कांग्रेसको गलत स्वास्थ्य परीक्षण

कांग्रेसको समस्या देउवा हुँदै होइनन्, समस्या उनलाई पार्टी सभापति बनाउने पद्धतिका सहभागीहरु सबै हुन् ।
विष्णु सापकोटा

काठमाडौँ — साधारणतया: चुनावमा नै जनताद्वारा हराइएको राजनीतिक शक्तिका बारेमा सम्बन्धित दलका र उक्त दलको आबद्धतामार्फत कुनै प्रकारको लाभांश पाउने व्यक्तिलाई बाहेक अरूलाई धेरै लेख्न–बोल्न त्यति चासो लाग्नु नपर्ने कुरा हो ।

उक्त पार्टीले गरेका काम–कारबाही ठीक थिएनन् भनेर त जनताले चुनावमार्फत नै भनिसके भने अब त्यही कमजोरीलाई फेरि धेरै दोहोर्‍याउनु झनै आवश्यक होइन । मोटामोटी लोकतन्त्र संस्थागत हुँदै गएको अहिलेको नेपालको स्थितिमा नेपाली कांग्रेस पार्टी सानो वा ठूलो हुनुले तात्कालिक परिस्थितिमा देशलाई फरक पनि धेरै नपर्न सक्छ । चुनावबाट ताजा जनादेश र ताजै स्फूर्तिका साथ पुन: शक्तिमान् भएका दल र वाम गठबन्धनकै चरित्र र प्रवृत्तिबारे आलोचनात्मक विश्लेषण गर्नु बढी जिम्मेवार पनि हुन्छ, किनभने ‘ठूला’ पार्टीले नै ठूलो गल्ती गर्ने जोखिमको सामथ्र्य राख्छन् । तर चुनावपछिका दुई महिनासम्म नेपाली कांग्रेसले बेहोरेको चुनावी पराजय र अब ऊ फेरि कसरी सुदृढ हुन सक्ला भनेर आएका आम दृष्टिकोण आधारभूत प्रश्नमा प्रवेश गर्नै हिचकिचाएको भान हुन थालेको छ । अर्थात्, कांग्रेस बिरामी छ भन्ने कुरा त चुनावको परिणामले प्रमाणित गरिसक्यो । तर किन बिरामी भएको छ भनेर गरिएको उसको स्वास्थ्य परीक्षण नै गलत विधिले गरिएको छ । तसर्थ यो आलेख कांग्रेसले किन पराजय भोग्यो भन्ने विषयमा होइन, पराजय भोग्नुका कारणबारे गरिएका मूल्यांकनले मूल प्रश्नतर्फ प्रवेश नै गर्न नसकेको विषयमा केन्द्रित हुनेछ ।

Yamaha

कांग्रेसको पराजयको पहिलो गलत स्वास्थ्य परीक्षण नै अहिलेको नेतृत्वलाई दोष दिएर गरिने विश्लेषण हो । विगत १५–२० वर्षदेखि पार्टी फुट्दा र जुट्दाका सबै वर्ष जोडेर हेर्दा कांग्रेस जसरी चलिरहेको थियो, त्यस बाटोबाट अहिलेको वा अहिलेको जस्तै नेतृत्व चुन्नेभन्दा अर्कोखालको नेतृत्व चुनिनु सम्भव नै थिएन । आफू सबै मिलेर दललाई यस्तो नेतृत्व चुन्ने अवस्थामा पुर्‍याउने, अनि अहिले चुनाव हारेपछि त्यही नेतृत्वलाई नै दोष लगाउने कुरा सुन्दा पनि हास्यास्पद हो । नेपाली कांग्रेसको समस्या शेरबहादुर देउवा हुँदै होइनन् । कांग्रेसको समस्या देउवालाई पार्टी सभापति बनाउने पद्धतिका सहभागीहरू सबै हुन् । सुरुमै यो कुरा पनि प्रस्ट पारौं कि यसो भनेर देउवाका पछिल्लो महाधिवेशनका प्रतिस्पर्धी रामचन्द्र पौडेल सभापति भएको भए स्थिति अर्कै हुन्थ्यो भन्न खोजिएको हुँदै होइन ।

तर प्रश्न के हो भने– अहिले चुनाव हारेपछि जसले हारको लागि दोषी देउवाको नेतृत्वलाई ठानेका छन्, उनीहरूले के त्यसो भए चुनाव नहुन्जेल देउवाले पार्टीलाई चुनावमा जिताउने नेतृत्व दिन सक्छन् भनेर पत्याएर बसेका थिए ? देउवा कांग्रेसका समस्या किन हुँदै होइनन् भनेर अलि विस्तारमा चर्चा गर्नुभन्दा पहिले अर्को दोस्रो हास्यास्पद तर्कको पनि छोटकरीमा उल्लेख गरौं । हरेक राजनीतिक दलमा जब नेतृत्व काम नलाग्ने भयो भनेर पुरानो नेतृत्वको असफलताको चर्चा गरिन्छ, तब हामीमध्ये धेरैले धेरै नसोचीकन सुझाउने उपाय भनेको ‘अब युवा नेतृत्व आउनुपर्‍यो’ भन्ने नै हुन्छ । यो कत्ति पनि सिर्जनशील नभई सुझाउने उपाय मात्र हो । नेतृत्व बूढोभन्दा युवा हुनु त स्वयंमा राम्रो हो तर त्यसभन्दा पनि मूल प्रश्न भनेको नेतृत्वको राजनीतिक क्षमता, बौद्धिक प्रस्टता र चारित्रिक शुद्धता नै हो । खास अर्थमा कांग्रेसको अहिलेको समस्या चुनावी पराजय पनि होइन । चुनावको पराजय कांग्रेस केही वर्षदेखि जस्तो धरातलमा उभिँदै गइरहेको छ, त्यसको एउटा सह–उत्पादन मात्र हो । त्यसैले युवा नेतृत्वको क्षमता र योग्यतालाई पनि आलोचनात्मक रूपमा अलग गरेर नहेरी, एकमुष्ट ‘लालुपाते’ कुरा गरेर यथार्थको नजिक पुगिँदैन ।

आकारमा ठूलो पार्टी बन्नु स्वयंमा सधैं ठूलो कुरा नहुन सक्छ । तर मूल कुरा कुनै दलले कुन आदर्श कसरी प्रतिनिधित्व गर्छ भन्ने कुरा हो । त्यसका लागि कांग्रेस तयार हुनुपर्ने पहिलो कुरा हो– आफैंलाई सबैभन्दा कठोर र निर्मम प्रश्न सोध्नका लागि । उदाहरणका निम्ति, त्यो प्रश्न हुन सक्छ– लोकतन्त्र लगभग सुनिश्चित भएको अहिलेको नेपालमा कांग्रेसजस्तो पार्टी किन अस्तित्वमा रहनुपर्छ ? सभ्यताको सुरुदेखि नै दार्शनिकहरूले मान्छेको जात नै पृथ्वीमा आउनु–जानुको कुनै उद्देश्य छ कि छैन भनेर समग्र जीवनको अर्थ र अर्थहीनतामाथि त सधैं प्रश्न गरेका छन् भने सात दशकअघि एउटा निश्चित उद्देश्य लिएर बनेको पार्टी उक्त उद्देश्य पूरा भएपछि किन अस्तित्वमा रहिरहनुपर्छ भनेर एउटा बौद्धिक प्रश्न सोध्न किन डराउने ? यदि बीपी कोइरालाले दीक्षित गरेको पार्टीमा अलिकति पनि उनको बौद्धिक र दार्शनिक आँट बाँकी छ भने अहिले कांग्रेसले आफ्नो स्वास्थ्य परीक्षणका लागि यही प्रश्नको उत्तर खोजेर सुरु गर्नुपर्छ । यो प्रश्न जति निर्मम सुनिन्छ, त्यति नै कांग्रेसका लागि महत्त्व राख्ने प्रश्न हो भनेर बुझ्न एउटा रोचक विश्व इतिहासको परिप्रेक्ष्यको उदाहरणबाट कुरा अगाडि बढाऔं ।

आधुनिक इतिहासका ४–५ सय वर्षमा संसारभर एकैचोटि त्यति ठूलो विध्वंस र उथलपुथल दोस्रो विश्वयुद्धअघि भएको थिएन । त्यत्रो ठूलो युद्धको असर संसारभरजसो त थियो नै, युद्धमा ‘असल’ राष्ट्रहरूका पक्षको नेता राष्ट्र बेलायतमा त कति थियो कति । तर जब सन् १९४५ मा युद्ध सकियो, अन्य युरोपेली राष्ट्रमा जस्तै बेलायतमा पनि बाँचेका मध्ये धेरैलाई आशा थियो– मान्छेले नै सिर्जना गरेको यत्रो ठूलो विध्वंस भोगेपछि अब सबै कुरा आफैं ठीक हुन्छ । अब राजनीतिक नेताहरूले असल काम मात्र गर्छन्, सामाजिक न्याय वास्तवमै सबै जनताले महसुस गर्न पाउने गरी अनुभूत हुनेछ आदि । तर पनि ’५० को दशक सुरु हुँदासम्म फेरि ‘बिजिनेस एज युजुअल’ अर्थात नेता, कर्मचारी, सरकार सबै फेरि उस्तै–उस्तै हुन थालेका थिए व्यवहारमा । मानौं, त्यत्रो ठूलो विश्वयुद्ध भएकै थिएन । त्यत्रो ठूलो युद्ध भोगेर आएपछि पनि अन्याय र असमानताका तत्त्व ज्युँका त्युँ रहिरहे । तर ’५० को दशकमा युवा हुँदै हुर्केको नयाँ बौद्धिक समुदाय युद्धमा सामेल हुन पाएको वा परेको थिएन । अब यो पुस्ता यस्तो समयमा आइपुग्यो, जहाँ न समाज वाचा गरिएअनुसार सुध्रेको छ, न त यो नयाँ पुस्तालाई कुनै ‘कज’ वा आदर्शका निम्ति लड्ने ठाउँ नै बाँकी छ । त्यो बेलाको बेलायती समाजका बौद्धिक युवाको यही मनोदशालाई नै रिसाहा युवा वा ‘एंग्री योङ म्यान’ भनिने भनेर चर्चा गर्न थालिएको हो । यी रिसाहा युवा बौद्धिकमध्येका प्राय: संस्कृति–साहित्यकर्मी थिए । तीमध्ये धेरैलाई लाग्ने गथ्र्यो– बरु अलि अगाडि जन्मेको भए त सोझै युद्धमा सामेल हुन पाइन्थ्यो, कर्तव्य पूरा भइहाल्थ्यो । अहिले अब के गर्ने ? त्यसैले उनीहरूले युद्धको निकट इतिहासलाई कहिलेकाहीं ईष्यापूर्वक पनि हेर्थे । त्यो समूहका त्यति बेलाका २६ वर्षे लेखक जोन ओस्बर्नको चर्चित कृति ‘लुक ब्याक इन एंगर’ ले यो बौद्धिक मनोदशाको राम्रो प्रतिनिधित्व गरेको मानिन्छ ।

नेपाल अहिले एक हिसाबले त्यस्तै राजनीतिक र बौद्धिक मनोदशामा पुगेको छ । लोकतन्त्र पुन: संस्थागत भइसक्यो । शान्ति पनि आइसक्यो । संघीयता पनि लागू भइसक्यो । तर यी सबै कुरा भएपछि पनि जनताको जीवनस्तरमा कुनै सुधार हुने छाँट तुरुन्तै छैन । अब राजनीतिक लडाइँ लडौं भने, के ‘कज’ का लागि लड्ने ? नलडौं भने– के हेरेर बस्ने ? यही मनोदशाको बीचमा कांग्रेसको चुनावी पराजय र त्यसपछिको छटपटीलाई हेरौं । सबै राजनीतिक मुद्दा सकिएपछि एउटा स्थिरता र समृद्धिको नारा थियो, त्यो पनि वाम गठबन्धनले एकलौटी बनाइसक्यो । संघीयताको अपनत्व र जस मधेसी दललाई छ, कांग्रेसलाई छैन । राष्ट्रवाद भनेको जस्तोसुकै होस्, त्यो एमालेले एक्लै खाइरहेको छ । राष्ट्रियता भनेको के हो बताइदिने भाष्य आफंैसँग छैन, भएको अलिकति पनि भारतको नाकाबन्दीले खाइदियो । लोकतन्त्र खतरामा छ भन्न खोज्यो, कसैले पत्याइदिँदैन । तसर्थ, अहिले कांग्रेसलाई फेरि सुधारेर ठूलो दल बनाउनुपर्छ भन्नेहरूले पहिला सोध्नुपर्ने प्रश्न हो– आज १८–२० वर्ष पुग्दै गरेको कुनै युवा यस पार्टीमा के काम गर्छु भनेर सदस्यता लिन आउने ? बेलायतका ती युवा समूहजस्तै– न त अब लोकतन्त्रका लागि लड्छु भन्ने ‘कज’ बाँकी छ, न त लोकतन्त्र नै लोकतन्त्रजस्तो छ । त्यसको अर्थ प्रस्ट के हो भने– अहिलेसम्म जुनजुन ठूला कुराका नाममा एक हिसाबले सजिलो राजनीति गर्न पाइएको थियो, अब त्यो अवसर उपलब्ध छैन ।

अहिले वाम गठबन्धनले नारा बनाएका स्थायित्व र समृद्धिका कुरा कुनै कम्युनिस्ट विचारधाराअन्तर्गतका कुरा मात्र होइनन् । तिनै नारा कांग्रेसले पनि उठाउन सक्थ्यो तर सकेन । किन उठाउन सकेन भने अहिलेको कांग्रेसको जुन समग्र नेतृत्व छ, उसले उठाउन जानेको नारा लोकतन्त्रको मात्र थियो । एकछिन विचार गरौं– २०४८ सालमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल मन्त्री भएपछि २०७० को मध्यसम्म उनीहरू केके आधारमा पार्टीको वरिष्ठतम ठाउँमा पुगेर राज गर्न सकिराखेका हुन् ? यो कर्मचारीतन्त्रमा हुने ‘फाइल बढुवा’ भन्ने प्रक्रिया छ नि, ठीक त्यस्तै हो । आफूमाथिका हाकिमलाई रिझाउने, वर्ष कटाउने र पदोन्नति लिने । देउवा र पौडेललाई उदाहरणका रूपमा लिएको मात्र हो । त्यति बेलादेखि केन्द्रीय तहमा रहेकाहरू सबैको हालत उस्तै हो । त्यही फाइल बढुवामा एक–दुई नम्बर यताउति भएर एउटाका ठाउँमा अर्को आउला तर त्यहाँ सोझै खुला ‘लिखित’ परीक्षा उत्तीर्ण भएर आएको कोही छैन ।

यदि कांग्रेसले आफ्नो पराजयको वास्तविक स्वास्थ्य परीक्षण नडराई गर्ने हो भने उसले घोत्लिनुपर्ने कुरा के हो भने– जीवन–दर्शनका आधारमा राजनीति रोजिने हो, राजनीतिका आधारमा जीवन–दर्शन रोजिने होइन । पहिले कांग्रेस हुने, अनि किन कांग्रेस भएको हो भनेर खोजेर कहीं पनि पुगिँदैन । समाजको कुन आदर्शका लागि कुन विधिबाट लाग्छु भन्ने कुरा पहिले जीवन–दर्शन छानेपछि आउने हो । कांग्रेस पार्टी स्थापना गर्ने र त्यो अभियानमा ’२०–’३० को दशकसम्म लाग्नेहरूमध्ये धेरै पढे–लेखेका र आफूले देखेको प्रजातन्त्र र जीवनका अरू आदर्श यो विधिबाट पाउन सम्भव छ भनेर लागेका थिए । अहिले उक्त पार्टीमा कुन आदर्शका लागि लाग्ने, र उक्त पार्टी नभए देशमा के अनर्थ हुनेवाला छ ? ठीक छ, यसो भन्न सकिन्छ कि कांग्रेस झन् कमजोर भयो भने त वाम गठबन्धन कम्युनिस्ट अधिनायकवाद ल्याउनेतर्फ लाग्छ । तर त्यसको जवाफ के होला भने– लोकतन्त्र त अब जस्तो भए पनि नेपालीको जीवनशैलीजस्तै भइसक्यो । तसर्थ अब लोकतन्त्र गुम्न नै लाग्यो भने त विवेकशील साझा पार्टी वा जीवित रहुन्जेल सामाजिक अभियन्ता डा. गोविन्द केसी एक्लैले यसलाई फिर्ता ल्याइदिन सक्छन् ?

पुराना असफल नेताबाट हुँदैन भनेर कस्सिएका युवा नेताहरू केमा प्रस्ट हुन जरुरी छ भने– तपार्इं अग्रजहरूको पालो पुग्यो, अब अवकाश लिनुस् भनेर अनुरोध गर्दैमा कसैले पार्टी छाडेर जानेवाला छैन । ‘मेरा साना दु:खले आज्र्याको पार्टी र पद होइन’ भन्ने प्रतिबद्धता सबैजसो ‘अग्रज’हरूमा छ, किनभने अरू नभए पनि उनीहरू आफैं आफ्नो इतिहासको पौरखप्रति प्रतिबद्ध छन् । दोस्रो र सबैभन्दा महत्त्वको कुरा– युवा नेतृत्वका लागि पार्टीलाई पुनर्जीवन दिन यथेष्ट ठाउँ छ तर उनीहरूले त्यो ठाउँमा प्रभाव जमाउनै सकेका छैनन् । युवा पंक्तिकाहरू जुझारु त होलान् तर त्यो ‘स्पेस’ मा राम्रोसँग प्रभाव जमाउन नसक्नुका पछाडि उनीहरूको बौद्धिक अगुवाइमा भएको कमजोरी हो । कतिपय लोकप्रिय मुद्दामा उनीहरू आवाज त दिन्छन्, तर ती विषयलाई सैद्धान्तिकीकरण गरेर प्रस्ट विचारका रूपमा स्थापित गराउन उनीहरू कमजोर छन् । यदि ती दृष्टिकोणलाई बौद्धिक उचाइ र प्रस्टताका साथ दलभित्र र बाहिर स्वीकार्यता बढाउन उनीहरू सफल भएका हुन्थे भने पार्टीको वैचारिक नेतृत्व उनीहरूतर्फ आउँथ्यो । अहिलेसम्मको अनुभव भनेको दलको नेतृत्वलाई कुनै मुद्दाविशेषमा चुनौती दिएको त देखिएको छ, तर त्यो चुनौतीलाई एउटा संगठित दृष्टिकोणका रूपमा स्थापित गराएर पार्टीपंक्तिलाई नै त्यसतर्फ डोर्‍याउन उनीहरू सफल छैनन् ।
निष्कर्षमा, अरू पार्टी पनि आखिर त्यस्तै हुन्, पाँच वर्ष सरकार चलाउँदासम्म तिनीहरू त्यसै खुइलिनेछन् र फेरि पालो आइहाल्छ भन्ने तर्क कांग्रेसभित्र पक्कै होला । कांग्रेस एउटा चुनावबाट सकिने पार्टी हो र भन्ने कुरा त भइहाल्यो । यी दुवै कुरा साँचा नै हुन् । तर पनि आधारभूत प्रश्न भनेको– कांग्रेस पार्टी केका लागि भइराख्नुपर्ने भन्ने नै हो । अरू पनि त्यस्तै छन्, तसर्थ हामी पनि यस्तै रहे पनि हुन्छ भन्ने एउटा कुरा, हैन भने– कोही मानिस राजनीतिमै किन लाग्नुपर्छ भन्ने पहिलो प्रश्न हो भने राजनीतिमा लाग्छु भन्नेमध्ये कांग्रेस किन हुने भन्ने प्रश्न सँगसँगै आउँछ । अन्य दलमा लाग्नेका लागि यो प्रश्न लागू हुँदैन भन्ने त होइन, तर यस लेखको प्रसंग कांग्रेस भएका कारणले गर्दा अहिलेका लागि यो प्रश्न उनीहरूप्रति नै समर्पित छ।

Esewa Pasal

प्रकाशित : माघ २८, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वामपन्थी सपनाको वियोगान्त

दुवै पार्टीसँग अलग–अलग आस मारेका वाम बौद्धिकहरु किन फेरि यी दुई पार्टी एक ठाउँमा आए भने वाम क्रान्ति नै हुनेजस्तो आशा गर्छन् ?
विष्णु सापकोटा

काठमाडौँ — विसं २००६ मा सुरु भएको ‘माक्र्सवादलाई नेपाली सन्दर्भमा विकास गर्ने’ सिलसिला ६८ वर्षका बिभिन्न वाम विद्रोह, क्रान्ति र आन्दोलनका प्रयोगहरूको चरण पार गरेर अहिले अर्को रोचक घुम्तीमा आइपुगेको छ । इतिहासको त्यो घुम्ती अहिले नेकपा—एमाले र माओवादी केन्द्रको तालमेलले प्राप्त गरेको चुनावी विजयको उत्साह र घोषित पार्टी एकताको भविष्यको आशा र संशयमा आएर अडिएको छ ।

दुई ठूला वाम पार्टीको एकता गरेर ‘माक्र्सवादलाई थप विकास गरी अझ उचाइमा लगिने’ आशाले सम्बन्धित दुबै पार्टीका नेता र सदस्यलाई उत्साह दिने कुरा त साधारण नै भयो । तर त्योभन्दा पनि धेरै उत्साह ती दलहरूभन्दा बाहिरका ठूलो संख्यामा रहेका वाम बुद्धिजीवी, लेखक तथा अन्य ‘वाम’ शुभचिन्तकमा छ । यस लेखले चर्चा गर्न खोजेको नेपाली वामपन्थी सपनाको वियोगान्त ठ्याक्कै त्यही गैरदलीय वामवृत्तको हालको उत्साहको मनोविज्ञानसंँग जोडिएको छ । नेपालको वामपन्थी आन्दोलन अहिले कहाँ पुगेको छ भनेर बुझ्न यी दल बाहिर रहेका तर इतिहासका बिभिन्न खण्डदेखि वामपन्थी नै भनिएर चिनिएकाहरूबीच वाम एकता हुने कुराले ल्याएको उमंग र तरंगको मर्मलाई बुझ्न जरुरी छ ।

कहिलेकाहीं फराकिलो विषयमा प्रवेश गर्न सांँघुरो सन्दर्भले बढी सजिलो बनाउँछ । हालै सम्पन्न निर्वाचनको संघारमा ११ जना ‘वाम बुद्धिजीवी’ले वक्तव्य निकालेर नेपाली वामपन्थी आन्दोलनको इतिहासका एक प्रमुख हस्ती बाबुराम भट्टराईलाई गोर्खाको संसदीय चुनावमा हराउन अपिल गरेका थिए । उनीहरूको नजरमा भट्टराईभन्दा ‘श्रेष्ठ’ नेता नारायणकाजी श्रेष्ठ थिए । ती ११ जना वाम बुद्धिजीवीको वक्तव्य आएपछि धेरैलाई आश्चर्य किन लाग्यो भने नेपालको वामपन्थी आन्दोलनलाई योगदान दिएको तुलना गर्ने हो भने पनि श्रेष्ठभन्दा भट्टराई नै अगाडि थिए । व्यक्तिगत योग्यताका हिसाबमा त झन् भट्टराई उनका समकालीन सबै पार्टीका नेतामध्ये योग्य भनेर सबैले स्वीकार गरेको कुरा थियो । त्यसमाथि पनि ती ११ जनामध्ये कतिलाई त भट्टराईकै पहलमा राज्यका बिभिन्न निकायमा लगेर काम गर्न भूमिका दिइएको भन्ने पनि थियो । यी सबै कुराका बाबजुद नारायणकाजीको पक्षमा आएको त्यो वक्तव्यलाई नेपालको वामपन्थी सपनाको वियोगान्तसँंग जोडेर मात्र बुझ्न सकिन्छ । वक्तव्य निकालेर जति नै कमसल उम्मेदवार भए पनि वाम गठबन्धनको व्यक्तिलाई जिताउनुपर्छ भनेर आºनो सपना छताछुल्ल पारेकाको संख्या सानो भए पनि अबको नेपालको क्रान्तिको स्वरूप नै दुइटा पार्टी मिल्नु हो भनेर विश्वास गर्ने वामपंक्तिको संख्या निकै ठूलो छ । विद्रोह, क्रान्ति र आन्दोलन सबैको चरण पार गरिआएको नेपाली वामपन्थको अबको मूल सपना र संघर्ष नै एउटा ठूलो संसदीय दल कसरी बनाउने र पाँच वर्ष सरकार र पार्टी कसले, कसरी चलाउने भन्ने कुरामा सीमित हुनआएको छ । ६८ वर्ष देखिको त्यो वाम सपनाको अहिलेको मोड र त्यो मोड किन वियोगान्त छ भन्ने बारेमा यस लेख केन्द्रित हुनेछ ।

नेपालको वामपन्थी आन्दोलनमा २०२० र ३० को दशकदेखि प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका व्यक्तिहरूमध्ये अहिलेसम्म धेरै जीवित त छन् नै, दलको नेतृत्वमा मात्र नभएर उनीहरू समाजका बिभिन्न क्षेत्रमा सक्रीय अवस्थामा पनि छन् । पार्टीमा रहेकाहरू त कहिले एउटा पार्टी वा कहिले अर्को, कहिले माक्र्सवादको एउटा चरण त कहिले अर्को गर्दै जिनतिन जीवन र राजनीति दुबै राम्रै चलाइरहेका छन् । तर २० को दशकमा सुरु भएर ३० र ४० को दशकसम्म जोडिँदै आएको एउटा ठूलो वाम जमात पार्टीको औपचारिक संरचनाभन्दा बाहिर छ । चाहे त्यो विश्वविद्यालयतिर पढाएर बसेको होस् वा कुनै बैंक वा अन्य सरकारी वा गैरसरकारी निकायमा काम गरेर बसेको होस् वा समाजको अन्य क्षेत्रमा रहेको होस्, त्यो ठूलो बौद्धिक र पेसागत समूह आफै प्रत्यक्ष वाम आन्दोलनमा अडिन त सकेन । तर क्रान्ति र त्यसमार्फत समाजको चामत्कारिक परिवर्तन सम्भव छ भनेर आफूले सुरुका युवा अवस्थामा देखेको वा आफूलाई देखाइएको त्यो सपनालाई उसले एउटा मिथ्या सम्झेर स्वीकार पनि गर्न कहिल्यै सकेन, सकेको छैन । आफू सपना साकार गर्ने बाटोमा प्रत्यक्ष छैन त के भो, अरूले त्यो गरिदिनुपर्छ भन्ने पनि आशा त्यो वर्गमा रहिराखेको छ । त्यस्ता क्रान्तिका आशामुखीहरू अन्य देशमा पनि हुन्छन् र तिनीहरू जस्तैलाई ‘आर्मचेअर माक्र्सवादी’ पनि भनिन्छ ।

जब झापा विद्रोह जनताको बहुदलीय जनवाद हुँदै अहिलेको एमालेसम्म आइपुग्यो, सबैभन्दा बढी एमालेलाई गाली गर्नेहरू गैरवामपन्थी त्यति थिएनन्, जति स्वयं वामपन्थी लेखक र बुद्धिजीवीहरू नै थिए । त्यसपछि तिनीहरूमध्ये धेरैले आºनो सपनाको घर स्थानान्तर गरेका थिए, माओवादी आन्दोलनमा । जब माओवादीले आºनो विद्रोहको चरण हुँदै, माक्र्सवाद र माओवाद समेतलाई फेरि विकसित गर्दै हेटौंडा महाधिवेशनमा आइपुग्यो, ऊ प्रकारान्तरले बहुदलीय जनवादमै पुगेको थियो । त्यसपछि फेरि ती गैरदलीय, क्रान्तिका स्वप्नद्रष्टाहरूले विस्तारै आºनो सपना देख्ने ठाउँ अन्यत्र खोज्न थालेका थिए । केहीले नेत्रविक्रम चन्द विप्लवमा पनि खोज्दै थिए वा अझै छन् होला । बिभिन्न चरणका यी वामपन्थी आरोहमा कति दलित अभियन्ता आºना सपना जोड्दै समाहित भए, कति जनजाति आए, कति मधेसी आए र कति तल्लो वर्गका आए । ती सपना वास्तविक आशाका सपना नै थिए । वर्गीय मुक्तिमात्र होइन, जातीय समता पनि कम्युनिस्ट क्रान्तिबाट सम्भव छ भनेर धेरै आए । र कतिपय समयक्रममा मोहभंग हुँदै दलबाट बाहिरिए । कति बाहिरिन चाहेर पनि सकेनन्, सकेका छैनन् ।

वामपन्थी सपनाको वियोगान्तको पाटो र लेखको सुरुमा लिइएको वाम बुद्धिजीवीको उदाहरण यहाँनेर आएर जोडिन्छ । एकैछिन विचार गरौं— वाम एकता हुने कुराबाट बढी उत्साहित हुनेमध्ये को–को छन् ? यो समूहमा धेरै तिनीहरू नै छन्, जो विगतमा एमालेलाई सक्नुजति आलोचना गर्नेहरू थिए— यो वामपन्थी दल नै हैन भनेर । अर्काथरी ती थिए, जसले माओवादी आन्दोलन नेपालको वाम आन्दोलनलाई बदनाम गराउने कुरामात्र हो भन्ने गर्थे । ठूलो संख्यामा रहेको वाम बौद्धिक समूहले सग्लो पार्टीका रूपमा एमालेबाट धेरै आशा राख्दैन र माओवादीबाट पनि आशा मारिसकेको छ । जब दुबै पार्टीसँंग अलग–अलग आस मारेका वाम बौद्धिकहरू किन फेरि यी दुई पार्टी एक ठाउँमा आए भने नेपालमा वाम क्रान्ति नै हुने जस्तो आशा गर्छन् त ? त्यो किन हो भने २० र ३० को दशकदेखि वामपन्थी सपनामा विश्वास गर्दै हुर्केको त्यो ठूलो पंक्तिलाई माओवादी आन्दोलनको विसर्जनपछि सपना देख्ने पनि कुनै ठाउँ बाँकी रहेको थिएन । र यो कुरालाई वियोगान्त भन्नुको पछाडि पनि कारण छ— नेपालको वामपन्थी सपना हुँदा–हुँदा यस्तो मोडमा आइपुगेको छ कि अबको सपना भनेकै संसद्मा सबैभन्दा ठूलो दल भएर पाँच वर्ष सरकार चलाउनु भएको छ । सम्पूर्ण वामपन्थी सिद्धान्तको समाजवादको सपनाको त कुरै छाडौं । यी दुई दल मिलेपछि के कस्तो सिद्धान्त र नीति अपनाउलान्, त्योसम्म पनि अझै थाहा छैन । माओवादी एमालेजस्तो हुने हो कि एमाले माओवादीजस्तो वा दुबै कोहीजस्तो पनि नरहने हुन् कि, त्यो पनि थाहा छैन । मधेसीको मुद्दामा माओवादी ‘लाइन’ हावी हुने हो कि जनजाति आदिवासीको मुद्दामा एमालेको ‘लाइन’, त्यो पनि प्रस्ट छैन । तर पनि रोचक के छ भने यी माथिका र यस्ता अन्य मुद्दाका पक्ष–विपक्षमा यसअघि प्रस्ट तर्क राख्दै आएको वाम बौद्धिक वृत्त अहिले यी धेरै मुद्दामा चुप लाग्ने स्थिति बनेको छ । किनकि उनीहरूलाई थाहा नै छैन, अब एक हुने पार्टी कुन मुद्दामा कता लाग्ने हो । देशको स्वास्थ्य नीतिमा, डा. गोविन्द केसीको आन्दोलनमा आºना सपनाका दलहरू निकृष्ट पुँजीवादी कित्तामा उभिएका छन् त के भो ? यिनै नेताहरू विगतमा पटक–पटक सरकारमा जाँदा अरू कोहीभन्दा फरक भएनन् त के भो ? आखिर दुइटा दल मिल्छन् भने र कम्युनिस्ट मात्रको सरकार जतिसुकै पुँजीवादी ढंगले चले पनि त्यो आखिर नेपालको वामपन्थी सपना साकार भएको स्थिति नै हो ।

नेपालको वामपन्थी सपनाको यो अवस्थिति हुनु कुनै व्यंग्यात्मक रूपमा हुँदै होइन, एक हिसाबमा निकै मार्मिक रूपमै वियोगान्त कुरा हो । तसर्थ ती ११ जना वाम बुिद्धजीवीलाई कुनै व्यंग्य गरेर हेर्नुभन्दा पनि किन त्यत्तिको नाम कमाएका मान्छेहरू एउटा पूर्वकम्युनिस्ट हस्तीका विरुद्ध वक्तव्य निकाल्न विवश भए भनेर सहानुभूतिपूर्वक बुझिनुपर्छ । किनकि उनीहरू र उनीहरू जस्ताको अब बाँकी रहेको सम्पूर्ण वाम सपना भनेकै दुइटा वाम दल मिलेर सरकार चलाउन पाएको अवस्था हो । अब दुइटा वाम पार्टी एउटा हुने भएपछि त्यहाँ न जनताको बहुदलीय जनवादको सवाल आउँछ, न माओवादको । यतिसम्म कि दुइटा वाम पार्टी मिलेपछि कुनै मार्गनिर्देशक खालको नीति र विचार त चाहिएला नि भनेर गैरवामले बरु प्रश्न गर्नसकेका होलान्, तर वाम वृत्तकाबाट त्यो प्रश्न पनि कम हुने गरेको छ । किनकि उनीहरूलाई डर छ, कुनै पनि सानो प्रश्नले यति लामो सपना साकार हुने अवस्था फेरि टाढा हुनसक्छ ।

वामपन्थी वृत्तमात्र त हैन, कांग्रेसतर्फका त्यस्तै ‘डेमोक्र्याट’हरूको बौद्धिक वृत्त पनि धेरै सानो छैन । बीपीले कल्पना गरेको लोकतन्त्र र समाजवाद कांग्रेसबाट सम्भव छ भनेर आशा गरेर बस्ने तर दलका औपचारिक संरचना बाहिर रहेको बौद्धिक वृत्त ठूलो नै थियो । तर ५० को दशकको मध्यसम्म कांग्रेसको तालमाल देखेर त्यो समूह दिग्भ्रमित भइसकेको थियो । बाँकी रहेकाहरू पनि शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस पुगेपछि आºनो भ्रमबाट मुक्त हुनपाए । तर वामपन्थी बौद्धिक वृत्तको विडम्बना के रह्यो भने एमालेबाट आशा मारेको बेला माओवादी आइदियो— आशा गर्ने ठाउँ देखाएर । माओवादी पनि जब उस्तै हुँदै गयो, तब मोहन वैद्यहरूले धानिदिए केही समय । अहिले अरू केही पनि बाँकी नरहेको अवस्थामा फेरि अर्को आशा आइदियो— पार्टी एकताको । एकतामा आउने दुबै दल बिग्रिसकेका किन नहुन् र पहिले यौवन कालमा सुनाइएको कथाको जस्तो एकदलीय साम्यवाद चलाउने दल होइन त के भो, कम्तीमा वामपन्थीको एकछत्र शासन भएको त हेर्न पाइने भयो ।

तसर्थ समग्रमा नेपाली वामपन्थको सपनाको इतिहास यति हो । २० का दशकमा सुनेका—पढेका बोल्सेभिक क्रान्तिका कथा, चीनमा माओले स्थापना गरेको शासन व्यवस्थाका कुरा, चे ग्वेभारादेखि अन्तिमतिर पेरुको ‘साइनिङ पाथ’ आदि सबैका नेपाली सपना अहिले केवल एमाले र माओवादीको एकता हुन्छ कि हुंँदैन भन्ने कुरामा संश्लेषित भएको छ । यो एकता प्रक्रिया जसरी पनि सम्भव गराउनु वाम बौद्धिक र शुभचिन्तकको हितमा मात्र छैन, समग्र देशको हितमा छ । किनकि एक त यो एकता भयो भने कम्तीमा एउटा स्थिर सरकार बन्ने सम्भावना हुन्छ, केही वर्षका लागि । जब यो र त्यो जो भए पनि धेरै फरक केही पर्नेवाला छैन भने एउटा दलको एउटा व्यक्ति नै भएको राम्रो हो, पाँच वर्षका लागि । र एकता भएपछि देशको लागि धेरै केही भएन भने पनि कम्तीमा नेपाल अगाडि बढ्न नसकेको एमाले र माओवादीको एकीकरण नभएको कारणले हो भन्ने कुरा बाँकी पनि हँुंदैन । त्यसपछि नेपालको वामपन्थी क्रान्ति भनेको के हो भन्दा पार्टी एकता हो भन्ने चरण पनि पूरा हुन्छ । नेपालमा जे पनि आफैले मात्र गर्ने—चलाउने हो भन्ने दक्षिणी छिमेकीलाई पनि दह्रो जवाफ यही हुनेछ कि उसको चाहना नहुँदा–नहुँदै पनि पार्टीहरू आफंै मिल्न र टुट्न सक्छन् । चीनसंँग व्यापार आदिका कुरा थोरै–धेरै जति अगाडि बढे पनि त्यो एकदम राम्रै हुने नै छ । यसबाट घाटा भएछ भने केवल अहिले एमाले र माओवादीका दुईजना शीर्ष बाहेकका अरू वरिष्ठ र प्रभावशाली तहका नेतालाई हुनसक्छ । किनकि एकतासँंगै उनीहरूले आफ्नो वरिष्ठता, प्रभाव, शक्ति र पद सबै बाँड्नु पर्नेछ । यो वियोगी वाम सपना साकार हुने बाटोमा तगारो कोही छ भने यी दुबै पार्टीका केन्द्रीय तहका प्रभावशाली नेतामात्र छन् । नत्रभने यो वियोगान्तको पटाक्षेप पनि अब धेरै टाढा छैन । र दुई पार्टीको एकतासंँगै जुन सिद्धान्त अपनाइनेछ, त्यसले नेपाली माक्र्सवाद र माओवादलाई पुन: एकपटक विकसित गरेर नयाँ उचाइमा पुर्‍याउने पक्कापक्की नै छ ।

प्रकाशित : माघ ८, २०७४ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT