन् ।


प्रकाशित : पुस १५, २०७० १०:११
प्रतिक्रिया
पठाउनुहोस्

काठमान्डुको पिलो !

अखण्ड भण्डारी

काठमाडौ — कथा भन्न बसेकी हजुरआमालाई कविता पो फुरेछ । काखको नाति झकाइसकेको थियो ।

बर्खामा हिलो हुन्छ
हिउँदमा धुलो
बाहिर गई घर आउँदा
आँखामा पर्छ फुलो
सडकको बीचैमा
कति ठूलो दुलो ?
ढल फुटी दिसासरि
बग्छ त्यहीँ कुलो
अग्लो घरको छतबाट
र्झछ प्लास्टिक कालो
खोतलेर हेर्दाखेरि
गुहु हुन्छ आलो
नगरबाट महानगर
हुँदै गयो ठूलो
हड्डी-मासु बढे पनि
ज्यानचाहिँ झन् लुलो
हेर्दाहेर्दै बढिसक्यो
काठमान्डुको पिलो !
लौ न अब निचोरौं
भइसक्यो ढिलो !!
'पिलो' शब्द सुनेपछि जुरुक्क उठ्यो । किनकि उसलाई एक महिनाअघि त्यही पिलोले थला पारेको थियो । निचोर्दा पिप ननिखि्रएपछि डाक्टरकहाँ लगेर चिरफार गर्नैपरेको थियो । त्यो दिन सम्झँदा उसलाई अझै होसै गएजस्तो लाग्छ ।
'कसलाई आएछ रे पिलो ?' आत्तिँदै जुरुक्क उठेर उसले सोध्यो । 'काठमान्डुलाई', हजुरआमाले भनिन् ।
'को हो काठमान्डु भनेको ?'
'हाम्रो राजधानी ।'
'राजधानी भनेको ?'
'देशको मुटु ।'
'मुटुमै पिलो आएछ आमा ?'
'हो त ।'
'च्चःच्चः कति गाह्रो भो होला ?'
'त्यही त ।'  
'कत्रो छ काठमान्डु आमा ?'
'ठूलो ।'
'मभन्दा ठूलो ?'
'धेरै ठूलो ।'
'कसरी आएछ त त्यति ठूलोलाई पिलो ?'
'फोहोर बढेर ।'
'कसरी बढेछ त फोहोर ?'   
'सुन् कथा ।'
हजुरआमा कथा भन्न थालिन्-
एकादेशको एउटा राजधानी रहेछ । त्यसको नाम रहेछ काठमान्डु । भएका रूख ढालेर उजाड बनाए पनि 'मान्डु' सँग जोडिएको त्यसको 'काठ' कहिल्यै हटेनछ । काठैकाठले बनाएका अमूल्य एवं कलात्मक सम्पदा कुहुँदै गए पनि त्यसको 'काठ' कहिल्यै मक्किएनछ । सायद अग्राखभन्दा कडा होला त्यो !
त्यही भएर त त्यो जब्बर भएर जोगिएको जोगियै गरेछ ! तर त्यो काठले बचाउन सकेनछ आफ्नो साख । लुगा फेरेपछिकी बेहुलीजस्तै बिस्तारै शृंगारविहीन हुँदै गएछ काठमान्डु । क्रमशः खस्किँदै गएछ । यतिन्जेसम्म आइपुग्दा त शरीरभरि फोहोरै-फोहोर बोकेर दङदङ गन्हाउन पो थालेछ । रोगी, असभ्य र मेलोमेसो हराएको जस्तो देखिन थालेछ ।
त्यसका सडकमा हिँड्दा नाक थुन्नुपर्ने दिन आएछ । झोलामा फोहोर बोकेर नगरवासी फ्यात्त किनारमा फाल्दा रहेछन् । त्यो कुहेर दुर्गन्ध बढ्दो रहेछ । विस्तारका सिलसिलामा जताततै सडक भत्काइँदा रहेछन् । त्यहाँबाट निस्किएको फोहोर र धुलो-मैलो पेटीतिरै थुपि्रएका रहेछन् । तिनलाई न पन्छाइँदो रहेछ, न त निरन्तर निर्माण नै गरिँदो रहेछ । गरिगए पनि घरि कालो सूचीमा परेकालाई ठेक्का दिइँदो रहेछ, घरि कामै नगरी ठेकदार भाग्दा रहेछन् । सम्भवतः पैसै-पैसामा बिक्दा रहेछन् निर्णायकहरू । पैसा नभई त्यहाँ कुनै काम अघि नबढ्ने भएकाले सडक बन्ने साइत कहिल्यै जुर्दो रहेनछ ।
हाहाहा... सुट लाएर कार्यालय, कार्यक्रम वा समारोहमा जानेहरू हिउँदमा पनि रेनकोट ओढ्दा रहेछन् । पानी पर्छ भनेर होइन, सुट धुलोमैलो हुन्छ भनेर । आकर्षक गाडी चढ्नेहरू समारोहमा पुग्नुअघि यसो साइड लाएर झर्दा रहेछन् । गाडीको धुलो पुछपाछ गरेर इज्जतिलो बनाई गेटभित्र छिराउँदा रहेछन् । नत्र मान्छेचाहिँ टाइफिटिङ, गाडीमा भने फोहोरको मिटिङ हुने रहेछ । त्यस्तो केही नगर्नेहरू रागिनासे बनेर पुग्दा रहेछन् ।
त्यहाँका बासिन्दा घरभित्रै मास्क लाउँदा रहेछन् । झ्यालबाट छारो पसेर आँखामा असर गर्छ भनी सुत्दा पनि चस्मा लाउँदा रहेछन् । बर्खामा सडकमै पौडी खेल्न स्विमिङ कस्टम बोक्दा रहेछन् । हिउँदमा धुलो छेल्न अनुहारै ट्याप्प छोप्दा रहेछन् । धुलोको कुइरोले बाटै ढाक्ने हुनाले मोटरसाइकल वा साइकल चलाउनेले अन्दाजमा ठोक्दा रहेछन् । त्यसको केही दिनमै टीबी लागेर रातदिन खोक्दा रहेछन् । रोगै-रोगको घर बनिसकेछ राजधानी काठमान्डु ।
अन्यत्र पहिला पूर्वाधार बनाएर सहर बसाइन्छ । राजधानी भएर पनि काठमान्डुलाई त्यो भाग्य जुरेनछ । सहर बनेपछि सडक बनाइएछ । खानेपानीको पाइप बिछ्याउन खनिएछ । ढलका लागि फेरि भत्काइएछ । विस्तार गर्न फेरि खन्ने र भत्काउने काम भएछ । सुन्दै छु- मेलम्चीको पानी ल्याउन फेरि त्यसरी नै पिच उप्काउनैपर्छ रे । अचम्म छ, किन तालमेल नमिलाएका होलान् ? सडक भत्काएर पैसा त स्वाहा बनाए-बनाए, सधैं फोहोर पारेर त्यहाँका बासिन्दाको जीवन किन ध्वस्त पारिदिएका होलान् ?
भगवान् पशुपतिनाथको वासस्थान काठमान्डु स्वर्गजस्तो हुनुपर्ने, नर्कजस्तै हुँदै गएछ । तिनै भगवान्लाई चढाउने 'पवित्र' वाग्मतीमा समेत ढलैढल बग्दो रहेछ । त्यहीँको जलले 'चोख्याएर' तीर्थालुहरू आफू र पशुपतिलाई 'शुद्ध' बनाउँदा रहेछन् । थाहा छैन- त्यसलाई शुद्ध भनिन्छ कि अशुद्ध ? धार्मिक स्थलसम्म सफा र चोखो राख्न नसक्ने हाम्रो कल्याण पो कसरी होला र ?
बोल्दा-बोल्दै हजुरआमा रोकिइन् । छेउमा भएको तातो पानी एक घुट्की पिइन् । सरकारी धाराबाट आजै थापेर भकभक उमालेको त्यो पानी पनि ढलजस्तै गन्हायो । दिक्क मान्दै मुख लेप्य्राइन् । र नातितिर हेरेर सोधिन्, 'यसरी सबैतिर फोहोरै-फोहोर भएपछि काठमान्डुलाई आउँदैन त पिलो ?'
नातिले जवाफ दिएन । घचघच्याइन्, फेरि बोलेन । यसो हेर्दा ऊ त निदाइसकेको पो रहेछ !
------
मस्त निद्रामा रहेको त्यो नाति कतै हामी नै त होइनौं ? सबैले चिमोटिहेरौं त आफू-आफूलाई ! 

प्रकाशित : पुस १५, २०७० १०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्