कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाली गाउँको अँध्यारो कथा

हिमचुली आसपासको जनजीवनबाट आकांक्षाहरू पग्लिन्छन् दिनहुँ र सिंगो जिन्दगी नै बन्छ कालापत्थर । त्यही कालापत्थर बनेको समाज र भुइँमान्छेको कथा हो, ‘कालापत्थर माथि’ ।
फूलमान वल

काठमाडौँ — एक दशकअघि हिमाल आरोहणमाथि बनेको एउटा डकुमेन्ट्री फिल्म हेर्ने मौका मिलेको थियो– हरि थापा र ओटो होनेगरको ‘शेर्पाज : दि ट्रु हिरोज अफ माउन्ट एभरेस्ट’ ।

हिमाली गाउँको अँध्यारो कथा

सर्वोच्च शिखरमा कीर्तिमान राख्ने नायकहरूको सफलताको पछिल्तिर कति धेरै असफल जिन्दगीको बलिदान र संघर्ष जोडिएको हुन्छ भन्ने थाहा पाएर त्यो क्षण निकै भावुक बनेको थिएँ । त्यस्तै क्षण फेरि बेहोरें, केही दिनअघि । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘कालापत्थर माथि’ हेर्दै गर्दा फेरि हिमाली गाउँको त्यही अँध्यारो अनुहारले मथिंगलभित्र नृत्य गर्‍यो ।


नृत्य शोकधुनमय थियो । त्यहाँ दज्र्यू र लुङदरहरू फरफराएका थिएनन् । स्याब्रु र सेलोको उल्लासमय धुन पनि थिएन । थिए त फगत टोलाइरहेका आँखा र ती आँखाभित्र हिउँले पुरेका असंख्य सपना । सपनाको रंग नीलो थियो । नीलोलाई दु:ख र आँसुको रंग मानिन्छ । के हिमाल सधैं सेतो र सुन्दर मात्रै हुन्छ ? हामीले टाढाबाट देख्ने सुन्दर हिमाल वरिपरि कति धेरै दु:ख र पीडाका कहानी छरपस्टिएका छन् ? कति धेरै असफल प्रेम र जबर्जस्त बिछोडका गीत गुन्जिएका छन् ? नाटक हेर्दै गर्दा मनमनै प्रश्नहरूको पहाड खडा हुँदै गयो ।


जवाफचाहिँ अघिल्तिर सादृश्य थिए । आर्थिक स्तर उठाउन जसरी भए पनि भरिया बनेर हिमाल चढ्ने दावाको दृढतामा थियो जवाफ । हिउँ पहिरोमा पति र दुई छोरा गुमाइसकेकी डोल्माको उदासतामा थियो जवाफ । अनि, आफ्नो ब्वाईफ्रेन्ड हिमालबाट फर्केपछि बिहे गर्ने रुमानी सपना बुनिरहेकी पेम्बाको अभिसप्त प्रेममा थियो जवाफ । आरोहरणको अँध्यारो पक्ष, हिमाली जनजीवनको दुरवस्था, हमेसा चिसोमै कठ्याङ्ग्रिएर बिलाइजाने मृगतृष्णा जस्ता सुखका असंख्य चाहनामा थियो जवाफ । यद्यपि प्रदीपकुमार चौधरीको लेखन र निर्देशन रहेको नाटकले प्रस्ट जवाफको खोजी त गर्न सकेको छैन तर यसले दर्शकलाई थिएटरको साँघुरो ‘ब्ल्याक बक्स स्पेस’ बाट एकैपटक अँध्यारो हिमाली गाउँमा भने हुत्याइदिन्छ ।


हिउँ पग्लिएपछि नै कालापत्थरमा बदलिने हो– सेता हिमचुलीहरू । यही हिमचुली आसपासको जनजीवनबाट भने आकांक्षाहरू पग्लिन्छन् दिनहुँ र सिंगो जिन्दगी नै बन्छ कालापत्थर । त्यही कालापत्थर बनेको समाज र भुइँमान्छेको कथा उनेका छन् प्रदीपले नाटकमा । चरित्रहरू हिमाली संस्कृति र लवजमा भिजेका छन् । तामाङ र शेर्पा समुदायको सांस्कृतिक घुम्टोले छोपेर नाटकलाई आदिवासी अभ्यास र ज्ञानको लेपनमा चम्काउने प्रयास गरिएको छ । प्राय: विदेशी नाटक अनुवाद र मञ्चनको दबदबा रहेको नेपाली रंगमञ्चमा यसलाई एउटा अग्र्यानिक प्रयासका रूपमा लिन सकिन्छ ।


नाटकको विषयवस्तु अँध्यारो हुनु स्वाभाविक छ । किनभने टाढाबाट हेर्दा मात्रै हिमाल सुन्दर र सफेद देखिने हो । जब नजिक गएर हेरिन्छ, भोगिन्छ, त्यसपछि मात्रै हिमाल आसपासको असुन्दर पीडा महसुस हुन थाल्छ । ‘कालापत्थर माथि’ टाढाबाट देखिने हिमालको रोमाञ्चक कथा हैन, नजिक अझ निकै नजिकबाट नियाल्दा देखिने यथार्थ हो । कसैका लागि रमाइलो लाग्ने हिउँसितको लुकामारी, कसैका लागि उदास उदास लाग्न सक्छ । भरिया बनेर आरोहणमा गएका पति र छोराहरू गुमाएकी डोल्माका लागि के हिमाल उल्लासको प्रतीक बन्न सक्छ ? आकाश धुम्म पर्नेबित्तिकै बाइकमा हुत्तिएर नगरकोट र दामनतिर हिउँ खेल्न हुइँकिने प्रेमीप्रेमिकाको मनोविज्ञान र विकट हिमाली गाउँको सुनसान आँगनको लुङदरछेउ टोलाइरहेकी डोल्माको उदास आँखाको लय के एउटै हुन सक्छ ? नाटक हेर्दाहेर्दै प्रश्न सोध्न मन लाग्छ ।


प्रश्न त यो देशको शासकसित पनि सोध्नुपर्ने हुन्छ । सगरमाथाको फेदी कालापत्थरमै पुगेर मन्त्रिपरिषद्को बैठक गरेको आठ वर्ष बित्यो । यसबीचमा सरकारले हिमाली जनजीवनलाई सहज बनाउन के–के गर्‍यो ? के हाम्रा सरकारी नीतिले बाहिरियालाई भन्दा हिउँमै लडिबुडी खेलेर हुर्केका स्थानीयलाई पर्यटकीय लाभको पहिलो हिस्सेदार बनाउनेबारे परिकल्पना गर्छ ? स्थानीय स्रोत साधनको दोहनमा आज को–को हावी भइरहेका छन् ? सम्भवत: यी प्रश्नहरू हाम्रो राजनीतिक रंगमञ्चमा लामो समय सोधिनै रहनुपर्ने हुनेछ ।


तर, यस्ता अँध्यारा र युगीन पीडाहरूको कथा भन्न भने प्रदीपले केही उज्याला सांस्कृतिक बिम्ब प्रयोग गरेका छन् नाटकमा । प्रस्तुतिको सुरुमै हिमाली बोन परम्परामा आधारित झाँक्रीहरूको सेरग्याम (शुभसाइत पूजा) हेर्न पाइन्छ । हाम्रा हिमालहरूले आज प्लास्टिक, कन्डोम र बहुराष्ट्रिय उत्पादनका खोलहरू मात्रै नभई बाहिरिया संस्कृतिको समेत प्रदूषण खेपिरहेका बेला तामाङ र शेर्पा समुदायको यो अग्र्यानिक सेरग्याम हाम्रै सहर र नाटक घरका लागि नौलो हो । केही वर्षअघि रंगकर्मी घिमिरे युवराजले नाटक ‘म्हेन्दोमाया’ मा यस्तै प्रयोग गरेका थिए ।


‘म्हेन्दोमाया’ कै गोले बोन्बो प्रदीपको यो नाटकमा दावा बनेका छन् । ‘म्हेन्दोमाया’ मञ्चनपछि चारवटा वर्ष बितेर गए, तर यी दुवै चरित्र निभाउने सन्तोष तामाङ भने लामो जटाधारी कपालमै यो सहरमा घुमिरहेका छन् । उनको गेटअप, चिम्सा आँखा र ताम्रवर्णी अनुहारको पहाडी मनोदशा स्वयंमा अग्र्यानिक लाग्छ । प्रदीपको नाटकमा यिनी फेरि उही अग्र्यानिक अभिनयसहित प्रकट भएका छन् । उनकी आमा डोल्मा बनेकी निशा पाख्रिन पीडाको गहुँगो भारी बोकेर कालापत्थरबाटै झरेकीझैं देखिन्छिन् ।


बोन र बौद्ध दर्शन दुवैबाट प्रभावित छ हाम्रा हिमाली समुदाय । कथानक र चरित्र मात्र नभई मञ्च सजावटबाटै यी दुवै दर्शनको फ्युजन गरिएको छ नाटकमा । जीवनका अन्य कर्ममा बोन संस्कृति र मृत्युकर्ममा बौद्ध संस्कृतिको प्रस्तुतिले नाटकलाई शेर्पा समुदायभन्दा बढी तामाङ समुदायतिर ढल्काएका छन् प्रदीपले । हिमाली तन्त्रवाद र आत्मलाई मान्ने परम्परा नाटकको सांस्कृतिक आभूषणका रूपमा प्रस्तुत छ । यद्यपि नाटकलाई अझ बढी हिमाली रंग दिन सकिन्थ्यो ।


आख्यानकार नयनराज पाण्डेले हिमाली जनजीवनकै कथा लेखेका थिए, उपन्यास ‘सल्लीपिर’ मा । आमा गुमाएपछि किताब हात लागेको कथाले नवउदारवादी समयको कथा भन्छ । हिमाली समाजले आज आमा (आदिवासी ज्ञान) गुमाउँदै छ र बदलामा बजारबाट गएको किताब (बाहिरिया ज्ञान) भित्र्याइरहेको छ । प्रदीपको नाटक ‘कालापत्थर माथि’ भने छोरा गुमाएका आमाहरूको कथा हो । प्रेमी गुमाएका प्रेमिकाहरूको कथा हो । नाटक घरबाट बाहिरिँदै गर्दा गणेश रसिकको गीतले बेस्सरी मानसपटलमा हान्यो–

ओ याङ्जी नाना !

तिम्रो रिन्जी हिमाल चढ्दा मर्‍यो भन्ने नसम्झ

ऊ त, तिम्रो चौंरी गोठमा कुहिरोसँगै उड्दै–उड्दै इरहेछ

ऊ त, तिम्रो सल्लेरी गाउँमा घामसँगै डुल्दै–डुल्दै आइरहेछ

[email protected]

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?