कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

बलात्कारको समाजशास्त्र

बलात्कारका घटनामा महिलाको पीडादायक मौनता कुनै न कुनै रूपमा समाजको बुझाइ र त्यही बुझाइका आधारमा निर्माण भएको संस्कृतिसँग जोडिएको छ ।
प्रज्ञा लम्साल

काठमाडौँ — हामी बाँचेको समाज जहाँ एउटा यस्तो अपराध छ, जहाँ समाजबाट एक्लिएर बस्नुपर्ला भन्ने पीरमा एउटी पीडित महिला मौन बस्न विवश हुन्छे । ‘परिवारको इज्जत’को खातिर एउटी छोरीले आफूले भोगेको अन्याय लुकाउनुपर्छ ।

यो अनुभूतिले मलाई सधैं नराम्रोसँग चिमोट्छ । उकुस–मुकुस अनुभव हुन्छ । र महसुस हुन्छ, बलात्कार एउटा यस्तो अपराध हो, जसमा संरचनागत रूपमै अपराधीलाई जोगाउन खोजिएको छ । बलात्कार यस्तो अपराध हो, जसमा पीडित पटक–पटक मरेतुल्य बनाइन्छ । बलात्कार यस्तो अपराध हो, जसमा बलात्कारीको चरित्र होइन, एउटी नारीको चरित्रबाट सामाजिक दृष्टिकोण र धारणा बन्ने क्रम अझै रोकिएको छैन ।


बलात्कार संस्कृति

बलात्कार जस्तो अमानवीय र बर्बर घटनाका शृङखला किन रोकिएको छैन ? यो नै मुख्य प्रश्न हो । यसलाई सूक्ष्म रूपमा केलाउने हो भने बलात्कार समाज, संरचना र संस्कृतिसँग गहिरोगरी जोडिएको पाइन्छ । कहीं कतै बलात्कारी मनोभाव दह्रो हुनुमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समाजले बलात्कारका घटनामा पीडितलाई नै दोष दिने प्रवृत्ति पनि हो ।

१९७० को दशकमा महिलावादीले ‘बलात्कार संस्कृति’ भन्ने शब्द चल्तीमा ल्याए । तत्कालीन समाजले लैंगिक हिंसालाई सामान्य रूपमा ग्रहण गर्ने, पीडित पक्षलाई नै दोषारोपण गर्ने र पुरुषले गरेको अपराधलाई ढाकछोप र बचाव गर्ने प्रवृत्तिको स्वीकारले उत्पन्न हुने अवस्थालाई ‘बलात्कार संस्कृति’को संज्ञा दिइएको थियो । यो प्रवृत्ति आजको समाजमा पनि उत्तिकै सान्दर्भिक छ । जब बलात्कारको घटना सार्वजनिक हुन्छ, तब समाजका शिक्षित र अगुवा वर्गले समेत ‘फलानी उत्ताउली थिई’ र ‘कस्ता–कस्ता लुगा लगाएर हिँड्थी’ जस्ता तर्क गर्दै पीडितको शील र स्वभावमाथि प्रश्न उठाउँछ । अनि बलात्कारको मूलजड नै महिलाको आनीबानी, व्यवहार, लुगा, अंग प्रदर्शन, केटालाई साथी बनाउने खुलापन आदि भएको निष्कर्ष निकाल्छ, समाज र घटनालाई साधारणीकरण गर्छ । समाजमा यो सामान्य प्रवृत्ति बनेको छ । भलै पछिल्ला समयमा यस्ता धारणालाई चुनौती दिन थालिएको छ ।

पीडित महिलाको आनीबानी, लुगा, स्वभाव आदिमा प्रश्न गर्ने समाजले पुरुष कति हिंस्रक थियो, कति व्यभिचारी थियो, कति अमानवीय र आपराधिक मानसिकताको थियो भन्ने प्रश्नहरूमा भने कमैमात्र घोत्लिएको पाइन्छ । यसको समाजशास्त्रीय कारण के होला ? सरल भाषामा भन्ने हो भने हाम्रो हुर्काइको मनोविज्ञान र सामाजिक सिकाइ प्रक्रियामा समस्या छ ।

हाम्रो समाजमा छोरीहरूलाई सानैबाट यसो गरिनहुन्न भन्ने लामो सूची दिइन्छ । मैले अनौपचारिक कुराकानीको दौरानमा कतिपय बस्तीमा ‘छोरी मान्छेको इज्जत सियोको टुप्पोमा हुन्छ र थोरै तलमाथि भयो भने बर्बाद हुन्छ’ भन्ने तर्क सुनेकी छु । तर त्यही समाज छोराको इज्जत कहाँ अडिएको हुन्छ, कहिले बोल्दैन । त्यो प्रश्न सोध्नै चाहँदैन ।

यो समाजले छोरीलाई सानो स्वरमा बोल भन्छ, तर अन्याय विरुद्ध चिच्याउन सिकाउँदैन । जस्तोसुकै विपद् सहनुपर्छ भन्छ, तर हिंसा सहन हुन्न भन्दैन । यो यथार्थ हो । बलात्कारका घटनामा महिलाको पीडादायक मौनता कुनै न कुनै रूपमा समाजको यस्तै बुझाइ र यही बुझाइका आधारमा निर्माण भएको संस्कृतिसँग जोडिएको छ ।


बुझाइमै दोष

हालैका बलात्कारका हिंस्रक र बर्बर घटनाका शृङखलाले हामीमध्ये कतिलाई भावुक र आक्रोशित पनि बनाएको छ । तर कतिपयमा भने पीडितलाई नै दोषी देख्ने प्रवृत्तिले जरो गाडेको देखिन्छ । राजनीतिक दल र अगुवामा एक खालको मौनता नै छ । बलात्कार विरोधी प्रतिबद्धताहरू फगत प्रतिबद्धतामा सीमित भएका छन् ।

कतिपय कानुन, मेडिकल, समाजशास्त्र, विज्ञान वा अन्य विषयका विद्यार्थी, जो शिक्षित र सचेत वर्ग हुन्, तिनको दृष्टिकोणसमेत महिलाले लगाएका छोटा लुगा र महिलाको अंगभन्दा पर जानसकेको देखिन्न । तिनलाई बदल्न कठिन छ । बलात्कार जस्तो निर्मम र बर्बर हिंसालाई समेत तिनले महिलाहरूको शीलस्वभावसँग दाँजेर बसिदिन्छन् । यस प्रवृत्तिले तिनको सामाजिक सिकाइमा समस्या छ । हामीले बनाएका चिन्तनका मानकहरू पुरुष केन्द्रित छन् । पुरुषलाई स्वतन्त्र आवरणमा मूल्यांकन गर्ने समाजले महिलालाई अझै उनको रूप वा वस्त्र वा शारीरिक बनोटसँग जोडेर विश्लेषण गर्छ । एउटी केटीले छोटो कपडा लगाइहिँडेर एउटा पुरुषले बलात्कार गर्न पाउने छुट हुन्छ ? यस्ता कमजोर र मानव सभ्यता विरोधी तर्कलाई निर्मूल पार्नुसमेत बलात्कार विरोधी अभियानहरूका लागि चुनौती नै हो ।

यो बुझाइलाई हामीले धक्का दिनैपर्छ । हाम्रो सामाजिक सिकाइको तौरतरिकामा फरकपन ल्याउनैपर्छ । अब हुर्कने हरेक बच्चाले महिला वा पुरुष, एउटा व्यक्तिको शरीर र अंगहरू भनेको निजी मामिला हो भन्ने सिक्न जरुरी छ । शारीरिक सम्पर्क र बलात्कार फरक हो भन्ने बुझ्न जरुरी छ ।

मिलापत्रको जालसाजी

प्रहरीको रेकर्डमा हरेक महिना एक सयभन्दा बढी बलात्कारका घटना दर्ता भएको देखिन्छ । अझै के विश्वास गरिन्छ भने बलात्कारका धेरै घटनाका पीडितहरू त मौन बस्न विवश छन् । यो अवस्था किन आयो त ? किन पीडितहरू मौन बस्छन् ? ती कित परिवारकै सदस्यहरूबाट प्रताडित छन् वा समाजमा बेइज्जत हुने डरले अव्यक्त पीडामा पिल्सिरहेका छन् । यस अतिरिक्त बलात्कारका घटनाहरूमा समेत हुने गरेको कथित ‘सम्झौता’ वा ‘सहमति’ हो । महिला बलात्कृत हुन्छे । वरिपरि पुरुषहरूको सभा बस्छ । र घटना बाहिर गए झनै महिलाकै इज्जत जाने तर्क गर्छ । अनि अलिकति लाभको प्रलोभन देखाएर सम्झौता गर्न बाध्य पारिन्छ ।

सबैभन्दा दु:खलाग्दो कुरा के हो भने यसरी अपराधीलाई उन्मुक्ति दिन र पीडितलाई मानसिक दबाब दिन प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिसमेत सामेल भएको पाइयो । अर्थात यो देशमा न्याय दिन अग्रणी भूमिका खेल्नेहरूमै न्यायप्रतिको सम्मान फितलो छ । ती निकाय र व्यक्तिसमेत बलात्कारजस्तो गम्भीर र बर्बर अपराधलाई जोगाउने मतियार बन्न तयार छन् । यसले बलात्कार कसरी हाम्रो सामाजिक र राजनीतिक संरचनासँग जोडिएको समस्या हो भन्ने देखाउँछ ।

बलात्कारका घटनाहरू सम्झौता वा सहमतिमा टुंग्याउन मिल्ने अपराध नै होइन । किनभने बलात्कारजस्तो अपराधमा मिल्न वा सम्झौता गर्न भन्नु भनेको महिलाको आत्मसम्मान र अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप हो ।


सुरक्षाको सुनिश्चितता

मुलुकी ऐनको महल १४ मा बलात्कारबारे चर्चा गरिएको छ । त्यसमा पीडितको उमेर र मञ्जुरीको आधारमा बलात्कारीलाई सजाय दिने कानुन छ । आउँदो भदौबाट केही सुधारसहित परिमार्जित कानुन मुलुकी अपराध (संहिता) २०७४ कार्यान्वयनमा आउँदैछ । कानुन र यसको पर्याप्तता वा अपर्याप्तता र सुधारका विषयमा यो लेखमा धेरै चर्चा सम्भव छैन । कानुनमा सुधार हँुदै जाने सम्भावना सधैं रहन्छ । तर भएका कानुनहरूको समेत प्रभावकारी कार्यान्वयन भने महत्त्वपूर्ण प्रश्न हो ।

ललितपुरमा मंसिरमा भएको बलात्कारको एक घटनामा बलात्कृत महिलाका पतिलाई प्रहरीले ‘तिम्री श्रीमती राम्री थिइन्, कसैले लग्यो होला । भोलि खोजौंला’ भन्ने जवाफ दिएको समाचार आयो । ‘राम्री श्रीमतीलाई अरू कसैले लैजान्छ’ भन्ने सोच सुरक्षा निकायका सदस्यहरूमा कहाँबाट आयो ? अर्थात ‘राम्री’ महिला अरूसँग सहजै गइहोला भन्ने निचोड निकाल्न प्रहरीलाई कुन कुराले उत्प्रेरित गर्‍यो ?

यसले हाम्रो कानुन कार्यान्वयन गर्ने निकायमा रहेको मानसिकता उजागर गरेको छ । यस्तो गैरजिम्मेवारपन अन्त्य गर्न सरकार र राज्यको धेरै दायित्व छ । पहिलो कुरा त न्यायालयदेखि प्रहरी प्रशासनसम्ममा बलात्कारजस्तो गम्भीर अपराधलाई हेर्ने स्पष्ट दृष्टिकोण आवश्यक देखिन्छ । हालका अभियानहरूले सरकारलाई त्यतातर्फ काम गर्न बाध्य पार्न आवश्यक छ ।

त्यस्तै बलात्कारका घटनामा पीडितहरूलाई न्याय र समाजमा पुन:स्थापनाका लागि सरकारले कार्ययोजना ल्याउनुपर्छ । अन्यथा लोभ र प्रलोभन देखाएर सम्झौता वा सहमतिमा बलात्कारका घटनाहरू ढाकछोप गर्ने चलन अन्त्य हँुदैन । यसैगरी बलात्कारसँग जोडिएको न्याय प्रक्रियालाई सहज र गरिबको पहुँचमा पुर्‍याउनसमेत आवश्यक छ ।


प्रभावकारी अभियान

अझै पनि समाजमा खासखुस गर्नुपर्ने अपराधका रूपमा रहेको बलात्कारको विरोधमा ठूलो स्वरमा आवाज उठाउन सक्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो । बलात्कारका हिंस्रक र बर्बर घटना सुन्दा हामी भावुक र आक्रोशित हुन्छौं । तर हामी भावना वा आक्रोशबाट प्रेरित पटक्क हुनुहँुदैन । दृढतापूर्वक निरन्तरको अभियानले मात्र बलात्कार संस्कृति अन्त्य गर्न सकिन्छ । घटनामा कारबाही एउटा कुरा भयो । यो महत्त्वपूर्ण छ । तर उत्तिकै आवश्यक छ, प्रवृत्ति विरुद्धको लडाइँ । घटना रूपमा देखिने अत्याचार प्रकट हुने स्वरूप हो । सार त समाजमा गहिरोसँग जरा गाडेको बलात्कारलाई साधारणीकरण गर्ने संस्कृति र महिलालाई नै दोष दिने प्रचलन हो । अबको हाम्रा अभियानहरूले घटनामा सशक्त कानुनका साथै प्रवृत्ति अन्त्यका लागि सामाजिक सिकाइ प्रक्रियामा धक्का दिनु पनि हो ।

बलात्कार जस्तो गम्भीर र मानवता विरोधी अभियानमा महिला र पुरुष सबै सँगै लाग्नुपर्छ । सरकारी र गैरसरकारी निकायहरूले एकसाथ काम गर्नुपर्छ । गाउँ र सहर एकसाथ जुट्नुपर्छ । हामी सबै एकसाथ जुट्दा बलात्कारमुक्त समाज निर्माणको अभियान प्रभावकारी र नतिजामुखी हुन्छन् ।

यो लेखकको निजी विचार हो ।

[email protected]

प्रकाशित : फाल्गुन १७, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?