कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

दिल्लीमा वैकल्पिक फिल्म

फूलमान वल

नयाँदिल्ली — केही दिनअघि नयाँदिल्लीका सबै फिल्म हलमा 'धुम-३'को उधुम थियो । हलमा पुग्नेहरू अर्कोदिनको टिकट लिएर फर्किन्थे, बक्सअफिसमा लेखिएको हुन्थ्यो, 'हाउस फुल ।' ठीक यही बेला कनाड प्लेसस्थित एनडीएमसी कन्भेन्सन सेन्टरभित्र दिल्ली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका निर्देशक रामकिशोर पर्छा उत्तिकै चटारोमा थिए ।


दिल्लीमा वैकल्पिक धारको फिल्म निर्माण र प्रदर्शन संस्कृति बढावा गर्न गतवर्षदेखि सुरु फेस्टिभलको दोस्रो संस्करण क्रममा उनी थिए, यसको उद्घाटन थाइल्यान्डकी राजकुमारी डा. मामलुग राजदरसरी जैनकुरा, बलिउडका शत्रुघ्न सिन्हा लगायतले गरेका थिए । 'खुसीको कुरा यो छ कि,' महोत्सवको चौथो दिन भेटिएका निर्देशक रामकिशोरले भने, 'वैकल्पिक तथा स्वतन्त्र फिल्म रुचाउने दर्शक दिल्लीमा उत्तिकै छन् ।' उनको अनुभवमा व्यापारिक फिल्मले हलबाट जतिसुकै मुनाफा उठाए पनि सामाजिक विषय र उत्तरदायित्वको हकमा स्वतन्त्र फिल्मको मूल्य बढी हुन्छ । 'पैसा कसरी असुल्नेभन्दा पनि फिल्ममा उठाइएका मुद्दाले कसरी सामाजिक बहस गर्छ भन्ने ठूलो हो,' उनले भने, 'र, यस्ता फेस्टिभल अन्तर्राष्ट्रिय स्तरको अनुभव साट्ने उचित फोरम पनि हुन् ।'
उनले नेपालको सन्दर्भ पनि जोडे । फेस्टिभलको पहिलो र दोस्रो दुवै संस्करणमा नेपालले सहभागिता जनाएकोप्रति उनी खुसी थिए । 'यसपटक सर्ट फिल्म जेनेरेका लागि नेपालबाटै जुरी सदस्य निम्त्यायौंं,' उनले भने, 'धेरै सूचना त छैन तर नेपालमा स्वतन्त्र फिल्मको माहोल पक्कै बढेको हुनुपर्छ ।' गतवर्ष नेपालबाट लागि सर्ट फिल्म 'दियाली' छानिएको थियो । अरुणदेव जोशी र सचिन घिमिरे निर्देशित फिल्मले सिन्धुपाल्चोकको एउटा गाउँको अशिक्षाको कथा बाहिर ल्याएको थियो । यही फिल्म निर्देशकमध्ये अरुणलाई यसपटक जुरी सदस्यका रूपमा निम्त्याइएको थियो । नेपालबाट भने यो वर्ष कमल भट्ट निर्देशित 'चोखाउनी' छनोटमा पर्‍यो । महोत्सवको दोस्रो दिन देखाइएको यो फिल्म एक थारू महिलाले परपुरुषसँग लुकेर राखेका सम्बन्धमा आधारित थियो । यौन र नारीप्रति थारू समाजको परम्प्ारागत दृष्टिकोण समेटिएको फिल्मले लैंगिक हिंसा र बलात्कारजन्य समस्या एकपछि अर्को गर्दै देखिँदै गएको दिल्लीको समाजमा फरक अर्थ राख्थ्यो ।
'यस्तो चलन पनि रहेछ भन्ने थाहा पाउनु नै मेरा लागि ठूलो ज्ञान थियो,' महोत्सवमा नेपाली फिल्म हेर्न भ्याएका दिल्लीस्थित इन्टरनेसनल इन्स्िटच्युट अफ फेसन टेक्नोलजीका स्ांस्थापक अध्यक्ष रत्नदीप लाल भन्दै थिए । परपुरुषसँग लागेको आरोप खेपेकी महिलामाथि हुने पारम्परिक निर्णयप्रति उनको मुख्य चासो थियो, जुन 'चोख्ााउनी'को मुख्य चुरो थियो । ३७ मुलुकका फिल्म सहभागी महोत्सवमा नेपालीको भागमा अवार्ड नपरे पनि निणर्ायक बनेर पुगेका जोशीले नयाँदिल्लीमा भन्दा काठमाडौंमा वैकल्पिक फिल्मको माहोल बढेको दाबी गरे । 'काठमाडौंमा वर्षमा आधा दर्जन बढी साना ठूला महोत्सव हुन थालेका छन्,' उनले भने, 'दर्शक पनि हाम्रोमा चित्तबु्झो नै छ ।'
फेस्टिभल निर्देशक रामकिशोरले पनि नयाँदिल्लीमा वैकल्पिक फिल्मका दर्शक बढेको दाबी गरे । 'दिल्लीबाट इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया गोवा सरेपछि दिल्लीमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुन छाडेको थियो । त्यसैले यो महोत्सव सुरु गरेका हौं,' उनले भने, 'हलमा गएर सस्तोमस्तो फिल्ममा रमाउने दर्शक थोरै भए पनि गम्भीर विषयतिर तानिनु सकारात्मक ठान्छु ।'
दर्शक तान्नकै लागि यसपटक पनि निःशुल्क व्यवस्था मिलाइएको उनले जनाए । रमाइलो के भने फिल्म फेस्टिभलसँगै चित्र प्रदर्शनी, फेसन शो र तस्बिर प्रदर्शनी पनि गरिएको थियो । 'दिल्लीमा फिल्मको वैकल्पिक धार फस्टाउँदै छ', रामकिशोरले भने- 'यसैमा खुसी छु ।'

प्रकाशित : पुस १७, २०७० १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?