कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

अमेरिकी राजनीतिमा डीभीको प्रभाव

रिपब्लिकन नेतृत्व पछिल्लो समय बारम्बार आप्रवासी प्रवाहमाथि नियन्त्रण राख्ने अभियानमा छ । डीभी चिट्ठा सबैको पहिलो निसानामा छ ।
दिनेशजंग शाह

काठमाडौँ — सन् १९८० को दशकसम्म पनि अमेरिकामा मूलत: श्वेत आप्रवासी (युरोपेली) हरूको मात्र पहुँच थियो भन्दा फरक पर्दैन । रोनाल्ड रेगनको पालासम्म पनि सीमा नाघेर आउने ‘हिस्पानिक’ मूलका अलावा युद्व पीडित लगायत थोरै संख्यामा फाट्टफुट्ट रूपमा अमेरिकी आप्रवासनमा समाहित हुन्थे ।

तर १९९० मा पूर्वराष्ट्रपति जोन एफ केनेडीका कान्छा भाइ सिनेटर टेड केनेडीको एउटा प्रस्तावलाई अमेरिकी कंग्रेसले अनुमोदन गरेपछि अमेरिका धेरैका लागि खुल्ला भयो । डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा खुल्यो । उच्च क्षमतावान जनशक्तिका लागि एच–वान भिसा व्यवस्था गरियो । पारिवारिक सदस्यका लागि आप्रवासनको ढोका खोलियो । अस्थायी बसोबासको अध्यागमन (टीपीएस) को सुरुवात थालियो । त्यसैपछि अमेरिका विविध बन्यो भन्दा अन्यथा हुँदैन । स्पष्ट छ, श्वेत आप्रवासीको प्रवाहलाई न्यूनीकरण गर्न डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा सुरु गरिएको थियो । तर चुरो कुरो श्रमिक बजारको आपूर्तिलाई पूरा गर्नु थियो । यसले मूर्तरूप लिएको छ । श्वेत अमेरिकी जनसंख्या घट्दै गएको परिदृश्यमा आप्रवासीको प्रवाहले कस्तो प्रभाव पारेको छ भन्ने पक्षलाई अमेरिकी कंग्रेसको बजेट अफिस (सीबीओ) र श्रम सम्बन्धी तथ्याङ्क निकाय (बीएलएस) ले स्पष्ट पारेको छ । अघिल्लो वर्ष प्रकाशित तथ्याङ्क अनुसार पछिल्लो अढाई दशकदेखि कानुनी रूपले वर्षेनि भित्रिने १० लाख हाराहारीको आप्रवासी लगायतको प्रवाहले अमेरिकाको २ प्रतिशत हाराहारीको आर्थिक वृद्विदरमा २० प्रतिशत बराबरीको योगदान गर्दै आएका छन् ।


तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको प्रमुख नीति ‘अमेरिका, फस्ट’मा आप्रवासीलाई फरक रूपमा अथ्र्याउँदै आइएको छ । मुलुक अर्थात अमेरिका, अर्थतन्त्र एवं विविधताभन्दा ‘पृथक’ र ‘ठूलो’ हो भन्ने अघोषित ट्रम्प प्रशासनको नजरमा आप्रवासी, सुरक्षा ‘थ्रेट’ र रोजगारी खोस्ने ‘जमात’ हो । त्यसैले हरसम्भव आप्रवासीको प्रवाहलाई निस्तेज पार्न उद्यत छ । डीभी चिठ्ठामाथि प्रमुख निसाना साँधिएको छ । डीभीवालाहरू ‘रद्दीको टोकरी’मा फाल्न लायकको टिप्पणी गर्ने राष्ट्रपति ट्रम्पका लागि मानौं, डीभी चिठ्ठा नै उनको आप्रवासी एजेन्डा व्यवस्थापनको मुख्य तगारो हो । मेक्सिकोसँगको दक्षिण सिमानामा पर्खाल निर्माण, बाल्यकालमा अभिभावकबाट भित्र्याइएका ‘ड्रिमर’हरूलाई वैधानिकता प्रदान गर्ने विषयमा समेत ट्रम्पले डीभीलाई ‘बार्गेनिङ’ चिप्सको रूपमा अघि सारेका छन् । हैटी लगायतका अफ्रिकी मुलुकबाट भित्रिने आप्रवासीप्रति सामान्य मर्यादा विपरीतका ट्रम्पका प्रतिक्रियाले प्रस्टाउँछ कि उनको प्रशासन के चाहन्छ । डीभी प्रतिको उनको प्रतिक्रिया एवं आक्रमण र यथार्थ बीचको ठूलै अन्तर भएपछि उनको रवैयाले धेरै हदसम्म रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्छ । भलै पार्टी नेतृत्व मौन रहे पनि समग्र पार्टी ठान्छ, आप्रवासीहरूको प्रवाह अमेरिकाका लागि खतरनाक हो । ठिक उल्टो उदारवादी डेमोक्र्याटिक पार्टी आप्रवासी पक्षधर बन्दैछ ।


रिपब्लिकन राष्ट्रपति जर्ज बुस सिनियरको पालादेखि सुरु डीभी चिठ्ठाले मुख्यत: अमेरिकामा न्यून जनसंख्या रहेका मुलुकहरूबाट वार्षिक रूपमा ५० हजार आप्रवासीलाई भित्र्याउँछ । यो कार्यक्रम धेरै आप्रवासी ओइरिसकेका र ओइरिन सक्ने मेक्सिको, भारत, चीनजस्ता मुलुकमा बन्देज छ । हाइस्कुल पासको न्यूनतम योग्यता चाहिने डीभी चिठ्ठा मुख्यत: अमेरिकी न्यून स्तरको श्रमिक आपूर्तिका लागि भएको प्रस्ट छ । तर डीभीप्रतिको ट्रम्प र उनी पक्षधरहरूको आरोप यथार्थभन्दा राजनीतिक स्वार्थबाट निर्देशित छ । वासिङ्टन डीसीमा अवस्थित थिङ्कट्याङ्क ‘क्याटो इन्स्टिच्युट’को पछिल्लो प्रतिवेदन अनुसार ४० वर्षयता अमेरिकामा मारिएका ३ हजार ३७ मध्ये ८ जनामात्र डीभीवाला आप्रवासीबाट मारिएका छन् ।


आप्रवासीहरू, राष्ट्रिय सुरक्षा माथिका ‘थ्रेट’ हुन् र अमेरिकीहरूको रोजगार खोस्दैछन् भन्ने दुई बँुदामै रटान लगाउँदै ट्रम्पले अप्रत्यासित जित हासिल गरे । अमेरिकी रैथानेलाई खुसी तुल्याउन ट्रम्प डीभी लगायतका आप्रवासी प्रवाहलाई निस्तेज पार्न अग्रसर छन् । किनकि आप्रवासी लहरले अनुदार राजनीतिलाई प्रतिकूल असर पारिरहेको घामझैं छर्लङ्ग छ । ठिक विपरीत नरमपन्थीले आप्रवासी वकालत गर्दैछन् । किनकि उनीहरूलाई थाहा छ, यो ‘भोटिङ बैंक’ हो । कसरी ? तथ्याङ्क हेरौं । सन् १९९२ पछिको ७ वटा राष्ट्रपतीय निर्वाचनमध्ये २००४ को प्रतिस्पर्धा बाहेक डेमोक्र्याटिक पार्टीले ६ पटक नै रिपब्लिकन पार्टीलाई लोकप्रिय मतमा हराएको दृष्टान्त छ । हालैको मतदाता तथ्याङ्क अनुसार डेमोक्र्याटिक पार्टी पक्षधर रिपब्लिकन समर्थकको तुलनामा झन्डै ७० लाख बढी देखिन्छन् । यसको स्पष्ट अर्थ के हो भने अमेरिकाको जनसंख्या एवं सामाजिक स्वरूप दु्रतगतिमा परिवर्तन हुँदैछ । र यसमा गैरश्वेत एवं गैरक्रिस्चियन आप्रवासीको प्रवाह मुख्य कारक हो ।


कौतुहलता उठ्न सक्छ, डीभी लगायतका आप्रवासी प्रवाहले कसरी पार्टी राजनीतिलाई प्रभावित पार्छ ? आप्रवासी सबै डेमोक्र्याटिक पार्टी समर्थक हुन्छन् भन्ने के ग्यारेन्टी आदि । ग्यारेन्टी त छैन, तर ट्ेरन्डलाई नियाल्यौं, कसरी उदारवादी नीतिले आप्रवासीहरूलाई आकर्षित गर्छ भनेर । अमेरिकी श्रम बजार, आर्थिक एवं सामाजिक परिवेशको सवालमा हैटी होस् वा नाइजेरिया अथवा नेपालबाट भित्रिने आप्रवासीहरूमा खासै अन्तर हुँदैन । न्यून सीप, सीमित भाषा र शिक्षा एवं फरक संस्कृतिसाथ भित्रिने प्राय: सबै आप्रवासीका लागि अमेरिकी संघर्षका कथा, व्यथाहरू उस्तै हुन् । यो परिदृश्यमा क्रिस्चियन एवं श्वेत सर्वाेच्चताको मूल्य–मान्यतालाई आधार ठान्ने, ‘ग्रान्ड ओल्ड पार्टी’ अर्थात् रिपब्लिकन पार्टीप्रति नवआगन्तुकहरू आकर्षित हुने गाह्रो पक्ष हो । सामाजिक एजेन्डामा सरकारको हस्तक्षेप नीतिको वकालत गर्ने अनुदारवादी पार्टी नीतिले छुट्टै संस्कृति, धर्म एवं परम्परा बोकेका र त्यसको निरन्तरताका पक्षपाती अल्पसंख्यकलाई आकर्षित गर्नसक्ने सम्भावना न्यून रहेको स्पष्ट छ । अर्काेतर्फ सामाजिक एवं प्रगतिशील नीतिका लागि वकालत गर्ने डेमोक्र्याटिक पार्टीको ‘वेलफेयर स्टेट’का योजनाहरू जस्तै– पब्लिक एजुकेसन, पब्लिक हेल्थ केयर, पब्लिक ट्रान्सपोर्टेसन, बेरोजगार र असहाय भत्ता, न्यून आय र सीप भएका अल्पसंख्यक आप्रवासी समुदायका लागि अति आवश्यक पक्ष भए ।


अर्काे महत्त्वपूर्ण पक्ष आर्थिक एजेन्डामा संघीय सरकारको भूमिकालाई निषेधको माग गर्ने अनुदार पार्टीको सैद्धान्तिक पक्ष र रोजगार, व्यापार लगायतका आर्थिक मुद्दामा सरकारको सहयोगको खाँचो रहने आप्रवासी समुदायको सरोकार, एकअर्कामा परस्पर विरोधी धार परे । त्यसैले हो, अधिकांश आप्रवासीको गन्तव्य, वेलफेयर स्टेटहरू न्युयोर्क, म्यासेच्युट्स, क्यालिफोर्निया, इलोनोइ बन्छ, नकि मिसिसिपी, नर्थ डकोटा, ओक्लोहाम । यसरी आप्रवासी र डेमोक्र्याटिक पार्टी सामिप्यमा आउँछन् ।


रिपब्लिकन नेतृत्व पछिल्लो समय बारम्बार आप्रवासी प्रवाहमाथि नियन्त्रण राख्ने अभियानमा छ । डीभी चिठ्ठा सबैको पहिलो निसानामा छ । सन् २००५ देखि कंग्रेसको तल्लो सदन यसलाई बन्द गर्ने पक्षमा देखिन्छ । सम्पूर्ण राज्यको प्रतिनिधित्व गर्ने सिनेटरहरूमा केही लचकता देखिए पनि आफ्नो निर्वाचन क्षेत्रप्रति मात्र उत्तरदायी हुने कंग्रेसम्यानहरू भने डीभी चिठ्ठाप्रति निकै आक्रामक देखिन्छन् । २०१२ मा हाउसले डीभी बन्दको विधेयक नै पास गरेको थियो । तर डेमोक्र्याट नियन्त्रित सिनेटले अस्वीकार गर्‍यो । अहिले ट्रम्प लागिपरेका छन् । केही वर्षअघि रिपब्लिकन सिनेटर एवं राष्ट्रपतीय उम्मेदवार टेड क्रुजले अमेरिकामा रहेका कागजविहीन १ करोड २० लाख आप्रवासीलाई ‘कागजविहीन डेमोक्र्याटिक पार्टी सदस्य’को संज्ञा दिएका थिए । यसले संकेत गर्छ, अमेरिकामा आप्रवासी विभाजित राजनीतिको गोटी बन्दैछन् ।


सन् १९६० को ‘सिभिल राइट्स मुभमेन्ट’ र सन् १९६५ मा ‘भोटिङ राइट एक्ट’ पास भएपछि श्वेत मतको एकल दबदबामा पहिलोपटक ‘छिद्र’ परेको तर्क गरिन्छ । १९८६ मा रोनाल्ड रेगनले ३० लाख बढी गैरकानुनी बसिरहेकाहरूलाई अमेरिका बसाइको वैधानिकता दिएका थिए । त्यतिन्जेलसम्म पनि अमेरिकामा आप्रवासी विषय राजनीतिक एजेन्डा बनेको थिएन । यद्यपि रेगनको एमनेष्टीले धेरै गैरअश्वेतलाई अमेरिकी मूलधारमा समाहित गर्‍यो । १९९० को नयाँ आप्रवासी कानुन एवं डेमोक्र्याटिक पार्टीको बढदो ‘लेफ्ट विङ्स’तिरको झुकावले आप्रवासन एजेन्डा ‘हट केक’ बन्दै छ । राजनीतिक विश्लेषकहरूका भनाइमा १९९० को दशकको तुलनामा पछिल्ला केही दशकयता डेमोक्र्याटिक पार्टीले आप्रवासन मुद्दालाई जोडतोड उठाइरहेको छ । यसले उसको आप्रवासीसंँगको सामिप्यतालाई त बढाएको छ, तर बहुसंख्यक श्वेतबाट टाढिँदै गएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । पछिल्ला राष्ट्रपतीय निर्वाचनहरूमा उदारवादी उम्मेदवारहरूले ४० प्रतिशतभन्दा कम श्वेत मत प्राप्त गर्दै गएको दृष्टान्तले यसैलाई संकेत गर्छ ।


अथक प्रयास भइरहे पनि अहिलेलाई डीभी बन्द हुन्छ कि भन्ने विषयलाई पत्याइहाल्ने आधार बलिया छैनन् । १९/२० को विभाजित राजनीतिमा डेमोक्र्याटिक पार्टी अवरोध बनुन्जेल अधिकांश रिपब्लिकन एवं ट्रम्प प्रशासनको आप्रवासी प्रवाहलाई रोक्ने अभियान सफल हुने देखिँदैन ।  

प्रकाशित : फाल्गुन १५, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?