कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेम कसरी व्यक्तिगत हुन्छ ?

सन्दर्भ : भ्यालेन्टाइन्स डे
हामीले जेलाई प्रेम भन्दै आएका छौं, त्यसमा प्रेम कम यौन र विवाहको स्वार्थ बढी जोडिएको हुन्छ ।
नारायणी देवकोटा

काठमाडौँ — भनिन्छ, संसारमा सबैभन्दा बढी लेखिएको विषय प्रेम हो । ती अनगिन्ती गीत, कविता, कथा, निबन्ध वा उपन्यासमा हरेक लेखकले प्रेमलाई छुट्टाछुट्टै रूपमा प्रस्तुत गरेका हुन्छन् । हामीले हेर्दै आएका नेपाली र हिन्दी फिल्मको पहिलो र मुख्य विषयवस्तु पनि प्रेम नै देखिन्छ ।

प्रेम कसरी व्यक्तिगत हुन्छ ?

नेपाली भाषामा गाइने गीतको सानो अंश मात्रैमा प्रेमले प्रवेश नपाएको होला । नत्र पूराका पूरा गीत प्रेममय छन् । भनिन्छ, हेरक मानिसलाई अफ्नो प्रेम महान लाग्छ र त्यही महान लागेको प्रेमको पुष्टिका लागि मानिस निरन्तर लेखिरहेको छ– महाभारत, रामायणदेखि स्वस्थानी कथासम्म, रोमियो जुलिएटदेखि समर लाभ—सायासम्मका कथा ।

मेरो समयका नेपाली महिला लेखकहरू खुलेर प्रेमका विषयमा लेख्न र बोल्न थालेका छन् । वैचारिक रूपमा प्रेमको विषय सायद पुरुष लेखकको चासोको विषय होइन । गतवर्ष शीतल दाहालले ‘प्रेम त हर समय घटित हुने कुरा हो’ भनेर लेखेकी थिइन् । त्यसको केही समय अगाडि मनिषा गौचनले प्रेम भनेको शारीरिक वा यौन सम्बन्धमात्रै होइन भनेर एउटा सार्वजनिक कार्यक्रममा भनेकी थिइन् । प्रेमबारे सरला गौतमले केही वर्ष अगाडि मनै हल्लाउनेगरी कान्तिपुरमा लेख लेखेकी थिइन् । बजारमा प्रेम दिवसको पूर्वतयारी चलिरहेको बेला मेरो एक कक्षा पढ्ने छोरो भन्छ, ‘प्रेम भनेको कोही मानिस वा कुनै कुराप्रतिको गहिरो भावनात्मक सम्बन्ध हो ।’ एक कक्षाको नैतिक शिक्षादेखि वर्तमान समयका लेखकहरूले मानिस प्रेम गर्न अर्थात् कसैलाई मनपराउन, मनमा गहिरो भावनात्मक सम्बन्ध विकसित गर्नुलाई प्रेम मान्छन् ।


प्रेम र विवाह

किन कुनै साहित्यकार प्रेमको विषयमा लेख्छ ? वा फिल्मको मुख्य विषय किन प्रेम हुन्छ ? वा किन प्रेमको थिममा लेखेको साहित्य बढी पढिन्छ, प्रेमका विषयमा बनेका फिल्म हेरिन्छ ? किन यतिका गीतले प्रेमको राग अलापिरहेका छन् ? दशकौं अगाडि प्रेमविवाह त्यो पनि अन्तरजातीय गरेका शल्य चिकित्सक सरोज धिताल भन्छन्, ‘प्रेम सबैभन्दा बढी अपव्याख्या गरिएको कुरा हो ।’ प्रेमका अनगिन्ती व्याख्यामा त्यसलाई विवाहसँग जोडेर हेर्ने मुख्य व्याख्या होला । दुनियाँमा धेरैले प्रेमलाई ‘केही वा कोहीप्रतिको गहिरो सकारात्मक भावना’मात्रै भनेर स्वीकार गर्दैनन् । बरु प्रेमसँगै जोडिएर आउने प्राय: कथामा यौनको मसला अनिवार्य हुन्छ ।

भावना बढेर सम्बन्ध यौन अर्थात् शरीरसँग जोडिन्छ भने त्यसलाई वैधानिक बनाउनुपर्ने ‘डिमान्ड’ समाजको हुँदै आएको छ । अहिलेसम्म संसारभर यौन जीवनको वैधानिकता विवाहमा गएर ‘म्यनिफेस्ट’ गर्नैपर्ने बाध्यता धेरैलाई छ । प्रेम विवाह वा जीवनभरको सम्बन्धको रूपमा लिएका हुनाले सायद मानिस यस बारेमा सोच्छन्, लेख्छन्, गाउँछन्, पढ्छन् ।

प्रेम, प्रेमका आधारमा टेकेर गरिएको विवाह, विवाहपछिका सकारात्मक–नकारात्मक परिणामको वरपर रहेर मैले सन् २०१६ भर नेपालका ६ जिल्लाका १२ ग्रामीण बस्तीमा घुमेर मानिसका कुरा सुन्ने मौका पाएकी थिएँ । सानो उमेरमा विवाह गरेका किशोर–किशोरी, उनीहरूका अभिभावक, विद्यालयका शिक्षक र स्थानीय नेतासँग पनि कुरा भयो । वर्षदिन घुमेपछि थाहा भयो, नेपालमा छोरीहरूलाई कलिलो उमेरमा जबर्जस्ती रूपमा अभिभावकले विवाह गरिदिने चलन नेपालमा घट्दै गएको रहेछ । तर त्यसको बदलामा कलिलो उमेरका छोरीहरू भाग्ने वा कलिला छोराहरूले केटी भगाउने चलन सुरु भएछ । चौध–पन्ध्र वर्षमा प्रेमविवाह गरेका ती बहिनी–भाइका कथा त्यति सुखद थिएनन् । पन्ध्र वर्ष नपुग्दै छोरीहरू किन भाग्छन् वा के सोचेर छोराहरू आफ्नै साथीलाई भगाउँछन् ? भन्ने कुराले जोकसैलाई पोलिरहनु स्वाभाविक हो । यो अस्वाभाविक विषयमाथि स्वाभाविक रूपमा सँगै भएका साथीसँग कहिल्यै टुंगोमा नपुग्ने गफ धेरै भए । ती गफको सार थियो, प्रेमको अमूर्त व्याख्या र बुझाइ ।

मैले सुनेका ६० जना किशोर–किशोरी सबैका ‘प्रेमविवाह’का कथामा र प्रेमको परिभाषाभित्र यौन सम्बन्ध र एकपटक भएको शारीरिक सम्बन्ध विवाहमा गएर टुंगिएको थियो । धेरैको प्रेमविवाह गरेर एउटा बच्चा जन्माएपछि कैयौं जिम्मेवारीमा पुरिएको थियो । त्यी मध्ये एउटा यस्तो जिम्मेवारी पनि

थियो, मन लागे पनि नलागे पनि यौन सम्बन्ध राख्नुपर्ने बाध्यात्मक जिम्मेवारी । नेपालमा वैवाहिक बलात्कारको डरलाग्दो अवस्था रहेको भनेर गरिने अनुमानलाई किशोरीका ती कथाले सही बताउँथे ।


प्रेम व्यक्तिगत कि सामाजिक

प्रेम सबैभन्दा अपव्याख्या गरिएको विषय हो भन्ने डा. सरोज धितालको भनाइमा म सहमत छु । नेपालमा त विचारधारा र साहित्यमा रुचि राख्नेहरूका लागि यो झनै घनचक्करको विषय हो । हामीमध्ये धेरैलाई प्रेम वा विवाह भन्ने कुरा सामान्य र व्यक्तिगत घटना लाग्छन् । प्रेम अल्लारे केटाकेटीले गर्ने विषय हो भन्ने लाग्छ । प्रेमका नाममा १० कक्षा पढ्दै गरेकी छोरी गर्भवती हुने र नेपालको कानुनले २० वर्ष नपुगी विवाह दर्ता गर्न पनि रोक लगाएका कारण पर्ने अप्ठेरो उक्त किशोरीको मात्रै होइन, नेपालको कानुन, समाज र व्यक्ति सबैलाई पर्ने अप्ठयारो विषय हो । गत वर्षको समाजशास्त्र विभागमा भएको प्रेमको समाजशास्त्र विषयक छलफल कार्यक्रमपछि एकजना साथीले भने, ‘प्रेम पनि बहस गर्ने विषय हो ? यो त महसुस गर्ने विषय हो ।’ यो महसुस मात्रै गर्ने विषय होइन भन्ने कुरा समाज विज्ञानमा सामान्य चासो राख्ने मान्छेले बुझ्नुपर्ने हो । जब प्रेम एक जनाको मनबाट निस्केर अर्को व्यक्तिकहाँ प्रस्ताव बनेर पुग्छ, त्यसपछि प्रेम व्यक्तिगत रहन्न । अझै अगाडि बढेर प्रेम कसैप्रतिको सकारात्मक भावना विवाहको तहमा पुग्छ, त्यो दुई आत्माको मिलनमात्रै बन्दैन । दुई परिवार, दुई समाज र दुई संंस्कार बीचको विषय बन्न पुग्छ ।


बजारको कुरा

हरेक वर्ष प्रेम दिवस आउँदै गर्दा काठमाडौंमा मात्रै लाखौंको गुलाफ र करोडौंका कार्ड बिक्री हुने गरेको कुरा सञ्चार माध्यममा आउँछन् । यसैसँगै केही बुज्रुकका, बजारले अहिलेका ‘केटाकेटी’ बिगारिरहेको विश्लेषण सार्वजनिक हुन्छ । उहाँहरूको विश्लेषण पनि सही हो । तर अर्को विश्लेषण के हो भने बजारले आफ्नो फाइदा बाहेक केही पनि हेर्दैन । के व्यापारले कुनै ‘डे’लाई छाडेको छ र भ्यालेन्टाइन्स डेलाई छोड्छ ? बजार निर्देशित अहिलेको सामाजिक—आर्थिक अवस्था नै यस्तो छ कि चन्द्रागिरिको डाँडाको सुन्दरता हेर्नमात्रै मान्छे आउँदैनन् भनेर केबलकार चलाउने व्यापारीले डाँडामा मन्दिर बनाएका छन् । त्यसैले बजारका पसलमा चमक–धमक हुनु कुनै नयाँ कुरा होइन ।

समग्रमा भन्नुपर्दा केही अपवाद छोडेर भन्ने हो भने अहिलेसम्म हामीले जेलाई प्रेम भन्दै आएका छांै, त्यसमा प्रेम कम यौन र विवाहको स्वार्थ बढी जोडिएको हुन्छ । प्रणय दिवस भन्ने भ्यालेन्टाइन्स डेको सुरुवात पनि यौन र विवाहमै केन्द्रित भएर भएको हो र धेरैले बुझ्ने प्रेमभित्र यौन वा विवाह अनिवार्य सर्त रहँदै आएका छन् । अहिलेसम्म मैले प्रेम गरेको बदलामा मलाई पनि प्रेम चाहिन्छ भन्ने कुराले प्रेम कम प्रेमको मोलमोलाइ बढी गर्दै आएका छन् । जसलाई वर्तमान बजार अर्थतन्त्रले बढाइ–चढाइ रंगिन बनाइरहेको छ । मानिस प्रेम गर्न स्वतन्त्र छ । प्रेम अर्थात् कसैप्रति गहिरो सकारात्मक भावना मनमा उमार्न स्वतन्त्र छ । आफूले मनपराएको मानिसबाट मायाको अपेक्षा गर्न पनि स्वतन्त्र छ । म तिमीलाई मनपराउँछु भन्न पनि स्वतन्त्र छ । तर म तिमीलाई प्रेम गर्छु भन्दैमा मलाई पनि तिमीले माया गर्नुपर्छ भन्न, अझ प्रेम गरेको भन्दै कसैमाथि हक जताउन, विवाहको नाममा जबर्जस्ती गर्न (अझै नेपालका कतिपय ठाउँमा किशोरीलाई तानेर सिन्दूर हाल्ने वा आफ्नो घरमा भित्र्याउने गरिन्छ, जसलाई प्रेम र विवाहको नाम दिइन्छ) वा प्रेमको नाममा उसको स्वतन्त्र अस्तित्व सिध्याउन कसैलाई छुट हुनुहुन्न । समाजमा आफूलाई मनपरेको मानिसलाई पराउँछु भनेर भन्न पाउने वातावरण हुनु जरुरी छ । उसले व्यक्त गरेको प्रेमको सम्मान गर्न जरुरी छ । तर प्रेम गर्छु भन्न सक्नेले म त प्रेम गर्न सक्दिन भन्ने उत्तर पनि सम्मानपूर्वक नै सुन्न सक्ने हिम्मत राख्न जरुरी छ ।

प्रकाशित : फाल्गुन २, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?